संविधान : कार्यान्वयनमा कहाँ चुक्यौं, संशोधन केमा ?

आश्विन ३, २०८१ |विजय पौडेल
संविधान : कार्यान्वयनमा कहाँ चुक्यौं, संशोधन केमा ?

काठमाडौं । नेपाली जनताका प्रतिनिधिले संविधानसभामार्फत् लेखेको संविधान जारी भएको ९ वर्ष पुगेको छ । आज असोज ३ गते संविधान दिवस । संविधान दिवसको अवसर पारेर हामीले संविधान निर्माणका सकस, यसको कार्यान्वयन र संशोधनका एजेण्डा तथा संविधानको अपनत्व, सर्वस्वीकार्यता र भविश्यमा भन्ने मुल मुद्दामा केन्द्रीत भएर लगातार तीन दिन संविधान बहस गरेका छौं । आज तेस्रो अर्थात् मुख्य दिन । संविधान दिवसको सन्दर्भमा यहाँहरु सबैलाई शुभकामना । संविधान दिवस यसपाली पनि सरकारले भव्यताका साथ महाउत्सवका रुपमा मनाइरहेको छ र यसमा हामी सबैको साथ र सहयोग हुनु अनिवार्य छ ।

तर २०७२ सालमा संविधान जारी गर्दा अधिकतम् सहमति भए पनि असन्तुष्टिका स्वर त्यसबेला समेत थिए । त्यसयता संविधान कार्यान्वयन भैरहँदा कतिपय विषयले अझै पूर्णता पाउन सकेका छैनन् । यसकारण संविधानको अपनत्व र सर्वस्वीकार्यतामा अझै पनि समस्या छ । यसकारण संविधान कार्यान्वयनमा कहाँ समस्या छ गम्भीर भएर खोज्नै पर्ने भएको छ ।

त्यसो त संविधान जारी गर्दा नै १० वर्षमा पुनरावलोकन गर्ने प्रावधान राखेर केही आयोगहरु बनाइएका थिए । अहिले राजनीतिक तहमा संविधान संशोधनको बहस जोडतोडले चलेको छ । नयाँ सरकार बनाउँदा नै नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई समेत मुख्य एजेण्डा बनाएका छन् । 

त्यसमा दलहरुले पक्ष-विपक्षमा आआफ्ना धारणा राखिरहँदा सबैको चासो सर्वपक्षीय सहमति हुनुपर्ने भन्नेछ । संघीयता र समावेशी सिद्दान्तलाई थप बलियो बनाउनुपर्ने भनिरहँदा दलहरुले निर्वाचन प्रणालीमा जोड दिएका मात्रै छैनन, थ्रेस होल्ड बढाउने र दुई दलीय संरचनामा जानुपर्ने विषयलाई समेत उठाइरहेका छन् । र उनीहरुको तर्क यो सबै स्थिर सरकार र स्थिर राजनीतिका लागि हो । तर प्रश्न के उठ्छ भने के स्थिर सरकार र स्थिर राजनीतिक हुन नसक्नुको कारण संविधान हो ?

संविधान चलाउनै नहुने दस्तावेज त हैन । तर संशोधन गर्ने हो भने सर्वपक्षीय सहमतिमा देश र जनताको हितमा हुने गरी गर्नुपर्छ । समस्या संविधानको हो कि हाम्रो राजनीतिक नेतृत्वको कार्यशैली ? यसको पनि समीक्षा गर्नु आजको आवश्यकता हो ।

संविधान जारी भएको दस वर्ष लाग्दै गर्दा आज हामी संविधान बहसको अन्तिम दिनमा संविधान कार्यान्वयनमा कहाँ कहाँ समस्य रह्यो ? संशोधनका विषय के के हुनसक्छन् ? र संशोधनको बहसलाई कसरी सर्वस्वीकार्य बनाउँदै संविधानको स्वामित्व सबैले लिने अवस्था कसरी सिर्जना गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल गर्दैछौ ।

आजको संविधान बहसको छलफलमा हामीसँग हुनुहुन्छ, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रका नेता रेखा शर्मा र संविधानविद् विपिन अधिकारी ।


Image

विजय पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक हुन् ।


Enter Kantipur TV HD
Advertisement