सुदूरपश्चिमका १६ सिट : माओवादीको विचल्ली, बाजुरामा हल्लिखल्ली

मंसिर १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमका १६ सिट : माओवादीको विचल्ली, बाजुरामा हल्लिखल्ली

धनगढी। सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ १६ सिट छन् । यहाँको १५ क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । बाजुरामा भने आज (शनिबार) मात्र मतदान भएको छ । सुदूरपश्चिमका १६ सिट मध्ये नेपाली कांग्रेसले ७ स्थान जितेको छ । एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समान ३/३ क्षेत्र जितेका छन् । नेकपा एमाले २ सिटमा खुम्चिँदा माओवादी केन्द्रले भने सुदूरपश्चिमबाट प्रतिनिधिसभामा जितको खाता खोल्न सकेन ।

अछाम २, कञ्चनपुर २ र ३, कैलाली ४ र ५, डडेलधुरा र दार्चुलाबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अछाम २ मा पुष्पबहादुर शाह, कञ्चनपुर २ मा नारायणप्रकाश साउद र कञ्चनपुर ३ मा रमेश लेखक  विजयी भएका छन्  । कैलाली ४ मा वीरबहादुर बलायर र कैलाली ५ बाट डिल्लीराज पन्त  विजयी भएका छन् । कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा डडेलधुराबाट विजयी भएका छन् । यस्तै, दार्चुलाबाट नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् ।

यसैगरी सत्ता गठबन्धनको एक दल नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा बझाङ, डोटी र अछाम १ बाट जित हासिल गरेको छ । बझाङमा भानुभक्त जोशी, डोटीमा प्रेम आले र अछाम १ मा शेरबहादुर कुँवर विजयी बनेका छन् ।

कैलालीको प्रतिनिधिसभा क्षेत्र नम्बर १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको छ । क्षेत्र नम्बर एकमा नागरिक उन्मुक्तिकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ विजयी बनिन् । कैलाली २ मा अरुणकुमार चौधरी र क्षेत्र नम्बर ३ मा गंगाराम चौधरीले जीत हात पारे ।

नेकपा एमालेले बैतडी र कञ्चनपुर १ मा जित हासिल गरेको छ । एमालेका दामोदर भण्डारीले बैतडीबाट र कञ्चनपुर बाट एमालेका तारा लामा तामाङ विजयी भएका छन् । 

यसअघि २०७४ को चुनावमा कञ्चनपुर १ बाट जितेकी माओवादी नेतृ वीना मगर यसपटक पराजित बनिन् । गठबन्धनबाट कैलाली २ र ३ आफ्नो भागमा परेको माओवादीले दुबै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीसँग हार व्यहोर्यो‌ । आफ्नो भागमा परेको बैतडीबाट पनि माओवादीले जित्न सकेन ।  

शनिबार मात्र बाजुरामा मतदान भएको हुँदा यहाँको नतिजा आउन बाँकी छ ।

सुदूरपश्चिम प्रदेशको प्रतिनिधिसभातर्फ १६ मध्ये १५ सिटको नतिजा

१. अछाम २ - पुष्पबहादुर शाह - नेपाली कांग्रेस

२. कञ्चनपुर २ - नारायणप्रकाश साउद - नेपाली कांग्रेस

३. कञ्चनपुर ३ - रमेश लेखक - नेपाली कांग्रेस

४. कैलाली ४ - वीरबहादुर बलायर - नेपाली कांग्रेस

५. कैलाली ५ - डिल्लीराज पन्त - नेपाली कांग्रेस

६. डडेलधुरा - शेरबहादुर देउवा - नेपाली कांग्रेस

७. दार्चुला - दिलेन्द्रप्रसाद बडू - नेपाली कांग्रेस

८. बझाङ - भानुभक्त जोशी - एकीकृत समाजवादी

९. अछाम १ - शेरबहादुर कुँवर - एकीकृत समाजवादी

१०. डोटी - प्रेमबहादुर आले - एकीकृत समाजवादी

११. कैलाली १ - रञ्जिता श्रेष्ठ - नागरिक उन्मुक्ति पार्टी

१२. कैलाली २ - अरुणकुमार चौधरी - नागरिक उन्मुक्ति पार्टी

१३. कैलाली ३ - गंगाराम चौधरी - नागरिक उन्मुक्ति पार्टी

१४. बैतडी - दामोदर भण्डारी - नेकपा एमाले

१५. कञ्चनपुर १ - तारा लामा तामाङ - नेकपा एमाले

१६. बाजुरा - बाँकी (शनिबार मात्र मतदान सम्पन्न भएको)

सम्बन्धित समाचार...

मधेसका ३२ सिट : लोसपा, जसपा र माओवादीको बेहाल, कांग्रेस-एमाले मालामाल

कर्णालीका १२ सिटको नतिजा : ०७४ मा कांग्रेस शून्य, अहिले एमालेको पालो

पूर्वी नेपालका २८ सिट : एमाले-कांग्रेस नाफामा, माओवादीलाई घाटा

गण्डकीका १८ सिट : एमालेले ८ गुमायो, कांग्रेसले ८ थप्यो

वाग्मतीका ३३ सिट : एमाले-माओवादी बराबर, कांग्रेस पहिलो, स्वतन्त्र दोस्रो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.