जोखिममा प्रधानमन्त्री दाहालको भारत भ्रमण, विज्ञ भन्छन्- यो गम्भीर हो

जेष्ठ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
जोखिममा प्रधानमन्त्री दाहालको भारत भ्रमण, विज्ञ भन्छन्- यो गम्भीर हो

काठमाडौं । ‘यसपालि भारत भ्रमणबाट केही नयाँ चिज प्राप्त होलाजस्तो छ’ भन्दै उत्साहका साथ बुधबारदेखि चारदिने भारत भ्रमणमा निस्केका प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण फलदायी हुनेमा आशंका उब्जिएको छ ।

यो भ्रमणमा नेपालले चाहेका मुख्य तीन एजेण्डा थिए, एक- बंगलादेशसँग विद्युत व्यापारका लागि भारतले प्रसारण लाइन दिनेसम्बन्धी सहमति । दोस्रो- लुम्बिनी र पोखरा अन्तररष्ट्रिय विमानस्थलका लागि हवाइट रुटमा भारतको सहमति र तेस्रो पञ्चेश्वर परियोजनाको कार्यान्वयन ।

यसका साथै नेपाल भारत सम्बन्धमा दरार उत्पन्न गराउनेखालका केही विषयमा समझदारी खोज्ने अर्को पाटो पनि नेपालको सरोकारको विषय हो । यसमा पनि मुख्य ३ वटै मुद्दाहरु छन् । एक- ईपीजीको प्रतिवेदन सार्वजनिक गर्नेबारे भारतको सहमति । दुई- नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाललाई फिर्ता गर्नेबारे समझदारी र तेस्रो- भारतीय संसद्‌मा नेपालको लम्बिनी र कपिलवस्तुलाई समेटेर राखिएको नक्सासम्बन्धी प्रश्न ।

यसका अतिरिक्त ऊर्जा, कृषि र अन्य क्षेत्रमा भारतसँग आर्थिक सहायता माग्ने नेपालको चाहना छ । यही कारणले विभिन्न सहमतिका लागि भन्दै प्रधानमन्त्रीको भ्रमण टोलीमा पाँच मन्त्री र डेढ दर्जन सरकारी अधिकारीसहित ५० भन्दा बढीको टोली सहभागी गराइएको हो । निजी क्षेत्रबाट पनि त्यति नै संख्यामा प्रतिनिधिहरु सहभागी भएका कारण भ्रमण दल जम्बो बन्न पुगेको हो ।

प्रधानमन्त्री दाहालको यो भ्रमणका बेला भारतका पनि केही सरोकारहरु देखिन्छन् । जस्तो उसले ६७९ मेगावाटको तल्लो अरुण जलविदुत परियोजनामा सम्झौता गर्न चाहेको छ । यस आयोजनाबाट नेपालले १४८ मेगावाट विजुली पाउने गरी सम्झौताको गृहकार्य भएको छ । त्यस्तै ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनामा पनि भारतले सम्झौता गर्न चाहेको छ ।

भारतको आनाकानी

प्रधानमन्त्री दाहाल दिल्ली पुगेको पहिलो दिन नै भारतीय पक्षले नेपालका सरोकार सम्वोधन गर्नमा रुची नदेखाएको संकेत देखिएको छ । विहीबार कान्तिपुर दैनिकमा प्रधानसम्पादक उमेश चौहान र राजेश मिश्र नयाँदिल्लीबाट लेख्छन्,‘प्रधानमन्त्री दाहालको भारत भ्रमण सदभावना यात्रामा मात्र सीमित हुने सम्भावना देखिएको छ । नेपालले राखेका मुख्य तीन विषयमा भारत अनुदार देखिएको भन्दै प्रधानमन्त्री दाहालले आफ्नो प्रतिनिधिमण्डललाई पनि पर्खेर मात्र अघि बढ्न निर्देशन दिएका छन् ।’

हेर्नुहोस्– प्रधानमन्त्रीको दिल्ली भ्रमण सदभावनामै सीमित हुने सम्भावना

बुधबार बेलुका होटल मौर्यमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेशसचिव क्वात्रासँगको कुराकानीपछि नेपालका सरोकारलाई सम्वोधन गर्न भारतले चासो नदिएको प्रधानमन्त्री दाहालले छनक पाएका हुन् ।

यो गम्भीर विषय हो : भट्टराई

पहिले एजेण्डा तय भइसकेको विषयमा भारतीय पक्ष पछि हट्न खोजेको हो या नेपाली पक्षले तयारी नै पूरा नभई विषयलाई बाहिर ल्याएको हो भन्ने विषय स्पष्ट हुनुपर्ने कूटनीतिक मामिलाका जानकारको भनाइ छ ।

‘दुईपक्षीय छलफलमा तल्लो तहमा एजेण्डा तय गर्दाखेरि नै भारत र हाम्रो वीचमा त्यस विषयमा प्रस्ताव अगाडि गएको हुन्छ’ परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराई कान्तिपुरटीभी अनलाइनसँग भन्छन्, ‘हाम्रोतर्फबाट प्रस्ताव मात्र राखिएको, उनीहरुका तर्फबाट रेस्पोन्स केही पनि नगरिएको विषयलाई उनीहरुले सहमति गर्ने भए भनेर हाम्रो तर्फबाट बाहिर ल्याइएको हो भने त्यो गलत हो । हाम्रो बुझाइमा त्रुटि रह्यो भन्नुपर्यो ।’

तर, भारतले पहिले सहमति जनाइसकेर अहिले पछाडि हटेको हो भने त्यो नेपालका लागि गम्भीर धोका हुने भट्टराईको भनाइ छ । उनी अगाडि भन्छन्, ‘उनीहरुले यो अगाडि बढाउनैपर्छ, सहमति गर्ने हो भनेर अहिले आएर पछाडि फर्किएका हुन् भने त्यो चाहिँ उनीहरुले गम्भीर धोका दिएको हो ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार एवं नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह(ईपीजी)का सदस्य समेत रहेका भट्टराई थप्छन्, ‘आज सहमति गर्ने विषयमा उनीहरु तयार नभएर वहाँ गएपछि संकेत नकारात्मक दिनु भनेको चाहिँ राम्रो होइन ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement