यस्ता छन् विश्वका केही चर्चित देशका संविधान !

आश्विन ३, २०८१ |सुबिन्द्र श्रेष्ठ
यस्ता छन् विश्वका केही चर्चित देशका संविधान !

काठमाडौं । ‘नेपालको संविधान’ जारी भएको ९ वर्ष भयो । यो जनप्रतिनिधिले नै बनाएको नेपालको पहिलो संविधान हो । यसअघिका ६ वटा संविधान विज्ञ समूह वा आयोग गठन गरी लेखिएका थिए । संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई मौलिक मानिन्छ । तर विश्वमा कतिपय विकसित देशका संविधानसँग नेपालको संविधानमा समानतासमेत छन् । कस्ता छन् त विश्वका केही चर्चित मुलुकका संविधान ?

विश्वको सबैभन्दा पुरानो र छोटो संविधान अमेरिकाको हो । ४ पेजको यो संविधानमा जम्मा ७ वटा धारा छन् । यो संविधान अहिलेसम्म २७ पटक संशोधन गरिएको छ । पूर्ण संघीय शासन भएको अमेरिकामा सन् १७८७ मा लेखिएको संविधान १७८९ देखि लागु भएको हो । अमेरिकाको संविधानले राज्यहरूलाई अलग्गै कानुन बनाउनेसहितको व्यापक अधिकार दिएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था अमेरिकामा छ । 

छिमेकी देश भारतमा सन् १९५० मा पहिलो पटक संविधान जारी गरिएको थियो । यो संविधान पटकपटक संशोधन हुँदै आएको छ । नेपालमा जस्तै भारतको संविधानले संसदीय व्यवस्था अङ्गीकार गरेको छ । संसद्‌बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने व्यवस्था छ । भारतको संविधान विश्वकै सबैभन्दा लामो हो । यो संविधानमा ३९५ अनुच्छेद र १२ अनुसूची छन् । नागरिकका अधिकार सुनिश्चित गरिएको भारतको संविधानमा नेपालको भन्दा फरक गम्भीर अपराधमा मृत्युदण्ड दिन सकिने प्रावधान छ । 

अर्को छिमेकी देश चीनमा सन् १९८२ मा जारी भएको संविधान अहिलेसम्म प्रचलनमा छ । चार परिच्छेदसहित १३८ धारा रहेको चीनको संविधानमा रोजगारी, शिक्षा, स्वास्थ्य आवास जस्ता विषयलाई मौलिक हकमा राखिएको छ । समाजवादी व्यवस्था भएको चीनमा २९८७ सदस्यीय नेसनल पिपुल्स कंग्रेस अर्थात् संसद्‌भित्र चिनियाँ कम्युनिस्ट पार्टीबाहिरका क्षेत्रीय दल, जातीय तथा विभिन्न समूहबाट ८ सय जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । कम्युनिस्ट पार्टीबाट चुनिएको व्यक्ति देशको कार्यकारी राष्ट्रपति हुने व्यवस्था चीनमा छ । 

नेपालको जस्तै संविधानसभाबाट संविधान जारी गर्ने पहिलो मुलुक भने फ्रान्स हो । सन् १७९१ मा संविधानसभाबाट फ्रान्सको संविधान लेखिएको हो । फ्रान्समा लामो क्रान्तिपछि १९५८ मा जारी भएको संविधान अहिले प्रचलनमा छ । प्रतिनिधिमूलक प्रजातन्त्रको पक्षमा शासन सञ्चालन हुने फ्रान्समा राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई निश्चित कार्यकारी अधिकार संविधानले दिएको छ । 

जापानमा सन् १९४६ मा लेखिएको संविधान कार्यान्वयनमा छ । दोस्रो विश्वयुद्धमा हारेपछि जापानको संविधानको मस्यौदा अमेरिकी सैनिकहरूले नै तयार पारिदिएका थिए । रुसमा अक्टोबर क्रान्तिपछि सन् १९१७ मा भ्लादिमिर लेनिनले ल्याएको संविधान सोभियत संघको पतनसँगै फेरियो । अहिले सन् १९९३ मा लेखिएको संविधान कार्यान्वयनमा छ । रुसमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था छ । 

संसदीय राजतन्त्रात्मक राज्य प्रणाली भएको देश बेलायतमा भने अलग्गै लिखित संविधान छैन । बेलायतमा प्रथा, परम्परा, अदालतका फैसला, संसदीय सर्वोच्चता, लोकतान्त्रिक मूल्य, विधिको शासन, शक्ति पृथकीकरणलगायत प्रजातन्त्रका आधारभूत विषयलाई मान्यता दिने गरिन्छ । 

लिखित संविधान नभएको बेलायतमा सन् १२१५ को म्याग्नाकार्टा, सन् १६८९ को बिल अफ राइटस् र सन् १६८८ को क्रान्ति, विधिको शासन एवम् १९९८ को मानवअधिकार कानुनलाई उच्चतम नमुना मानिन्छ । कार्यकारी अधिकार भने संसद्‌बाट निर्वाचित प्रधानमन्त्रीलाई छ । 

बेलायती संसदीय प्रजातन्त्र र शासन व्यवस्थाका साथै अदालती फैसला र नजिरलाई नेपालको संविधानमा समेत अङ्गीकार गरिएको छ ।


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement