काठमाडौं । सर्वोच्च अदालतबाट आधिकारिकता विवादसम्बन्धी फैसलामा पूनरावलोकनको निस्सा पाएपछि उत्साहित नेपाली कांग्रेसको असन्तुष्ट समूहलाई पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फिर्तिको कुराले थप उत्साहित बनाएको छ।
बिहीबार मध्यान्ह १२:२५ मा काठमाडौं उत्रिने देउवालाई स्वागत गर्नका लागि यो समूहले तयारी गरिरहेको छ। देउवा हङ्कङ्बाट बैंकक हुँदै नेपाल आउने बताइएको छ। एकातिर सर्वोच्चको निस्साले पार्टी विभाजनलाई तत्काल टारेको छ तर देउवासमेत सहभागी हुने भनिएको राष्ट्रिय भेलाको जोडतोडको तयारीले एकताको सम्भावनालाई पनि टारेकै देखिन्छ।
संस्थापन चुप छ, संवाद बढाउन सकेको छैन र नेताहरुलाई मनाउन सकेको छैन। मनाउने इच्छासमेत नदेखाएको संस्थापनमाथि आरोप छ। देउवाको आगमनले पार्टीको एकता वा विभाजनमा कुनै ठोस नतिजा ल्याउन सक्ला ?
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी फैसला पूनरावलोकन हुने निस्सा दिएपछि संस्थापनइतर पक्ष उत्साहित छ । राष्ट्रिय भेला भन्दै कार्यक्रम गर्न लागेको यो पक्षका नेता शशांक कोइरालाले सभापति गगन थापालाई पत्र पठाउँदै आगामी महाधिवेशनलगायतका गतिविधि रोक्न आग्रह गर्नुभयो।
कोइरालाले थापालाई निवर्तमान महामन्त्री सम्बोधन गरेर सभापतिका रुपमा नस्वीकारेको स्पष्ट सन्देश नै दिनुभयो। सर्वोच्चले निस्सा दिनुअघिसम्म नयाँ दल नै खडा गर्ने तयारीमा रहेको संस्थापन इतरलाई उत्साहित बनाएको अर्को कारण हो – पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्ति।
देउवाको आगमनसँगै आफ्नो समूह बलियो हुने इतर पक्षको अपेक्षा छ। यसकारण पनि संवादको टेबुलमा इतर पक्ष छैन। न त संस्थापनले नै तदारुकता देखाइरहेको छ। यसले एकताको सम्भावनालाई भने मत्थर बनाउँदै गएको छ।
यसको अर्थ हो, अदालतको निस्साले विभाजन टरेको होइन, तत्काललाई सरेको मात्रै हो। शंशाकको नेतृत्वमा भदौ २९ गते हुने राष्ट्रिय भेलाको तयारी तीव्र छ । राष्ट्रिय भेलाबाट विभिन्न ६ वटा प्रतिवेदन नै पारित गर्ने तयारी छ ।
यो भेलामा देउवासमेत सहभागी हुने दाबी गरिएको छ। उता संस्थापन पक्षले भदौ २ गतेदेखि वडा अधिवेशन र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । वडा अधिवेशन केही पर धकेलिएको त छ, तर केन्द्रीय महाधिवेशन भने तोकिएकै मितिमा गर्ने संस्थापनको दाबी छ ।
असन्तुष्ट नेताहरूलाई समेट्नकै लागि सदस्यता नवीकरणको समय पटक–पटक सारिएको भन्दै अब थप पर्खन नसकिने संस्थापनको जिकिर छ । सभापति गगन थापाले नेता शेखर कोइरालासँग मंगलबार भेटवार्ता गर्नुभएको थियो । भेटवार्ता सकारात्मक भनिए पनि पार्टीभित्र एकताको वातावरण बन्न नसकेको दुवै पक्षका नेताहरूको भनाइ छ ।
एकताकै लागि आवाज बढाउँदै केही युवा नेताहरुको समूहले दबाब बढाएका छन् तर यसको प्रभाव कुनै पक्षमा देखिएको छैन । संवादको साटो दुवै पक्ष आ–आफ्नै तयारीमा अघि बढ्दा कांग्रेसमा विभाजन रोकिए पनि एकताको बाटो भने झन्झन् दुर्गम बन्दै गएको छ।