पशुपतिमा पस्यो अख्तियार, सुनको जलहरी जोखिँदै

असार १०, २०८० |कान्तिपुर टीभी संवाददाता
पशुपतिमा पस्यो अख्तियार, सुनको जलहरी जोखिँदै

काठमाडौं । पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर कम भएको भन्दै परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अनुसन्धानका क्रममा आज सुनको जलहरी जोखिने भएको छ ।

अख्तियारका अनुसन्धान अधिकारीको रोहबरमा सुनचाँदी व्यवसायी संघका पदाधिकारी एवं विज्ञका साथै खानी तथा भूगर्भविभागका अधिकारीहरु र पशुपति विकास कोषका पदाधिकारीलाई समेत राखेर सुनको जलहरी तौलने र गुणस्तरसमेत जाँच्ने कार्यक्रम रहेको अख्तियार स्रोतले बतायो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पशुपतिनाथमा राखिएको १०८ किलोको सुनको जलहरीमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

महालेखा परीक्षकको प्रतिवेदनले पनि करिब ११ किलो सुन कम प्रयोग भएको भन्दै अनियमितताको संकेत गरेको थियो ।

जलहरी काण्डबारे यसबारे संसदीय समितिले पशुपति विकास कोषका कर्मचारीलाई बोलाएर सोधपुछसमेत गरेको थियो । त्यहाँ राखिएको सुन हिनामिना भएको समाचार प्रकाशन भएपछि संसदमा समेत प्रश्न उठेको थियो ।

तत्कालीन प्रधानमन्त्री ओलीले करिब एक अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गर्दै त्यसका लागि सरकारका तर्फबाट ३० करोड दिने घोषणा गरेका थिए । लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो ।

सुनको जलहरी राख्ने विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन लागेको थाहा पाएपछि तत्कालीन सरकारले हतार–हतार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत उद्घाटन गराएको आरोप लाग्दै आएको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.