सहकारी ठगीबारे १० घण्टाको बयानमा रविको जवाफ– सबै दोष जीबी राईको, म चोखै छु (भिडियो)

मैले कार्यक्रम उत्पादन र सञ्चालनको पाटो मात्रै हेरेँ, आर्थिक पाटो जीबी राईलाई थाहा छ : रवि लामिछाने
भाद्र ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगीबारे १० घण्टाको बयानमा रविको जवाफ– सबै दोष जीबी राईको, म चोखै छु (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गोर्खा मिडियाको आर्थिक कारोबारबारे थाह नभएको जवाफ दिनु भएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग शुक्रबार गरको १० घण्टा लामो सोधपुछमा ‘आफूले कार्यक्रम उत्पादन र सञ्चालनको पाटो मात्रै हेरेको तर कम्पनीको आर्थिक पाटो थाहा नभएको जवाफ उहाँले दिनु भएको हो । उहाँले सहकारी संस्थाबाट ऋण लिएर आफूले कतै पनि लगानी नगरेको दाबी गर्नुभएको छ ।

पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट ऋण लिने प्रक्रियामा आफू संलग्न नरहेको दाबी गर्नु भएको हो । मध्यराति १ बजेसम्म चलेको बयानका क्रममा लामिछानेले सुप्रिम, सहारा, सूर्यदर्शनलगायतका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा आएका ऋणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गर्नु भएको छ । 

१४ महिना गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेका लामिछानेले सहकारीबाट आएको रकमको कानुनी दायित्व आफूमा नरहेको भन्दै इन्कारी बयान दिनुभएको हो । बयानमा लामिछानेले आफ्नो नाम कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जीबी राईलाई थाहा हुने कुरा राख्नुभएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभयो । ‘विभिन्न सहकारीबाट आफ्नो नाममा प्रवाह गरिएका भनिएको रकम, ती सन्दर्भमा हस्ताक्षर, कागजात, नागरिकतासहितका चिजहरु त्यहाँ समावेश नभएको, अहिलेसम्म ती कुराहरु राख्नुभयो,’ थापाले भन्नुभयो, ‘कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जीबी राईलाई थाहा हुने विषय राख्नुभएको छ ।’

गोरखा मिडिया नेटवर्कमा आफूले प्रबन्ध निर्देशकका रुपमा मात्र काम गरेको तर, कार्यकारी प्रमुखको जिम्मेवारी अध्यक्ष जीबी राईको भएको लामिछानेको जिकिर रहेको पनि समितिका सभापति थापाले जानकारी दिनुभयो ।

समितिको कार्यालय सिंहदरबारमा हिजो दिउँसो साढे ३ बजे थालिएको सोधपुछ राति १ बजेसम्म चलेको थियो । सोधपुछमा ५१ वटा प्रश्न सोधिएका थिए । गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीसँग पनि समितिले शुक्रबार नै सोधपुछ गरेको थियो ।

झन्डै ५० हजार बचतकर्ताले चार वटा सहकारीमा जम्मा गरेको करिब ९६ करोड रुपैयाँ गीतेन्द्रबाबु अर्थात् जीबी राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडियामा सारिएको थियो । ८० करोड रुपैयाँ सार्दासम्म लामिछाने प्रबन्ध निर्देशक हुनुहुन्थ्यो ।

गितेन्द्रबाबु लगायत अन्य ठूला सहकारीमा बचतकर्ताको रकम अपचलन गर्नेहरु रहेको समितिको प्रारम्भिक ठहर छ । समितिले बयान लिइसकेपछि अन्त्यमा बोल्दै लामिछानेले बचतकर्तासँगै समितिले आफूलाई पनि न्याय गर्ने प्रतिक्रिया दिनुभयो ।

सहकारीमा भएको समस्याको विषयलाई लिएर संसद्ले गत जेठ १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको हो । समितिलाई दिएको तीनमहिनाको समयअवधि भदौ २३ गते सकिँदै छ ।

संसदीय विशेष छानबिन समितिलाई सहकारीको बचत अपचलनमा संलग्नमाथि कानुनी कारबाहीको सिफारिस गर्नेसम्मको कार्यादेश प्राप्त छ ।

सम्बन्धित समाचार...

छानबिन समितिमा लामिछाने : ऋण लिने प्रक्रियामा म संलग्न छैन

सहकारी ठगीमा कसरी तानिए रास्वपाका सभापति रवि लामिछाने ?

सुप्रिम सहकारी ठगी : दीपेश पुन र जीबी राईलाई मुद्दा, रविलाई उन्मुक्ति

अनि यो पनि हेर्नुहोस् :

लामिछाने गृहमन्त्री हुँदा के भन्थे ?

जीबी राई जहाँ बसे पनि समातेर ल्याउँछु

जीबी राईको लोकेसन मलेसियामा पत्ता लागिसक्यो

– जीबी राईलाई अघिल्लो सरकारले भगाएको हो, अहिले पक्राउ गर्न कठिन भयो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement