
काठमाडौं । आज हामी तपाईंलाई सन् २०२६ मा जापानको आइची-नागोयामा आयोजना हुने २०औं एसियाली खेलकुदको एउटा विशेष पाटोतर्फ लैजाँदैछौं ।
कुनै पनि बहु-खेलकुद प्रतियोगितामा पदक र खेलाडीको आवास सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिन्छ । तर, आइची-नागोयाले यी दुवै क्षेत्रमा परम्परागतभन्दा फरक, दिगो र रचनात्मक शैली अपनाएको छ ।
कुनै पनि खेलाडीका लागि एसियाली खेलकुदको पदक केवल धातुको टुक्रा मात्र होइन, यो उसको जीवनभरको सपना र गौरवको प्रतीक हो । आइची-नागोया २०२६ को पदकको बनोट यस वर्षको नारा “ईमाजिन वान एसिया” बाट प्रभावित छ ।
इतिहासको कुनै कालखन्डमा एउटै रहेको एसिया कालान्तरमा विभिन्न भाषा र संस्कृतिमा विभाजित भयो । तर, खेलकुद यस्तो माध्यम हो, जसले यी विविधताका बिच सम्पूर्ण महादेशलाई पुनः एक ठाउँमा ल्याउने शक्ति राख्छ । पदकको बाहिरी सतह र यसको विशिष्ट रूपले यही एकतालाई प्रस्तुत गर्छ ।
यस पदकको सिर्जना प्रक्रियाको कुरा गर्दा पदकको अन्तिम रूप तयार पार्नुअघि सेरामिकका चक्का पटक-पटक फुटाइयो र ती टुक्राको सुक्ष्म अध्ययन गरियो । यसरी टुक्रिएका प्राकृतिक बुट्टाबाट पदकको आकार तयार पारिएको हो । यो केवल डिजाइनको प्रयोग मात्र नभइ यसले खेलाडीले पोडियममा उभिनुअघि भोग्नुपर्ने अनगिन्ती चोट, असफलता, कठिन परिस्थिति र त्यागलाई संकेत गर्छ ।
खेलाडीका तिनै टुक्रिएका प्रयास र संघर्षहरू एकत्रित भएर अन्ततः एउटा पदकको रूपमा सफलताको मूर्त रूप बन्दछन् । यो पदकको परिकल्पना जापानी डिजाइनर र क्रिएटीभ डाइरेक्टर डाइसुके शिबाले गरेका हुन्, जो मेरीबिटल र टोगु जनरल इन्कोरपोरेटेड एसाेसिएसनका प्रतिनिधि निर्देशक हुन् ।
कोबे विश्वविद्यालयबाट वास्तुकला र सिभिल इन्जिनियरिङमा स्नातक गरेका शिबाको वास्तुकलाको पृष्ठभूमि पदकको बनोटमा स्पष्ट देखिन्छ । पदकको प्राविधिक विशिष्टताको कुरा गर्दा, सबै विधाका पदकको डाएमिटर ८० मिलिमिटर र मोटाइ ५ मिलिमिटर रहेको छ ।
स्वर्ण पदकको तौल लगभग २ सय ६५ ग्राम छ, जसमा शुद्ध चाँदीको बेसमा कम्तीमा १ ग्राम सुनको जलप लगाइएको छ । त्यस्तै रजत पदकको तौल लगभग २ सय ६४ ग्राम छ र यो शुद्ध चाँदीबाट बनेको छ भने कास्य पदकको तौल लगभग २ सय २२ ग्राम छ, जुन ९५ प्रतिशत तामा र ५ प्रतिशत जस्ता मिसाइएको रेड ब्रास मिश्रित धातुबाट तयार पारिएको हो ।
आइची-नागोयाले वातावरण र दिगोपनलाई प्रतियोगिताको केन्द्रमा राखेको छ । यसैको उत्कृष्ट उदाहरण हो– रिसाइकल मेडल प्रोजेक्ट । यस अभियानअन्तर्गत 'अर्बन माइनिङ' अर्थात् सहरी खानीको अवधारणा प्रयोग गरियो । आइची प्रान्तका विभिन्न स्थानीय सरकारहरूको सहयोगमा नागरिकहरूबाट पुराना तथा प्रयोगविहीन मोबाइल फोन र साना घरायसी इलेक्ट्रोनिक उपकरण संकलन गरिएका थिए ।
तिनै उपकरणबाट निकालिएका धातु प्रशोधन गरेर पदक निर्माणमा प्रयोग गरिएको छ । पदकको रिबन र बाकसमा पनि जापानी कला संस्कृतिको छाप देख्न सकिन्छ । पदक झुन्ड्याउने रिबनमा आइची प्रान्तको आधिकारिक फूल 'काकित्सुबाता' को बुट्टा र यसको पातका रेखाहरू कुँदिएका छन् ।
त्यस्तै, पदक राख्ने बाकस ८ कुने डिजाइनमा बनाइएको छ । यो आकार जापानी अक्षर ८ बाट प्रेरित छ, जुन ऐतिहासिक रूपमा यस क्षेत्रमा शासन गर्ने ओवारी तोकुगावा र नागोया सहरको प्रतीक चिन्हमा प्रयोग गरिन्छ । तलतिर फैलिँदै जाने यो अक्षरको बनोटले भविष्यतर्फको समृद्धिलाई संकेत गर्छ ।
यस बाकसलाई स्थानीय स्तरमै उत्पादित जापानी साइप्रस काठबाट निर्माण गरिएको छ । यो पदक त खेलाडीको अन्तिम गन्तव्य हो, तर त्यो क्षणसम्म पुग्न उनीहरूलाई बस्ने, आराम गर्ने र तयारी गर्ने उचित वातावरण चाहिन्छ । आइची-नागोयाले यसपटक परम्परागत खेलकुद भिलेज निर्माणको शैलीलाई पूर्णरूपमा परिवर्तन गरिदिएको छ ।
महँगो निर्माण लागतबाट बच्न आयोजकले नयाँ स्थायी खेलकुद भिलेज बनाउनुको साटो अपरम्परागत आवास रणनीति रोजेको छ, जसले करिब ६० अर्ब येन खर्च कटौती गरेको छ । यस नयाँ रणनीतिको नेतृत्व नागोया पोर्टमा रहेमो क्रुज जहाज 'कोस्टा सेरेना' ले गर्दैछ ।
प्रतियोगिता अवधिभर यो जहाजले करिब ४ हजार ६ सय खेलाडी र खेल अधिकारीहरूका लागि तैरिरहेको खेलकुद भिलेजको रूपमा सेवा दिनेछ । सन् २०२५ मा पूर्णरूपमा मर्मत गरिएको जहाजमा ५ सय ७१ वटा क्याबिन, ७ वटा स्विमिङ पुल र रेस्टुरेन्ट रहेका छन् ।
यहाँ खेलाडीलाई राष्ट्रियताका आधारमा नभइ उनीहरूको खेल विधाका आधारमा कोठा बाँडफाँट गरिनेछ । विशेषगरी प्यारालम्पिक खेलाडीलाई ध्यानमा राख्दै जहाजका भिल्लाहरूमा युनिभर्सल डिजाइन लागू गरिएको छ । ह्विलचेयर सजिलै छिर्ने फराकिला ढोका, बाधा-रहित प्रवेशद्वार र बेड एवं ह्विलचेयर सिटको उचाइ बराबर राखिएको छ ताकि पारा-खेलाडी कसैको सहयोग बिना सजिलै ओछ्यानमा आवतजावत गर्न सकुन् ।
अझ महत्त्वपूर्ण कुरा, यी अस्थायी भिल्ला प्रतियोगिता सकिएपछि भत्काइने छैनन् । यिनलाई सजिलै स्थानान्तरण गरी आइची प्रान्तभर पर्यटकीय रिसोर्ट वा भविष्यमा आउन सक्ने प्राकृतिक विपद्का बेला उद्धार आश्रयस्थलका रूपमा पुन: प्रयोग गरिनेछ ।