मधेसका ३२ सिट : लोसपा, जसपा र माओवादीको बेहाल, कांग्रेस-एमाले मालामाल

मंसिर १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
मधेसका ३२ सिट : लोसपा, जसपा र माओवादीको बेहाल, कांग्रेस-एमाले मालामाल

जनकपुर । प्रतिनिधिसभामा मधेस प्रदेशका ८ जिल्लाबाट ३२ सांसदको प्रतिनिधित्व छ । ३२ मध्ये २९ सिटको नतिजा आइसकेको छ भने तीनवटा क्षेत्रको मात्रै परिणाम आउन बाँकी छ। यसपालिको चुनावले मधेसमा २०७४ सालको शक्ति सन्तुलन भत्काएको छ ।

मधेसमा यसपटक कांग्रेस र एमाले दुबै दलले सिट बढाएका छन् । तर, मधेसकेन्द्रित दल र माओवादीले भने धेरै सिट गुमाएका छन् ।

अहिलेसम्म गणना भइसकेका २९ सिटमध्ये नेपाली कांग्रेसले ८ सिट जितेको छ । २०७४ को चुनावमा कांग्रेसले मधेसबाट प्रतिनिधिसभामा ६ सिट जितेको थियो ।

नेकपा एमालेले ३२ मध्ये ७ सिट जितेको छ । अघिल्लो चुनावमा उसले २ सिट मात्रै जितेको थियो ।

मधेसकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले धेरै सिट गुमाएका छन् ।

अघिल्लो चुनावमा राष्ट्रिय जनता पार्टी (अहिलेको लोसपा) ले १० सिट जितेको थियो भने संघीय समाजवादी फोरम (अहिलेको जसपा) ले ९ सिट जितेको थियो । दुबै दलको एकता भएपछि संसदमा उनीहरुको प्रतिनिधित्व १९ सिट पुगेको थियो । तर, यसपटक लोसपा र जसपा दुबैको सिट जोड्दा ८ मात्र पुग्छ । यद्यपि एक सिटमा भने जसपाले अग्रता लिइरहेको छ । त्यो सिट पनि जित्दा मधेसकेन्द्रित दलको ९ सिट पुग्छ, जुन संख्या अघिल्लो चुनाव भन्दा १० कम हो ।

अघिल्लो चुनावमा नेकपा एमालेले २ सिट जितेजस्तै यो चुनावमा एकीकृत समाजवादीले मधेसबाट २ सिट जितेको छ । सो पार्टीका तर्फबाट माधव कुमार नेपाल र कृष्ण कुमार श्रेष्ठले जितेका छन् ।

यो समाचार तयार पार्दासम्म नेकपा माओवादी केन्द्रले मधेसबाट एउटै सिट जितेको छैन, तथापि दुईवटा सिटमा अग्रता लिइरहेको छ । महोत्तरीबाट गिरिराजमणि पोखरेल र सर्लाहीबाट महीन्द्र राय यादवले अग्रता लिइरहेका छन् । अग्रता दुबै सिट जित्दा पनि माओवादीले खुशी हुने ठाउँ छैन । किनभने, २०७४ को चुनावमा उसले मधेसबाट ५ सिट जितेको थियो ।

यसपटक मधेसबाट तीन सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् । रौतहटबाट प्रभु साह र किरणकुमार साहका साथै सर्लाहीबाट अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारका रुपमा जितेका छन् ।

 मधेसबाट जनमत पार्टीले पनि खाता खोलेको छ । सो पार्टीका अध्यक्ष सिके राउतले सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जित हात पारेका छन् । 

पुराना राजनीतिक दलविरुद्ध सिके राउत आफूले जिते उनले संसदका अरु सिटमा भने हस्तक्षेपकारी भूमिका खेल्न सकेनन् र एक सिटमा सीमित भए ।

मधेसका ३२ सिटमध्ये २९ सिटको नतिजा –

१. सप्तरी १– नवलकिशोर साह सुडी– जसपा

२. सप्तरी २– सिके राउत–जनमत

३. सप्तरी ३– दिनेशकुमार यादव – कांग्रेस

४. सप्तरी ४– तेजुलाल चौधरी – कांग्रेस

५. सिराहा १– रामशंकर यादव– एमाले

६. सिराहा २– राजकिशोर यादव– जसपा

७. सिराहा ३– लीलानाथ श्रेष्ठ– एमाले

८. सिराहा ४– वीरेन्द्रप्रसाद महतो – जसपा

९. धनुषा १– जसपाको अग्रता

१०. धनुषा २– रामकृष्ण यादव– कांग्रेस

११. धनुषा ३– जुली कुमारी महतो– एमाले

१२. धनुषा ४– महेन्द्र यादव– कांग्रेस

१३. महोत्तरी १– माओवादीको अग्रता

१४. महोत्तरी २– शरतसिंह भण्डारी–लोसपा

१५. महोत्तरी ३– महन्थ ठाकुर– लोसपा

१६. महोत्तरी ४– महेन्द्र कुमार राय– कांग्रेस

१७. सर्लाही १– रामप्रसाद चौधरी– लोसपा

१८. सर्लाही २– माओवादी अग्रता

१९. सर्लाही ३– हरिप्रसाद उप्रेती– एमाले

२०. सर्लाही ४– अमरेशकुमार सिंह – स्वतन्त्र

२१. बारा १– अच्युत प्रसाद मैनाली– एमाले

२२. बारा २– रामसहायप्रसाद यादव– जसपा

२३. बारा ३– ज्वालाकुमारी साह– एमाले

२४. बारा ४– कृष्ण कुमार श्रेष्ठ– एकीकृत समाजवादी

२५. पर्सा १– प्रदीप यादव – जसपा

२६. पर्सा २– अजयकुमार चौरसिया– कांग्रेस

२७. पर्सा ३– राजकुमार गुप्ता– एमाले

२८. पर्सा ४– रमेश रिजाल– कांग्रेस

२९. रौतहट १– माधवकुमार नेपाल– एकीकृत समाजवादी

३०. रौतहट २– किरणकुमार साह– स्वतन्त्र

३१. रौतहट ३– प्रभु साह– स्वतन्त्र

३२. रौतहट ४– देवप्रसाद तिमलसेना– कांग्रेस

यो पनि... 

सम्बन्धित समाचार...

कर्णालीका १२ सिटको नतिजा : ०७४ मा कांग्रेस शून्य, अहिले एमालेको पालो

पूर्वी नेपालका २८ सिट : एमाले-कांग्रेस नाफामा, माओवादीलाई घाटा

सुदूरपश्चिमका १६ सिट : माओवादीको विचल्ली, बाजुरामा हल्लिखल्ली

गण्डकीका १८ सिट : एमालेले ८ गुमायो, कांग्रेसले ८ थप्यो

वाग्मतीका ३३ सिट : एमाले-माओवादी बराबर, कांग्रेस पहिलो, स्वतन्त्र दोस्रो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement