एमाले अध्यक्ष ओलीले भने- पक्राउ पुर्जी रहस्यमयी, टोपबहादुर आईजीपीसँगको सम्पर्कमा छन्

वैशाख २१, २०८० |कान्तिपुर टीभी संवाददाता
एमाले अध्यक्ष ओलीले भने- पक्राउ पुर्जी रहस्यमयी, टोपबहादुर आईजीपीसँगको सम्पर्कमा छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको प्रकरणमा पार्टीका नेताविरुद्ध पक्राउ पुर्जी जारी हुनु रहस्यमयी भएको प्रतिक्रिया दिएका छन् ।

सिंहदरबारमा मंगलबार प्रधानमन्त्रीसँगको भेटपछि अध्यक्ष ओलीले यस प्रकरणबारे पार्टीका नेताको संलग्नताबारे अध्ययन भइरहेको जानकारी दिए । उनले भने, ‘यो प्रकरणमा तानिएको हो कि तनाइएको हो अध्ययन गर्दै छौं । अध्ययन गरेर निष्कर्षमा पुग्छौं ।’

पक्राउ पुर्जी जारी भ‌एपछि टोपबहादुर रायमाझीसँग टेलिफोन वार्ता भएको ओलीको भनाइ छ । रायमाझीबारे उनले भने, ‘एउटा पार्टीको सांसद, पटक-पटक मन्त्री भएको मान्छे षड्यन्त्र पूर्ण ढंगले बाटोमा हिँड्दा-हिँड्दै समाउने कुरा रहस्यपूर्ण छ । किनभने भागेर उम्केर जाने मान्छे त होइन ।’

पार्टीको कामले अर्घखाँचीमा रहेका रायमाझी आज (बिहीबार) काठमाडौं आउने र उनी आईजीपीसँगको सम्पर्कमा रहेको ओलीको भनाइ छ । उनले थपे, ‘मैले हिजो तपाईंलाई पक्राउ पुर्जी जारी भएको छ रे थाहा छ ? भनेको थिएँ । उहाँले मैले आईजीपीलाई फोन गरेको थिएँ । कुरा के भएको एकपटक स्पष्ट पार्नु पर्ला भन्नुभएको छ । त्यसकारण त्यस्तो होइन ।’

छानबिन गर्न एमालेले सहयोग गर्छ ? भन्ने प्रश्नमा ओलीको जवाफ थियो, ‘निर्दोष पर्नु हुँदैन, दोषी उम्कन हुँदैन । दोषी उम्काउन हाम्रो प्रयास छैन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौं ।’ प्रधानमन्त्रीलाई यसबारे आफूले ध्यानाकर्षण गराएको ओलीले पत्रकारहरुलाई प्रतिक्रिया दिए ।

दाहाल-ओली भेट, ओली भन्छन्- पटकपटक मन्त्री भएकालाई पक्राउ गर्न खोज्नु रहस्यमय


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.