क्रसर उद्योगका बढ्दो गतिविधिले इन्द्रावती र सुनकोशी नदीमा माछा पाउन छाडे

माझी समुदायको संस्कृति, जीविका र अस्तित्व नै संकटमा
कार्तिक १५, २०८२ |कमला पाख्रिन
क्रसर उद्योगका बढ्दो गतिविधिले इन्द्रावती र सुनकोशी नदीमा माछा पाउन छाडे

सिन्धुपाल्चोक । एउटा यस्तो समय थियो जहाँ नदीसँग गाँसिएको जीवनशैलीमा पानीसँगै जीवन फस्टाउँथ्यो। 

सिन्धुपाल्चोकको इन्द्रावती र सुनकोशी नदी किनारमा बसोबास गर्ने माझी समुदायको संस्कृति, जीविका र अस्तित्व यस्तै जीवनशैलीको उदाहरण थियो । तर अव्यवस्थित क्रसर उद्योगका बढ्दो गतिविधिले यो समुदायको मौलिकता नै संकटमा परेको छ ।

सिन्धुपाल्चोक भीमटारका पदमबहादुर माझी जीवनमै पहिलो पटक खोला छिरेर माछा मार्दा ८ वर्षको हुनुहुन्थ्यो । त्यो बेला जता जाल फाल्यो, माछा जालमा पर्दथ्यो । तर अचेल दिनभर जाल घिसार्दा पनि आधा पाउ माछा भेटिए ठूलो कुरा लाग्न थालेको छ उहाँलाई ।

इन्द्रावतीकै पानीमा जीवन खोजिरहेका नवराज माझी माछा पाउन छाडे तर खोला धाउन छाड्नुभएको छैन । तर अहिले, जालामा माछा होइन, निराशा पर्छन् । कारण हो इन्द्रावती खोलामा फैलिँदै गएको क्रसर उद्योग । दोलालघाटदेखि मेलम्चीसम्म २४ वटाभन्दा बढी क्रसर उद्योग सञ्चालनमा छन् । 

यिनले दैनिक गिटी, बालुवा उत्खनन गर्दा खोलाको धार नै परिवर्तन भइरहेको छ । पहिले खोलामा लेउ, झ्याउ हुन्थ्यो, माछाले त्यही खाएर बााच्थ्यो । अब क्रसरले ती ठाउँ नै मासिदिएकाले माछा पाउन छाडेको अनुभव माझी समुदायलाई छ । वातावरण विभागले विगतमा गरेको अध्ययनले मध्यम तथा साना खोलाहरूमा माछाको प्रजनन् दरमा ३० प्रतिशतले कमी आएको देखाएको छ । 

सिन्धुपाल्चोकको बोर्ड गाउँका माछा मारेर जीविका चलाउने ४ परिवार गाउँ छाडेर गइसेका छन् । २४सै घण्टा चल्ने क्रसरको आवाजले माझी समुदायको जिन्दगी नै धमिलो बनाइरहेको छ, इन्द्रवतीको पानीजस्तै । पहिले उनीहरूले बनाएका डुङ्गा, खोगा, ढडियाहरू अहिले थन्किएको साइली माझी बताउनुहुन्छ ।

परम्परागत पेशा, नदी संस्कृति र माझी समुदायको पुख्र्यौली पेशा संकटामा परेकाे छ । संघीय र स्थानीय सरकारले विकास र आन्तरिक आम्दानीको नाममा वातावरणीय सन्तुलनलाई बिर्सिँदा, एउटा समुदायको परम्परागत पेशा र संस्कृति नै जोखिममा परेको हो ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।