जलहरीबारे कोषका सदस्य-सचिवले रूँदै भने, ‘१० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ’

जेष्ठ ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
जलहरीबारे कोषका सदस्य-सचिवले रूँदै भने, ‘१० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ’

काठमाडौं । पशुपतिनाथमा चढाइएको जलहरीबारे पशुपति क्षेत्र विकास कोषले स्पष्टीकरण दिएको छ ।

मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिएका हुन् । सो क्रममा उनले भने, ‘ठीक छ । यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्यु दण्ड लिन तयार छु ।’

पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको सदस्य–सचिव थापाको दाबी छ । सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताउदै थापाले भने, ‘म यो सुनको जलहरी चढाउँदाको समितिको संयोजक हुँ । हामीले नेपाल राष्ट्र बैंकको सम्झौता अनुसार हामीले सुन ल्याएर राखेका छौँ- १ सय तीन केजी ।’ उनले रूँदै अगाडि भने, ‘त्यतिखेर हामी राज्यको निकायबाट मनोनित कर्मचारी हो । राज्यको प्रमुखहरूले जे निर्देशन दिनु भएको थ्यो त्यो गरेर हामीले के गलत गर्‍यौँ ?’

थापाले आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै आँशु झारे ।

तत्कालीन प्रधानमन्त्री केपी ओली र त्यसबेलाका राष्ट्रपति विद्या भण्डारीको निर्देशनमा आफूहरुलाई शिवरात्री भरीमा त्यो सकाउनु भनिएको र सोही निर्देशनअनुसार काम सम्पन्न गरिएको सदस्य-सचिव थापाको भनाइ छ । उनले नेपाली सेनालाई विश्वास गर्ने कि नगर्ने भन्दै प्रश्न गरे । ‘यो सुनको जलहरीमा नेपाली सेना २४ घण्टा ड्यूटीमा रहेको भिडियोहरू अहिले यदाकथा अनलाइनमा आईरहेको छ । सेनालाई विश्वास गर्ने कि नगर्ने ?’, उनले भने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.