सर्वसाधारणका लागि नयाँ धरहरा खुला, तत्कालका लागि निःशुल्क प्रवेश

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सर्वसाधारणका लागि नयाँ धरहरा खुला, तत्कालका लागि निःशुल्क प्रवेश

काठमाडौं । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढलेको धरहराको छेउमा उस्तै धरहरा बनेपछि संविधान दिवसको अवसर पारेर सरकारले आजदेखि सार्वसाधारणलाई पनि प्रवेश खुला गरेको हो । यही भदौ २७ गते बसेको मन्त्रीपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने निर्णय गरेको थियो । सोही अनुसार तत्कालका लागि निःशुल्क रुपमा धरहरामा प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागको व्यवस्थापनमा सर्वसाधारणले धराहराको अवलोकन गर्न पाउँनेछन् । तत्कालका लागि निःशुल्क धरहरा अवलोकन गर्न पाउने व्यवस्था गरिएको सहरी विकास तथा भवन निर्माण विभागका अधिकृत वीरसिंह भण्डारीले जानकारी दिनुभयो । उहाँले धरहरा हेर्नेहरुको घुइँचो लागेकाले व्यवस्थापनको काममा चाप परेको पनि बताउनु भयो ।

धरहरा हेर्न जानका लागि आफ्नो परिचय खुल्ने नागरिकता, मतदाता परिचय पत्र, चालक अनुमति पत्र, राहदानीको फोटोकपी मात्रै भएपनि हुनेछ । 

‘धराहरा घुम्नका लागि कागजातहरु नबोके पनि हुन्छ । मोबाइलमा फोटा खिचेर ल्याउनु । कुनै न कुनै आइडी । नागरिकता वा पासपोर्टको, भोटर आईडी वा लाइसेन्स जुन भएपनि हुन्छ । तर हार्ड कपी नै बोक्नुपर्छ भन्ने छैन,’ अधिकृत भण्डारीले भन्नुभयो, ‘तत्काललाई आईपी एड्रेस छ । त्यसमा लगइन गर्ने, भर्ने । त्यो भरेपनि क्यूआर जेनेरेट हुन्छ । त्यो हाम्रो कर्मचारीलाई देखाउनु भयो भने त्यो उहाँहरुले रिड गर्नुहुन्छ । त्यसै आधारमा अहिले तत्काललाई निःशुल्क घुम्ने व्यवस्था मिलाइएको छ ।’

भवन निर्माण विभागका अनुसार धरहरा चढ्न प्रि-टिकट बुकिङको व्यवस्था गर्ने भने पनि तत्कालका लागि धरहरास्थलमै गएर टिकट लिनुपर्नेछ । यसैबीच सर्वसाधारणले पनि धरहराको पुनर्निर्माण भएको खुशी व्यक्त गरेका छन् । उनीहरुले त्यहाँको प्रवेशका लागि सहज वातावरण निर्माण गरिदिन पनि व्यवस्थापन पक्षसँग अनुरोध गरे । धरहरा चढ्न पुगेका सर्वसाधारणले देशको गहनाको रुपमा रहेको धरहरा पुनर्निर्माणमा केही ढिलो भएको पनि प्रतिक्रिया दिए ।

२०७२ सालको भूकम्पले ढालेको धराहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको छ । धरहरा अपांगतामैत्री भएकाले उनीहरुलाई पनि चढ्न सहज र सजिलो हुने अपेक्षा गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement