काठमाडौं । पछिल्लो राजनीतिक परिस्थिति र कांग्रेसको रणनीति विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि शुरु हुँदैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको बैठकमा पार्टीका सभापति शेरबहादुर देउवा समेत सहभागी हुनुहुने भएको छ । लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा आराम गरिरहनुभएका सभापति देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो ।
आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
केन्द्रीय कार्यसमिति बैठक अघि ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ । केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
नेपाली कांग्रेसमा १५ औं महाधिवेशनका विषयमा साझा एजेण्डा तय हुन सकेको छैन । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले मंसिरमानै महाधिवेशन गर्नुपर्ने अडान राखेपछि साझा एजेण्डामा सहमति हुन नसकेको हो ।