
रूपन्देही । भारतबाट नेपाल ल्याउँदै गर्दा नेपाल आयल निगमको डिजेल बाटोमै चोरी हुने गरेको तथ्य फेला परेको छ ।
रूपन्देहीको भैरहवामा आयल निगमको डिजेल बोकेका ट्याङ्करबाट सिल तोडेर इन्धन निकाल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेपछि चोरीको रहस्य खुलेको हो । सात वर्षअघिसमेत इन्धन चोरीको घटना सार्वजनिक भएको रूपन्देहीमा आयल निगमको इन्धन चोरीको जालो कसरी फैलिएको छ त ?
३० भदौमा, भारतबाट इन्धन बोकेर आएका नेपाल आयल निगमका तीनवटा ट्याङ्कर रूपन्देहीको भलवारी डिपोमा आउनुको साटो मायादेवी गाउँपालिकातिर लागे । ती ट्याङ्कर मायादेवी गाउँपालिका ३ मा रहेको सराफ आयल सेन्टरमा पुगे ।
आयल निगमको सिल तोडे र डिजेल खन्याउन थाले । त्यहीबेला प्रहरीले छापा मारेर दुई जना चालक र सहचालकलाई रङ्गेहात पक्राउ गर्यो । तीन ट्याङ्कर र ३० लिटर डिजेलसमेत नियन्त्रणमा लियो । पक्राउ परेका चालक दुर्गेश चाईं र सहचालक महसुर अजर हुसेन अहिले चोरी मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।
चोरीको इन्धन किन्ने सराफ आयल सेन्टरका सञ्चालक रमेश सराफ, ट्याङ्कर चालक प्रमात्माप्रसाद लोध र उमेश कहार फरार छन् । आयल निगमले उनीहरूविरुद्ध पनि चोरी मुद्दा दर्ता गरेको छ । प्रहरी बयानमा अभियुक्तहरुले ६ महिनाअघिदेखि भारतबाट नेपालमा इन्धन बोकेर ल्याउँदा प्रति ट्याङ्कर ३० लिटरसम्म इन्धन निकाल्ने गरेको बताएका छन् ।
रूपन्देहीमा सात वर्षअघि पनि आयल निगमका ट्याङ्करबाट बाटोमै इन्धन निकालिएको घटना सार्वजनिक भएको थियो । यसपटकको घटनाले इन्धन चोरी प्रणालीगत कमजोरीको परिणाम हो, भन्ने देखाएको छ । किनभने, भारतबाट भलवारी डिपोसम्म आउने ट्याङ्करको सिल, ढुवानीको मात्रा र डिपोमा इन्धन बुझाउँदासम्मको विवरण हेर्न कर्मचारी राखिएका छन् ।
यी विषय जाँच नगरी इन्धन खन्याइँदैन । ट्याङ्करको सिल तोडिएको र परिमाण घटेको अवस्थामा पनि भलबारी डिपोका कर्मचारीले इन्धन किन बुझ्छन् ? ट्याङ्कर व्यवसायी संघले ट्याङ्कर चालकलाई जिम्मा लगाउने भएका इन्धन आयात प्रणालीमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने र त्यसमा सघाउने बताएको छ ।
आयल निगमको इन्धन बाटैमा चोरी गर्दा नियन्त्रणमा लिएका लु २ ख १५४४ र लु १ ख ६५०४ र लु १ ख ६६१९ नम्बरको ट्याङ्कर जिल्ला प्रहरी कार्यालय रूपन्देहीको राखिएका छन् । अभियुक्तहरूको बयानअनुसार भारतबाट निगमको डिपोसम्म पुग्नुपर्ने डिजेल बाटोमै सिल तोडेर खन्याउँदा प्रतिलिटर १० देखि २५ रुपैयाँसम्म पाउँथे ।
आयल निगमका कर्मचारीले तोडिएको सिल सोधखोज गर्दैनथे । इन्धन चोरीको घटना सार्वजनिक भएपछि आयल निगमले सराफ आयल सेन्टरलाई ६ महिनाका लागि सिल गरेको छ । चोरीमा संलग्न ट्याङ्करका चालकलाई निगमको कुनै पनि कार्यालयबाट आजीवन इन्धन ढुवानी गर्न नपाउने गरी कारबाही गरेको छ । ट्याङ्करलाई तीन महिनाका लागि ढुवानी कार्यबाट रोकेको छ । किन आयल निगमको इन्धन आयात प्रणाली यति फितलो छ ?
आयल निगमको इन्धन सिल तोडेर बाटोमै चोरीको यो घटनाले आयल निगमको इन्धन कारोबारको निगरानी प्रणालीमाथि प्रश्न उठेको छ । अब प्रहरीले घटनामा पक्राउ परेकामाथि मात्रै अनुसन्धान सीमित राख्छ वा विगतमा भएका यस्तै घटनासम्म पुगेर सम्भावित ठूलो सञ्जालको खोजी गर्छ-त्यसले यो कारबाहीको वास्तविक अर्थ निर्धारण गर्नेछ ।