
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाको वडा नं. २ रिसाङका पहिरो पीडितहरुले आफूहरुको समस्याको दिगो समाधान गरिनुपर्ने माग गरिरहेका छन्।
३२ महिनाअघि गएको भूकम्पका कारण प्रभावित बनेको यस गाउँमा यसपल्ट साउन ३० गते फेरि अर्को विपत्ति आयो । प्रभावित नागरिकलाई यहाँको विद्यालय छेउको मकैबारीमा अस्थायी रुपमा राखिएको छ । तर, उनीहरुको दैनिकी निकै कष्टकर छ ।
जाजरकोटको भेरी नगरपालिका वडा नं. २ रिसाङ त्यहीँ ठाउँ हो जहाँ गत साउन ३० गते शनिबार पहिरो झर्दा चार जनाको ज्यान गएको थियो भने १० जना घाइते भएका थिए । पहिरोमा परी १ सय ६८ घरधुरीका ८ सय ९३ जना प्रभावित भएको नगरपालिकाको तथ्यांक छ ।
प्रभावित नागरिकलाई यहाँको विद्यालय छेउको मकैबारीमा अस्थायी रुपमा राखिएको छ । २०८० कात्तिक १७ गते गएको भूकम्पका कारण क्षति बेहोरेको यो गाउँले यसपल्ट पहिरोबाट फेरि अर्को विपत्ति बेहोरेको छ । बर्खे झरी परिरहेका कारण पहिरोको जोखिम अहिलेपनि उस्तै छ ।
यसबाट महिला, बालबालिका र जेष्ठ नागरिकहरु सबैभन्दा धेरै प्रभावित छन् । यहाँ ठुला दुईवटा जति पहिरो भएको भए पनि यहाँको अधिकांश जमिनमा स-साना पहिरो थुप्रै ठाउँमा गएको देख्न सकिन्छ । यसकारण पूरा गाउँ नै यतिबेला उच्च जोखिममा छ ।
रातिपख अस्थायी क्याम्पमा बसेपनि दिउँसो पख भने सर्वसाधारण बाँकी रहेको आफ्नो खेतीबारी र घरको रेखदेखका लागि आउँछन् । यो बेला उनीहरुको पीडा झन् धेरै बल्झिन्छ । पहिरोको अवस्था हेर्दा अब यहाँ बस्न सकिन्न भन्ने धेरैलाई लाग्न थालेको छ ।
भूकम्पका कारण यहाँका घरहरुमा ठुलै क्षति पुगेको थियो भने जमिन पनि कमजोर बनेको थियो । तर, भूकम्पले जमिनमा पारेको असर र भविष्यमा हुनसक्ने क्षतिबारे भने हालसम्म आधिकारिक प्राविधिक अध्ययन भने गरेको पाइन्न । यसकारण पनि पहिरोसँग जोडिएको पूर्वतयारी कमजोर हुँदा रिसाङ गाउँ र यहाँका नागरिकले अकल्पनीय क्षति बेहोर्नुपर्यो ।
प्राकृतिक विपत्ति जतिबेला, जहाँपनि आउन सक्छ । तर, यसको सम्भावनाको आकलन गर्ने र जोखिम देखिएको ठाउँको पहिचान गरी पूर्वतयारी गर्ने विषयमा राज्य-सरकार आगामी दिनमा चनाखो हुन जरुरी छ । रिसाङ पहिरोलगत्तै उद्धार, राहत तथा प्रभावित घर-परिवारको अस्थायी व्यवस्थापनमा सरकारी प्रयास सन्तोषजनक छ ।
अब यही गतिमा समस्याको दिगो व्यवस्थापन गर्नेतर्फ पनि सरकारी सक्रियता आवश्यक छ ।