पशुपतिनाथमा नहुनुपर्ने दुर्भाग्य भयो : गोविन्द टण्डन (भिडियोसहित)

असार ११, २०८० |कान्तिपुर टीभी संवाददाता
पशुपतिनाथमा नहुनुपर्ने दुर्भाग्य भयो : गोविन्द टण्डन (भिडियोसहित)

काठमाडौं । पशुपतिनाथ मन्दिरको केन्द्र भागमा रहेको शिवलिंगमा भक्तजनले चढाएको दूध, पञ्चामृत इत्यादि ज्योतिर्लिंगको जलहरीमा खस्छ । जलहरीलाई हरेक दिन हातले पुछेर सफा गर्नुपर्छ, जसमा पशुपतिका चारजना भट्ट पुजारी बाहेक अरूलाई अधिकार हुँदैन ।

पशुपतिको शिवलिंगमा रहेको चाँदीको जलहरी आजभन्दा १९७ वर्ष पुरानो थियो । तत्कालीन राजा रणबहादुर शाहका पालामा बनेको चाँदीको जलहरी खिइएकाले सफा गर्दा पुजारीको हात काटेर रगत आउन थालेपछि त्यहाँ दुई वर्षअघि करिब एक सय केजीको सुनको जलहरी प्रतिस्थापन गरियो, जुन अहिले विवादमा तानिएको छ । 

आइतबार राति अबेरसम्म लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खानी तथा भूगर्भ विभाग, गुणस्तर नापतौल विभाग, सुनचाँदी व्यवसायी संघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले कडा सुरक्षाका बीच शिवलिंगबाट सुनको जलहरी फुकालेर जोखेका छन् । 

पशुपतिनाथमा सुनको जलहरी राख्न विगतमा गरिएको प्रयास र आइतबार अख्तियारको टोलीको प्रवेशबारे पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिवसमेत रहेका संस्कृतिविद् गोविन्द टण्डनसँग कान्तिपुरकर्मी अस्मिता पराजुलीले संक्षिप्त कुराकानी गरेकी छिन् :   

पशुपति क्षेत्रजस्तो हिन्दुहरूको प्रमुख धार्मिक गन्तव्यमा जलहरी विवादले प्रश्न उब्जाएको छ । यहाँले यसलाई कसरी लिनुहुन्छ ? 

भगवान् पशुपतिनाथ, सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूका लागि परम आस्थाको केन्द्र । नेपालीहरूका लागि राष्ट्रदेव । आराध्यदेवको मन्दिरमा युगौँ युगदेखि चली आएको जुन परम्परा छ, त्यो भन्दा फरक ढंगबाट क्रियाकलापहरू भए । जस्तो– अहिले जलहरीको विषय आइरहेको छ । यसलाई हेर्दाखेरि नहुनुपर्ने दुर्भाग्य, दुर्घटना त्यहाँ भयो ।

मन्दिरजस्तो ठाउँमा त्यसरी जुन विवाद आयो, ल्याइयो, बनाइयो, यो एउटाले गरेको होइन । बनाइएको पनि छ । आएको पनि छ । यसले जनतालाई त्यहाँका बारेमा विभिन्न नकारात्मक कुराहरू छताछुल्ल तुल्याइदियो । यो हामी सबै नेपालीका लागि सुखद पक्ष हो भन्न मिल्दै मिल्दैन । 

जहाँसम्म अहिले पशुपतिनाथमा जलहरीको विषयमा कुरा चलिरहेको छ, समस्या आएपछि, त्यस विषयमा गलत भो भनेपछि छानबिन त हुनैपर्‍यो । हुनै पर्छ, किनभने कसैको दोष छ भने दोषी कारबाहीको भागी हुनुपर्छ । दण्डको भागी हुनुपर्छ । छैन भने उन्मुक्ति पाउनुपर्छ । सधैँ यही विषयमा अलमलिएर बस्नु पनि ठिक छैन । त्यसले झन् धार्मिक क्षेत्रमा एक किसिमको सन्त्रास छाउँछ । त्यसैले सन्त्रास आउन दिनु हुँदैन । 

मैले जानकारी पाए अनुसार पशुपति मन्दिर क्षेत्रमा आइतबार दिउँसो ४ बजेदेखि नै सारा भक्तजनहरूलाई रोकेर, पूरै मन्दिर खाली गरियो । भक्तजनहरूको भीड बाहिर बसिरहेको छ । कोही विदेशबाट आएका छन्, कोही स्वदेशका छन् । उनीहरूले ल्याएको फूल प्रसादी त्यहाँ चढाउन पाएका छैनन् । मलाई इतिहास थाहा भएसम्म अहिलेसम्म पशुपतिनाथ मन्दिरमा त्यसरी कहिल्यै पनि काम भएको छैन । एउटा त छानबिनका लागि काम गर्न उहाँहरूले पनि समय मिलाउन सक्नुपर्थ्यो । पशुपति क्षेत्र विकास कोषले पनि त्योबारेमा जानकारी गराइदिनुपर्थ्यो ।

पहिले के हुने गरेको थियो भने भगवान्‌को आरती सकिएपछि सबै ढोकाहरू लाग्छ, त्यहाँ कसैलाई रोक्नै पर्दैन । त्यसपछि जे जे काम गर्ने हो, जस्तो– पहिला पहिला मार्बल छाउने काम हुन्थ्यो । त्यहाँ बाहिरका मान्छे त जान पाइँदैन । त्यसले गर्दा भट्ट भण्डारीहरू मिलेर टिम बनाएर काम हुने गर्थ्यो, चाहे डकर्मीको काम होस् चाहे सिकर्मीको काम होस् । चाहे जलहरी मिलाउनुपर्ने काम होस् ।

यो (जलहरी) राख्दाखेरि पनि बेलुकाकै समयमा राखेको थियो । तर, अहिले जुन जाँचबुझ भयो, त्यसमा अलिकति समयको ख्याल नगरीकन गरिएको हुनाले मलाई लाग्छ, यसले जनमानसमा भगवान् पशुपतिनाथको मन्दिरमाथि के किसिमको धावा बोलेको हो भन्नेजस्तो एउटा शंका आएको छ । त्यो आउनु राम्रो होइन ।

पशुपतिनाथमा सुनकै जलहरी लगाउनुपर्ने आवश्यकता चाहिँ किन थियो ?

आफ्नो अध्ययनका क्रममा मैले के देखेँ भने म पनि त्यहाँ २०७० सालदेखि २०७४ सालसम्म सदस्यसचिव भएको थिएँ । मैले पहिलोपटक गएर भगवान् पशुपतिनाथमा के समस्या छ भनेर त्यतिखेरको मूल भट्ट महाबलेश्वरम् हुनुहुन्थ्यो, अहिले गणेश भट्टजी हुनुहुन्छ, उहाँलाई सोध्दाखेरि त्यहाँ भगवान्‌को जुन चाँदीको जलहरी छ, त्यो चाहिँ १९७ वर्ष अगाडि श्री ५ रणबहादुर शाहले बनाइदिएको चाँदीको थियो । त्यो चाँदीको जलहरी खिइँदा खिइँदा पूजा गर्दा हात काट्ने, रगत छलछल आउने । त्यहाँ अरूले छुन पाउँदैनन्, भट्टजीहरूले हो । चारजना भट्टजीहरू सधैँ डराएर पूजा गर्नुपर्छ भन्नुहुन्थ्यो ।

त्यसको उपाय के छ त ? चाँदी त त्यसखेर प्रशस्त पशुपति विकास कोषसँगै थियो । त्यहीबाट बनाऊँ न त भन्दा अब चाँदीको के बनाउने, यत्रो सबैको विकास भइरहेको छ, सबैको राम्रो भइरहेको छ, भगवान्‌को पनि अलिकता हेर्नुपर्छ, यत्रो १९७ वर्षपछि गर्न लागेको, हिजोको नेपाल र आजको नेपाल त फरक छ, सुनको गर्नुपर्छ भन्ने कुरा आएपछि त्यतिखेर सुनको कुरा पहिलोपटक त्यसरी चल्यो ।

यो विषयमा त्यतिखेर म सदस्य सचिव छउञ्जेलसम्म त्यतिखेरका तत्कालीन प्रधानमन्त्रीज्यूहरू सुशील कोइरालाजी, त्यतिखेरका राष्ट्रपति विद्या भण्डारीजी, केपी शर्मा ओलीजी, सबैसँग मैले यस्तो छ भनेर कुरा गरेको हो । तर, त्यतिखेर ठूलो खर्च लाग्थ्यो । त्यतिखेरको समय पनि त्यसरी जलहरीमा खर्च गर्ने बेला पनि थिएन । त्यसलाई मनमनै राखिएको थियो । पछि पशुपति क्षेत्र विकास कोषले केही गर्ने, केही नेपाल सरकारले बेहोर्ने भन्यो । त्यो राम्रो कुरा भयो । किनभने त्यो गर्न नहुने भन्ने कुरा छैन । 

सुनलाई हामी विष्णुको अवतार मान्छौं । यसले गर्दा सुन संस्कृति नेपालीमा छ । सानी एउटी बच्चीले नाकमा लगाएको फुली लिएर चोख्याउने चलन छ । यसको यत्रो महत्त्व छ । त्यसैले सुन राख्नु भनेको अलिकति आकर्षण दिनु पनि हो । अलिकति समय अनुसार चल्नु पनि हो । किनभने, संस्कृति भनेको त समय अनुसार चल्दै जानुपर्छ ।

यसले गर्दा यसमा विवाद हुनु नपर्ने हो, विवाद आयो त्यतिखेर । त्यो आएको कारणले हतार–हतारमा काम हुँदाखेरि हाम्रो उखानै छ, हतारमा गरेको कामले विभिन्न किसिमको समस्या ल्याउँछ । अहिले करिब दुई वर्षदेखि पशुपतिको जलहरीको विषयमा पवित्र मन्दिरमा पनि यस्तो हुन्छ भन्ने जुन नकारात्मक सन्देश समाजमा फैलिएको छ, त्यसको निराकरण यथाशक्य चाँडो हुनुपर्छ ।

छानबिन हुनुपर्छ भनेर संसद्मा पनि कुरा उठ्यो । तर, यसरी सुरक्षा निकायले ढोका बन्द गरेर बन्द कोठाभित्र जाँचबुझ गरिनुचाहिँ कत्तिको उपयुक्त हुन्छ ?

मैले अघि नै भनिसकेँ । यसरी चाहिँ कहिल्यै पनि पशुपतिनाथ मन्दिरमा भक्तजनहरूलाई यसले हित–अहित के गर्छ भन्ने कुरा हेरिन्छ । त्यसपछि मन्दिरको नित्य पूजालाई खण्डित गर्छ कि गर्दैन, त्यो हेरिन्छ । किनभने कुनै पनि काम त्यसरी गर्ने चलन छैन । जस्तो आज भयो कि भएन त भनेर प्रश्न गर्ने हो भने दिउँसो साढे २ बजेदेखि ढोका लाग्छ । त्यसपछि करिब साढे ५ बजे भक्तजनहरू जान थाल्छन्, गार्डले ढोका खोलेको हुन्छ ।

मैले थाहा पाएसम्म अहिलेसम्म त्यहाँ कसैलाई जान दिइएको छैन । भनेपछि त लामो समयसम्म भक्तजनहरूले त्यहाँ जान पाएनन् । भगवान्‌को पूजा आजा अवरुद्ध भयो । त्यसले नित्य पूजालाई नै बाधा पर्यो । अब बेलुकाको आरती गर्ने कि नगर्ने ? किनभने अनुसन्धान भनेको त एक घण्टामा सकिन्छ भन्ने हुँदैन । त्यसलाई चार घण्टा पनि लाग्ला, पाँच घण्टा पनि लाग्ला ।

फेरि, जलहरी बाहिरपट्टि होइन, भगवान्‌को शिवलिंगमा यथावत् छ । त्यसलाई निकाल्ने, राख्ने सारा गर्नलाई एक रात हैन, दुई रात लाग्न सक्छ । यसैले सबै कुरा हेरेर, अध्ययन गरेर काम गर्नुपर्ने थियो । यो चाहिँ अलिकति केटाकेटीपनको काम भयो । बुझ्नेले बुझाउन सकेन या बुझ्नेले बुझेन, त्यो हामीले भन्ने कुरा भएन । अनुसन्धानमा संलग्नहरूले नै जान्ने कुरा हो ।

यो अनुसन्धान टुंगो लाग्ला ?

टुंगो त पाउनै पर्छ । किनभने, एउटा समस्या आइसकेपछि यो जत्तिको समाधानको अर्को उपाय त छैन । त्यसलाई नाप्ने नै हो । अब करिब १० किलो चानचुनको कुरा आइरहेको छ । त्यो भनेको ६, ७ करोडको कुरा आउँछ । अब भगवान् पशुपति नाथमा अथवा देवस्थलहरूमा अथवा कहीँ पनि गुठीमा एक दाम बराबरको पनि देवस्व लाग्छ भन्ने देवस्व लाग्छ भन्ने चलन छ । यसैले देवस्व जस्तो चिजमा ख्याल ख्याल गर्न नहुने ।

नेपालमा देवस्व र राजस्व अलग अलग हुन्थ्यो । गुठीको पैसा कहिल्यै पनि राजस्वमा जाँदैन । यस्तो कुराले गर्दाखेरि मान्छेहरूलाई अलिकति उद्वेलित बनाएको, साथै नकारात्मक सोच बढाएको, धर्मभीरुहरुलाई पनि धार्मिक स्थलमा यस्तोसम्म हुँदो रहेछ भन्ने कुरा अहिले आइरहेको छ । यसको समाधान आउनु राम्रो हुन्छ ।   

सम्बन्धित समाचार... 

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको विवादले राजनीतिमा तरंग

जलहरीबारे कोषका सदस्यसचिवले रूँदै भने, ‘१० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ’

पशुपतिमा पस्यो अख्तियार

पशुपतिमा रातभर तलासी, अख्तियारले निकाल्यो सुनको जलहरी

पशुपतिनाथको जलहरीको सुन जोखियो, एक सय ७ किलो ४६८ ग्राम तौल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.