
काठमाडौं । बारामा चार वर्षीया बालिकामाथि भएको बलात्कार र हत्याको छैटौं दिन सरकारले पीडित परिवारसँग सम्झौता त गर्यो तर मृतक बालिका र पीडित परिवारको गोपनीयता कायम राख्नुपर्ने कानुनी व्यवस्थाको मन्त्रीहरुले नै उल्लघंन गरे ।
सम्झौतापत्रमा बालिकाको नाम त सार्वजनिक गरियो नै, पीडित परिवारसँगको वार्ताका क्षणसमेत गृहमन्त्रीको सचिवालयले नै सार्वजनिक गर्यो। सरकारले भदौ ६ गते गृहमन्त्रालयमा पीडित बालिकाका बाबुआमासँग ३ बुँदे सहमति गर्यो। सहमतिमा गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, महिला तथा बालबालिका मन्त्री सिता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गरेका छन् । तर, उक्त सम्झौतापत्रमै पीडित बालिका र परिवारको नाम उल्लेख गरिएको छ ।
कानुन बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका पाँच-पाँच जना मन्त्रीले हस्ताक्षर गरेको दस्ताबेजमै कानुनी प्रावधानको उल्लंघन गरिएको छ ।
कसरी उल्लंघन गरियो कानुन ?
नेपालको 'अपराध पीडित संरक्षण ऐन-२०७५' को दफा ६ ले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान चलिरहँदा पीडितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । जबरजस्ती करणी, हाडनाता करणी, मानव बेचबिखन र यौन दुर्व्यवहार जस्ता घटनाको अनुसन्धान, तहकिकात, अभियोजन र अदालती कारबाहीको सिलसिलामा पीडितको गोपनीयता ख्याल गर्नुपर्ने कानुनी बाध्यता छ ।
सोही दफाको उपदफा २ मा भनिएको छ, 'यस्ता कसुरमा कसैले पनि पीडितको पहिचान कुनै पनि रुपबाट प्रकट गर्न हुँदैन ।' तर, कानुनको यो मर्मलाई कुल्चिँदै मन्त्री र उच्च अधिकारीहरूले नै सामाजिक सञ्जालमा पीडितको नाम र पीडित परिवारको तस्बिर छ्यापछ्याप्ती बनाए ।
गृहमन्त्री सुधन गुरुङको सामाजिक सञ्जालमा पोस्टमा घटनाको फेहरिस्त मात्रै दिइएको छैन, पीडित बालिकाको नाम र उमेर पटक-पटक उल्लेख गरिएको छ । यस्तै शैली कानुनमन्त्री, महिला तथा बालबालिका मन्त्री र कृषि वन तथा वातावरण मन्त्रीले समेत देखाए ।
उनीहरूले समेत बिना कुनै संकोच सामाजिक सञ्जालमा पीडित परिवारकै तस्बिर पोस्ट गरे । मन्त्रीहरू पीडितको गोपनीयताबारे कत्ति पनि संवेदनशिल नभइरहेका बेला सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सामाजिक सञ्जालमा विद्यमान कानुनी व्यवस्थाबारे सम्झाइरहनुभएको थियो ।
उहाँले भन्नुभएको थियो- यो बलात्कार, यौन हिंसाजस्ता गम्भीर अपराधका घटनामा पीडितको पहिचान खुल्ने तस्बिर वा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्नु अत्यन्त संवेदनशील र गम्भीर गैरकानुनी कसूरको विषय हो । यौन हिंसाका पीडित बालबालिकाको पहिचान सार्वजनिक गर्नु अझै गम्भीर कसूर हो ।
त्यसैले सबै सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई गम्भीरतापूर्वक आग्रह गर्दछु पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन, प्रसारण वा पुनःप्रसारण नगरौँ । प्रकाशित भइसकेका त्यस्ता सामग्रीसमेत तत्काल हटाउने काम गरौँ ।’
अधिवक्ता विराज थापा राज्यको जिम्मेवार निकायबाटै भएको यो लापर्बाहीले समाजमा गलत भाष्य स्थापित गर्ने खतरा औँल्याउनुहुन्छ । गृहमन्त्री वा जिम्मेवार व्यक्तिहरूले पीडितको तस्बिर, भिडियो सार्वजनिक गर्ने वा सम्झौतामा वास्तविक नाम खुलाउने जस्ता कार्य गर्नु पूर्णतः गलत भएको र यसले गलत भाष्य बनाउन सक्ने उहाँको भनाइ छ ।
अर्का अधिवक्ता प्रविण भट्ट पनि गोपनीयता कायम गर्नुको अर्थ पीडितको नाम मात्र लुकाउनु नभएको बताउनुहुन्छ । परिवारको फोटो देखाउँदा, गाउँको नाम उल्लेख गर्दा वा बुवा-आमाको नाम खुलाउँदा पनि पीडितको पहिचान अप्रत्यक्ष रूपमा सजिलै प्रकट हुने भएकाले अनुसन्धान गर्दा बुवा-आमाको नाम लुकाउने, वास्तविक स्वर बदल्ने र परिवारको पहिचान खुल्ने कुनै पनि सामग्री बाहिर नल्याउने कुरामा गम्भीर ध्यान दिनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
नत्र गोपनीयताको कानुनी संरक्षण कागजमा मात्र सीमित हुन पुग्ने उहाँको भनाइ छ । नेपालको संविधानको धारा २८ ले प्रत्येक नागरिकको गोपनीयताको हक सुनिश्चित गरेको छ भने धारा ३९ ले बालबालिकाको विशेष संरक्षणको हकको प्रत्याभूति गरेको छ ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ११ (३) ले कसुरको आरोप लागेका वा कसूरबाट पीडित बालबालिकाको नाम, थर, ठेगाना, उमेर, लिङ्ग, पारिवारिक पृष्ठभूमि वा पहिचान खुल्ने अन्य कुनै पनि विवरण गोप्य राख्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।
यति मात्र होइन, नेपाल पक्ष राष्ट्र रहेको 'नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र' (आईसीसीपीआर) को धारा १७ र संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धिको (सीआरसी) धारा १६ ले पनि बालबालिका र तिनका परिवारको गोपनीयता र मर्यादाको संरक्षण गर्ने सुनिश्चित गरेको छ ।
उच्च पदस्थ व्यक्तिहरूले मात्रै होइन सर्वसाधारण र सञ्चारमाध्यमहरूले पनि सामाजिक सञ्जालको वालदेखि सडकका प्लेकार्डसम्म पीडितको नाम र तस्बिर छताछुल्ल पारेका छन् ।