परराष्ट्रमन्त्री डा. देउवा र क्यानडाकी विदेशमन्त्री जोलीबीच भेटवार्ता

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्री डा. देउवा र क्यानडाकी विदेशमन्त्री जोलीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. अरजु राणा देउवा र क्यानडाकी विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल-क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो ।

क्यानाडेली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. राणा क्यानाडा पुग्नुभएको छ ।

भेटका क्रममा उहाँहरुले दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताउनुभएको थियो । नेपाल र क्यानाडेले आगामी बर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ बार्षिकोत्सव मनाउँदैछन् ।

त्यस भेटमा परराष्ट्रमन्त्री डा. राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानाडाले पुर्‍याएको सहयोगका लागि धन्यावाद दिनुभयो । नेपालको संसद्ले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरु पनि पूर्ण हुने जानकारी मन्त्री डा. राणाले दिनुभयो ।

उहाँले एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूतावास स्थापना गर्नु क्यानडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन विदेशमन्त्री जोलीसमक्ष आग्रह पनि गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement