पुल बगेको तीन वर्ष बित्यो, पाँचथरका सडक अझै डाइभर्सनकै भरमा

आश्विन १७, २०८३ |लक्ष्मी गौतम
पुल बगेको तीन वर्ष बित्यो, पाँचथरका सडक अझै डाइभर्सनकै भरमा

पाँचथर । पाँचथर हुँदै विभिन्न जिल्ला जोड्ने प्रमुख सडकमा पर्ने खोलाहरूमा पक्की पुल छैनन् । 

जसले वर्षायाममा सवारीसाधनले डाइभर्सनबाटै खोला तर्नुपर्ने हुन्छ । तर, बाढीले बारम्बार डाइभर्सनसमेत बगाइदिँदा त्यहाँ लामो समय यातायात प्रभावित हुन्छ । २०८० र ०८१ सालमा पटक पटक आएको बाढीले पुल बगाएको तीन वर्ष बितिसक्दा पनि नयाँ पुल निर्माण नहुँदा बर्खामा यात्रा जोखिमपूर्ण बन्ने गरेको छ । 

नागरिकले कष्टकर यात्रा गरिरहँदा कुनै पनि खोलानालामा पक्की पुल निर्माणको ठेक्का लागेको छैन । २०८० सालको बाढीले पुल बगाएका हेवा तमोर दोभाने र घुमाउनेटारमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको छ । तर, वर्षा सुरू भएसँगै ती डाइभर्सन बग्ने गरेकाले जिल्लाका मुख्य सडकमा यातायात बारम्बार अवरुद्ध हुन्छ ।

तमोर करिडोरअन्तर्गत फिदिम र हिलिहाङलाई छुट्याएर बग्ने हेवा खोलाको डाइभर्सन गत जेठ ५ गते बगेपछि यो सडकखण्डमा नियमित आवागमन ठप्प छ । फिदिमदेखि नाङ्गिन, याङनाम, सिदिन र प्राङबुङ हुँदै भारतसँगको सीमावर्ती फालौट जोड्ने सडकअन्तर्गत फालेलुङ–५ र ६ को सीमामा पर्ने मुवा खोलाको डाइभर्सन पटक पटक बाढीले बगाउँदा यात्रा कष्टकर बन्दै आएको छ ।

यस्तै, मध्यपहाडी राजमार्गको उद्गम बिन्दू चिवाभञ्ज्याङ हुँदै च्याङथापु र थर्पु जोड्ने दोभाने खोलामा २०८० असार २ गतेको बाढीले पुल बगाएपछि बनाइएको अस्थायी डाइभर्सनसमेत गत जेठ ८ गते बग्यो बग्यो त्यसपछि यहाँ सवारी तथा ढुवानीका साधन सञ्चालन हुन सकेका छैनन् । 

साना सवारी वारपार गराउन स्थानीयले चन्दा सङ्कलन गरेर बनाएको काठेपुलले भरथेग गरिरहेको छ । फिदिमदेखि फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुङ जोड्ने सडकको घुमाउनेटारमा पनि पुल नहुँदा डाइभर्सनकै भरमा यातायात सञ्चालन हुँदै आएको थियो । तर, गत जेठमा बाढीले त्यही डाइभर्सनमा पनि क्षति पुर्‍याएपछि चारचक्के सवारी सञ्चालनमा समस्या छ ।

यीमध्ये अधिकांश खोलामा २०८० सालको बाढीले पक्की पुल बगाएको थियो । त्यसपछि ह्युमपाइप राखेर माथिबाट ढुङ्गा बिछ्याउँदै अस्थायी डाइभर्सन बनाइएको छ । ठूलो पानी पर्नासाथ ह्युमपाइप बग्ने र सडक कटान हुने समस्या दोहोरिँदै आएको छ ।

तमोर करिडोरमा पर्ने नावा र छरुवासहित चारवटा खेलामा अहिलेसम्म पुल बन्न सकेको छैन । यहि करिडोरमा पर्ने हेवा खोलाको बेलिब्रिज भने २०८० असार २ गते बगेको थियो । यो सडक ताप्लेजुङसम्म जान्छ। मुवा खोला हुँदै फालेलुङसम्म सडक जोडिएको छ । 

दोभाने खोला हुँदै याङवरकसँगै ताप्लेजुङका सीमावर्ती क्षेत्रसम्म सडक पुगेको छ । तर, पुल निर्माणमा ढिलाइ हुँदा यात्रा जोखिमपूर्ण छ । स्थानीय तहका जनप्रतिनिधिले प्रदेश र संघीय सरकारका सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् । तर, पक्की पुल बनाउन प्रदेश र सङ्घ सरकारसँग पटक–पटक आग्रह गरिए पनि प्रक्रिया अघि नबढेको जनप्रतिनिधिहरू गुनासो गर्छन् ।

डाइभर्सनबाट ठूला सवारीसाधनले मुस्किलले खोला पार गर्ने गरेका छन् । हेवा खोलाको दुवैतर्फ सडक साँघुरो र घुम्तीमा पर्याप्त ठाउँ नहुँदा जाम हुने समस्या छ । मेची राजमार्ग तमो करिडोर र पुष्पलाल मध्यपहाडी गरी तीनवटा मुख्य सडकले जोडेको पाँचथरलाइ जोड्ने खोलानालामा कतै पुल बगाएको वर्षौं बितिसक्दा पनि डाइभर्सनकै भरमा यातायात सञ्चालन गर्नु त कतै बाटो बनेको वर्षैसम्म पुल बनेका छैनन जसकारण नागरिकले वर्षायाममा हरेक वर्ष उस्तै समस्या भोग्नु पर्ने वाध्यता छ ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।