काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालमाथि अपमानजनक व्यवहार भएको नेकपा मलासले जनाएको छ । भ्रमण उपलब्धिविहीन भई प्रधानमन्त्री दाहाल रित्तो हाल स्वदेश फर्कनुपर्ने अवस्था आएको सो दलको भनाइ छ ।
मसालका महामन्त्री मोहनविक्रम सिंहले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतले विदेशसचिवबाट स्वागत गराएर अपमानजनक व्यवहार गरेको छ ।’
सत्ता गठबन्धन राष्ट्रिय जनमोर्चाको मातृपार्टीका महामन्त्री रहेका सिंहले वक्तव्यमा भनेका छन्,‘ नेपाल र भारतबीच रहेका समस्याबारे भारतले उपेक्षा गरेकोले ती विषयबारे कुनै छलफल हुने सम्भावना देखिन्न । भारतको त्ययस प्रकारको व्यवहारबाट प्रधानमन्त्रीको भ्रमण उपलब्धिविहीन भई खाली हात फर्कनुपर्ने सम्भावना बढेर गएको छ ।’
नागरिकता विधेयकमा आपत्ति
मसालका महामन्त्री सिंहले राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको पनि विरोध गरेका छन् । यो विधेयक प्रमाणीकरण गर्दा संवैधानिक र संसदीय प्रक्रियाको उल्लंघन भएको बताउँदै सिंहले भनेका छन्, ‘हामीले उक्त राष्ट्रघाती विधेयक खारेजीका लागि संघर्षमा उत्रन आह्वान गर्दछौं ।’
प्रधानमन्त्री भारत जाने दिन नै भारतलाई खुसी पार्न विधेयक प्रमाणीकरण गरिएको महामन्त्री सिंहको आरोप छ ।
त्यसैगरी कोशी प्रदेशको नाम खारेज गर्न र पहिचानका आधारमा नाम राख्न माग गर्दै भइरहेको आन्दोलनको पनि मसालले विरोध गरेको छ । यस्तो आन्दोलनलाई उसले ‘जातिवादी’ भनेको छ ।
त्यसैगरी मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले पनि नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेको छ । राष्ट्रपतिको निर्णय गैरजिम्मेवार संसदीय प्रक्रियाविपरीत एवं राष्ट्रिय हितविपरीत रहेको सो पार्टीको भनाइ छ ।
साथै, पार्टीका प्रवक्ता कञ्चनले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणका क्रममा विवादास्पद सम्झौताहरु नगर्न सुझावसमेत दिएका छन् ।
अघिल्लो संसदले ९ महिना अघि पारित गरेर राष्ट्रपति कार्यालयमा थन्किएको नागरिकता सम्बन्धी विधेयक बुधबार राष्ट्रपति रामवरण यादवले प्रमाणीकरण गरेका हुन् ।
जोखिममा प्रधानमन्त्री दाहालको भारत भ्रमण, विज्ञ भन्छन्- यो गम्भीर हो
फाइल तस्बिर : कान्तिपुर