पशुपतिमा रातभर तलासी, अख्तियारले निकाल्यो सुनको जलहरी

असार १०, २०८० |श्रृजना बास्तोला|रमेश धमला
पशुपतिमा रातभर तलासी, अख्तियारले निकाल्यो सुनको जलहरी

काठमाडौं । दिउँसोसम्म सबै दर्शनार्थीले भरिभराउ पशुपतिनाथ मन्दिर परिसरलाई तीनबजेपछि एकाएक खाली गराइयो । मन्दिरबाट दर्शनार्थीलाई हटाएपछि अख्तियारको टोली खानी तथा भूगर्भ, पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुनचाँदी व्यवसायी महासंघ र सुरक्षा निकायका प्रतिनिधिहरु लिएर मन्दिर प्रवेश गर्यो ।

हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथमै भ्रष्टाचार भएको आशंकामा अनुसन्धान गर्न अख्तियारको टोली मन्दिरमै पुगेको हो । अनियमितताको अनुसन्धानका लागि अख्तियार मन्दिर प्रवेश गरेको संभवतः यो पहिलो घटना हो । 

 पशुपतिनाथको मन्दिरमा राखिएको सुनको जलहरीमा भएको भनिएको अनियमिततामाथिको अनुसन्धानले बल्ल तीव्रता पाएको छ । अनियमितताको उजुरीमाथि डेड वर्षदेखि अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीका लागि खरिद गरिएको ११ किलो सुन गायब पारिएको विषयलाई केन्द्रमा राखेको छ । जलहरीकै तौल र गुणस्तर मापन गरेर टुंगोमा पुग्ने अख्तियारको तयारी छ ।

यो अवस्था कसरी आयो ?

करिब डेढ वर्षदेखि अनुसन्धान गरिरहेको अख्तियार मुद्दाको टुंगो लगाउने गरी तौल मापनमा जुटेको हो । महालेखापरीक्षकको प्रतिवेदनमा समेत जलहरीमा ११ किलो सुनको हिसाब नदेखिएको उल्लेख छ । २०७७ साल माघ १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा संकल्प पूजा गरेर एक अर्बको जलहरी राख्ने घोषणा गर्दै सरकारले ३० करोड दिने निर्णय गराएका थिए । सरकारले दिएको रकममा पशुपति क्षेत्र विकास कोषले ५० करोड थप गरेर १ सय ८ किलोको जलहरी राख्ने निर्णय गरेको थियो ।

त्यसका लागि तत्कालीन कोषाध्यक्ष मिलन थापाको नेतृत्वमा समिति बन्यो र फागुन ११ गते जलहरी राखियो । तर राखिएको तीन दिनमै चुँडिएपछि गणस्तरमा प्रश्न उठेको हो । १ सय ८ केजी राख्ने भनिए पनि ११ किलो कम राखेको भन्दै अख्तियारमा उजुरी परेपछि अनुसन्धान चलिरहेको छ ।

पशुपति विकास काेषका पूर्वसदस्य सचिव एव‌ं संस्कृतिविद गोविन्द टण्डनका अनुसार भक्तजनलाई बाहिर रोकेर यसरी पशुपतिनाथमा अनुसन्धान गरिएको इतिहासकै पहिलो घटना हो ।

जलहरीको विषयमा सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो !

ओलीपछि शेरबहादुर देउवाको पालामा कोषको सदस्य सचिवमा नियुक्त गरिएका थापा अख्तियारले बयानका लागि बोउलाउँदा समेत जान अटेर गरे । जलहरी राख्न संलग्न तत्कालीन पदाधिकारी सबैको बयान लिइसकेको अख्तियारले राष्ट्रबैंकबाट खरिद गरेको सुनको परिमाण र जलहरीमा राखिएको सुनको परिमाण निर्क्यौल गरी मुद्दा लैजाने तयारी गरेको गरेको छ ।

नक्कली भुटानी शरणा शरणार्थी प्रकरणको अनुसन्धान चलिहेकै बेला जलहरीको विषय समेत संसदमा उठेपछि एमालेले संसद नै अवरुद्ध गरेको थियो ।

राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बयानका लागि पुगेका सदस्य सचिव थापाले जलहरीमा अनियमितता नभएको दाबी गरे । अनियमितता भएको भए फाँसी चढ्न तयार रहेको भन्दै उनी समितिमै रोएका थिए ।

जलहरीबारे कोषका सदस्य-सचिवले रूँदै भने, ‘१० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ’

यसअघि जलहरी राख्ने क्रममा २८ जना उपस्थित रहेको भनिए पनि मुल पूजारीसहित ६ जना भट्टले त्यतिबेलाको मुचुल्कामा हस्ताक्ष‍र गरेका छैनन् । अख्तियारले ती भट्टहरुसँग पनि बयान लिइसकेको छ ।

सडकदेखि सदनसम्म चर्चा भएपछि जलहरी जोख्न मन्दिर पुगेको अख्तियारको अनुसन्धान कति तथ्यपरिक हुन्छ भन्नेमा सबैको चासो छ ।

थप...

पशुपतिको जलहरी परीक्षणका लागि दुई दिन लाग्ने

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको विवादले राजनीतिमा तरंग
पशुपतिको जलहरीबारे अख्तियारले छानबिन गर्नेछ : प्रधानमन्त्री
संसदको अवरोध खुलाउन एमाले सहमत, जलहरीबारे प्रधानमन्त्रीले सम्बोधन गर्ने


Image

श्रृजना बास्तोला

बास्तोला कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।

Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।