सुप्रिम सहकारी ठगी : दीपेश पुन र जीबी राईलाई मुद्दा, रविलाई उन्मुक्ति

२८ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, ८६ करोड बिगो दाबी
वैशाख २, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुप्रिम सहकारी ठगी : दीपेश पुन र जीबी राईलाई मुद्दा, रविलाई उन्मुक्ति

बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसहित २८ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटबलले संगठित ठगीमा गरेको अनुसन्धान प्रतिवेदनमा पूर्वउपराष्ट्रपतिका छोरा दीपेश र विनाधितो सबैभन्दा धेरै रकम हिनामिनाको आरोप लागेका जीबी राईसहितलाई प्रतिवादी बनाउन सिफारिस गरेको हो । २८ जना आरोपीलाई ८६ करोड १८ लाख २३ हजार बिगो र कैद सजायको दाबी सहितको अनुन्धान जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

तत्कालीन अध्यक्ष जीबी राईले सहकारीको रकम अवैध रुपमा अपचलन गर्दै गोर्खा मिडिया ग्रुपमा लगानी गरेको आरोप लाग्दा सोही कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक तथा गृहमन्त्री रवि लामिछाने भने जोगिएका छन् । बुटवल र भैरहवालाई केन्द्र बनाएर सुप्रिम सहकारीले एक अर्ब दुई करोड रकम बचतकर्ताहरुबाट उठाएको छ । जसका आठ हजार बढी बचतकर्ता छन् ।

सुप्रिमबाट गोर्खा मिडिया ग्रुपमा रवि लामिछानेको नाममा एक करोड रुपैयाँ ट्रान्सफर भएको थियो । सुप्रिमबाट हिनामिना भएको रकममध्ये विनाधितो १२ करोड रुपैयाँ गोरखा मिडिया ग्रुपमा लगानी भएको थियो । जसमा लामिछाने प्रबन्ध निर्देशक थिए । आफैं सञ्चालक रहेको संस्था सहकारीबाट १२ करोड विनाधितो लगानी भएको र त्यसमा पनि एक करोड रुपैयाँ आफ्नै नाममा ट्रान्सफर भए पनि लामिछाने गृहमन्त्री भएलगत्तै अनुसन्धान प्रभावित भएको प्रहरी स्रोतको दाबी छ ।

लामिछानेले आफू उक्त सहकारीको सदस्य पनि नरहेको र आफ्नो खातामा पैसा पनि नआएको दाबी गर्दै आएका छन् । सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा अभियोग दर्ताका लागि तयारी थालेको जनाएको छ । सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको भन्दै एक हजार आठ सय ३१ जनाले कारबाहीका लागि निवेदन दिएका थिए । सोहीअनुसार अनुसन्धानका लागि फागुन ३ गते सुप्रिम सहकारी बुटवलका अध्यक्ष ओम गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईंलाई प्रहरीले पक्राउ गरेको थियो ।

सुप्रिमबाट हिनामिना भएको रकममध्ये विनाधितो १२ करोड रुपैयाँ गोरखा मिडिया ग्रुपमा लगानी

बयानका क्रममा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशको समेत संलग्नता देखिएपछि प्रहरीले पुनलाई चैत २ गते काठमाडौंबाट पक्राउ गरेर बुटवल ल्याएको थियो । पुन सहकारीका पूर्वसचिव हुन् । सहकारी ठगीको संगठित अपराधमा भएको अनुसन्धानमा सहकारीका कर्मचारी दीपक न्यौपाने र नीता थापा मगर पनि प्रहरी हिरासतमा छन् ।

९ वटाभन्दा बढी सहकारीको रकम हिनामिनाको आरोप लागेका जीबीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको पनि आरोप छ । जसमा गृह लामिछाने पनि जोडिएको आरोप लाग्दै आएको छ । जीबीले सहकारीकै रकम अवैध रुपमा गोर्खा मिडिया ग्रुपमा लगानी गरेका थिए । पोखराको सूर्यदर्शनको रकम हिनामिनामा पनि लामिछाने माथि अनुसन्धान नगर्न दबाब परेपछि प्रहरी पछि हटेको छ । राईविरुद्ध प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.