दाहाल-मोदी भेट, आपसी हितका विषयमा छलफल (फोटो फिचर)

जेष्ठ १८, २०८० |श्याम श्रेष्ठ
दाहाल-मोदी भेट, आपसी हितका विषयमा छलफल (फोटो फिचर)

नयाँदिल्ली । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । हैदरावाद हाउसको नीलगिरि कक्षमा दुई प्रधानमन्त्रीबीच आपसी हितका विषयमा छलफल भइरहेको छ ।

दाहाल-मोदीको वन टु वन कुराकानीपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल हुनेछ । प्रतिनिधिमण्डलको बैठक सकिएपछि सम्झौता आदानप्रदानको कार्यक्रम छ । दुवै प्रधानमन्त्रीले केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन् । भारतसँग दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत् व्यापारमा प्रसारण लाइनको अनुमति र नेपालले पाउनुपर्ने हवाई रुटका विषयमा समझदारीहरु हुनेछन् ।

त्यस्तै केनेक्टिभिटी र कृषि सहयोगका परियोजनाहरुमा पनि छलफल हुनेछ । विद्युत् क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न दीर्घकालीन सम्झौताहरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त पत्रकार सम्मेलन सकिएपछि हैदरावाद हाउसमै नेपाली प्रतिनिधि मण्डलको सम्मानमा भारतीय पक्षले दिवाभोज आयोजना गर्नेछ ।

त्यसअघि प्रधानमन्त्री दाहाल राजघाट पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

प्रधानमन्त्री दाहालले आजै दिउँसो ४ बजे भारतका उपराष्ट्रपति धनगढ र साढे ४ बजे राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यसूची छ । साँझ साढे ५ बजे नेपाल र भारतका उद्योगी व्यवसायीले होटेलमा आयोजना गर्ने संयुक्त कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

तेस्रो दिन अर्थात् भोलि (शुक्रबार) बिहान ८ बजे विमानमार्फत प्रधानमन्त्री दाहाल भारतको सफा मानिने मध्यप्रदेशको ठूलो सहर इन्दोर जानेछन् । दिउँसो त्यहाँ फोहोर व्यवस्थापन प्लान्टको निरीक्षण गर्ने कार्यक्रम छ ।

इन्दोरमा शुक्रबार प्रधानमन्त्री दाहालको बास होटेल मेरियटमा हुनेछ । त्यहाँ उनीसँग मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् । मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणको अन्तिम दिन शनिबार (जेठ २० गते) प्रधानमन्त्री दाहालले विशेष आर्थिक क्षेत्रको अवलोकन भ्रमण गरी दिउँसो १ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आउनेछन् । त्यहाँ एक घण्टा बिताएर नेपाल एयरलाइन्सको नियमित उडानबाट ४ बजेर २० मिनेटमा स्वदेश फर्कनेछन् ।

गत पुस १० मा तेस्रोपटक प्रधानमन्त्री बनेपछि पुष्पकमल दाहाल पहिलो विदेश भ्रमणका क्रममा भारत गएका हुन् । 

यो पनि...

भारतमा प्रधानमन्त्री दाहालमाथि अपमान भयो : मसाल
जोखिममा प्रधानमन्त्री दाहालको भारत भ्रमण, विज्ञ भन्छन्- यो गम्भीर हो
भारत भ्रमणको पहिलो दिन : डोभलसँग छलफल, दूतावासमा रात्रिभोज
प्रधानमन्त्री दाहाललाई दिल्ली विमानस्थलमा विदेश राज्यमन्त्रीको स्वागत (तस्बिरसहित)
दिल्लीमा प्रधानमन्त्री दाहाललाई स्वागत, सडकमा ठूलाठूला तस्बिरसहितका ब्यानर (भिडियोसहित)
यस्तो छ दिल्लीमा प्रधानमन्त्री दाहाल चढ्ने गाडी (फोटो फिचर)
प्रधानमन्त्री दाहालको दिल्ली भ्रमण : के के छन् कार्यक्रम ?
पूर्वका उद्योगी व्यवसायीको सुझाव- आयात-निर्यात सहज र लगानी आकर्षणमा ध्यान दिइयोस्


Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।