कर्णालीका १२ सिटको नतिजा : ०७४ मा कांग्रेस शून्य, अहिले एमालेको पालो

मंसिर १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
कर्णालीका १२ सिटको नतिजा : ०७४ मा कांग्रेस शून्य, अहिले एमालेको पालो

काठमाडौं । कर्णाली प्रदेशमा प्रतिनिधिसभातर्फ १२ सिट छन् । कर्णालीका सबै क्षेत्रको परिणाम सार्वजनिक भएको छ । यीमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रले ४-४ स्थानमा जित हासिल गर्दा नेकपा एमाले शून्यमा खुम्चिएको छ । एकीकृत समाजवादीले ३ वटा क्षेत्रमा जित हासिल गर्दा राप्रपाले जुम्लामा एक सिट जित हासिल गरेको छ ।

कर्णालीका १२ सिटमध्ये नेपाली कांग्रेसले ४ सिट जितेको छ । कर्णालीका १२ सिटमध्ये ४ सिटमा माओवादी केन्द्रले जित हासिल गरेको छ । कर्णाली प्रदेशमा एमालेको शून्य  रहँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भने ३ स्थानमा जितेको छ ।

२०७४ को चुनावमा कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा एमालेले ६ र माओवादीले ५ सिट जितेका थिए । हुम्लाबाट स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी बनेका थिए । पछि उनले माओवादीलाई सघाउँदा एमाले–माओवादी बराबर अर्थात ६–६ सिटका बिजेता बनेका थिए । यसपालि नेपाली कांग्रेस र माओवादी मिलेर कर्णालीबाट एमालेलाई शून्यमा झारेका छन् । 

प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको क्षेत्र नम्बर १ र २ बाट  कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसअघि (२०७४ को निर्वाचनमा) क्षेत्र नम्बर १ र २ कांग्रेसले गुमाएर एमालेको पोल्टामा थियो । अहिले दुवै क्षेत्रमा एमाले पराजित हुँदा कांग्रेसले आफ्नो साख फर्काएको छ । 

सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेसका उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्काले ४२ हजार ६ सय ७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९ सय ८८ मत ल्याए ।  क्षेत्र नम्बर २ मा  कांग्रेसका हृदयराम थानी ३४ हजार ६ सय २५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५ सय ५८ मत ल्याए । 

दैलेख क्षेत्र नम्बर २ मा कांग्रेसका दिक्पालकुमार शाही २० हजार १ सय ५८ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीप्रसाद पोखरेल २० हजार ५ मत पाए । मुगुमा कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही ठकुरीले १४ हजार ७ सय २ मतले विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत ल्याए । 

माओवादीका तर्फबाट हुम्लामा छिरिङ डम्डुल लामा (भोटे) १४ हजार ३ सय ७१ मतसहित विजयी भएका छन् । उनका निकट्तम प्रतिस्पर्धी एमालेका दल रावलले ९ हजार ५ सय १६ मत ल्याएका छन्। 

रुकुम पश्चिमबाट माओवादीका जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका छन् । 

कालीकोटबाट माओवादीका महेन्द्रबहादुर शाही २३ हजार ७ सय २७ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नागिन्द्र शाहीले १६ हजार ७ सय १८ मत पाएका छन्। 

 जाजरकोटबाट माओवादीका शक्ति बस्नेत विजयी भएका छन् । उनले ३४ हजार १ सय ५१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नीरजप्रसाद आचार्यले २५ हजार १ सय २० मत ल्याए।

 एकीकृत समाजवादीले दैलेख निर्वाचन क्षेत्र १ मा विजयी निकालेको छ । पूर्वएमाले सांसद रहेका अम्बरबहादुर थापा कलम चुनाव चिह्नबाट १८ हजार २ सय ९७ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यामा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका रवीन्द्रराज शर्माले १७ हजार ४ सय ४५ मत ल्याएका छन् ।

पूर्वी नेपालका २८ सिट : एमाले-कांग्रेस नाफामा, माओवादीलाई घाटा

एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वालाले ३५ हजार ७ सय मतसहित प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७ सय ८९ मत प्राप्त गर्दा नेकपा एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मत प्राप्त गरे ।

समाजवादीले डोल्पाबाट पनि जित हासिल गरेको छ । डोल्पाबाट समाजवादीका धनबहादुर बुढाले ११ हजार २२५ मतसहित जित हासिल गर्दा नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४ सय ९८ मत प्राप्त गरे ।

जुम्लाबाट भने राप्रपाका ज्ञानबहादुर शाहीले जित हासिल गरेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट शाहीले २२ हजार ८ सय १९ मत पाउँदा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) ले ११ हजार ९ सय ५९ मतमै चित्त बुझाइन् । नेकपा एमालेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत पाए ।

कर्णाली १२ सिटको नतिजा

१. सुर्खेत १ - पूर्णबहादुर खड्का - नेपाली कांग्रेस

२. सुर्खेत २ - हृदयराम थानी - नेपाली कांग्रेस

३. दैलेख १ - अम्बरबहादुर थापा- एकीकृत समाजवादी

४. दैलेख २ - दिक्पालकुमार शाही - नेपाली कांग्रेस

५. मुगु - ऐनबहादुर शाही ठकुरी - नेपाली कांग्रेस

६. हुम्ला - छिरिङ डम्डुल लामा (भोटे) - माओवादी केन्द्र

७. रुकुम पश्चिम - जनार्दन शर्मा - माओवादी केन्द्र

८. जाजरकोट - शक्ति बस्नेत - माओवादी केन्द्र

९. कालीकोट - महेन्द्रबहादुर शाही - माओवादी केन्द्र

१०. सल्यान - प्रकाश ज्वाला - एकीकृत समाजवादी

११. डोल्पा - धनबहादुर बुढा - एकीकृत समाजवादी

१२. जुम्ला - ज्ञानेन्द्रबहादुर शाही- राप्रपा

सम्बन्धित समाचार...

मधेसका ३२ सिट : लोसपा, जसपा र माओवादीको बेहाल, कांग्रेस-एमाले मालामाल

पूर्वी नेपालका २८ सिट : एमाले-कांग्रेस नाफामा, माओवादीलाई घाटा

सुदूरपश्चिमका १६ सिट : माओवादीको विचल्ली, बाजुरामा हल्लिखल्ली

गण्डकीका १८ सिट : एमालेले ८ गुमायो, कांग्रेसले ८ थप्यो

वाग्मतीका ३३ सिट : एमाले-माओवादी बराबर, कांग्रेस पहिलो, स्वतन्त्र दोस्रो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.