पशुपतिनाथको जलहरीको सुन जोखियो, एक सय ७ किलो ४६८ ग्राम तौल

असार ११, २०८० |कान्तिपुर टीभी संवाददाता
पशुपतिनाथको जलहरीको सुन जोखियो, एक सय ७ किलो ४६८ ग्राम तौल

काठमाडौं । अनियमितताको उजुरीपछि अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रातभर पशुपतिनाथको जलहरीको सुन निकालेर तौल लिएको छ ।

अख्तियारले जलहरीमा राखिएको एक सय ७ किलो ४ सय ६८ ग्राम सुन जोखेको छ । सुन जोख्ने स्थानमा खटिएका पशुपति क्षेत्र विकास कोषका एक अधिकारीले जलहरीमा राखिएको एक सय ७ किलो ६८ ग्राम जोखिएको जानकारी दिए । उनकाअनुसार राति सवा एक बजेसम्म सुनको तौल लिइएको थियो ।

अख्तियारको टोलीका साथै खानी तथा भूगर्भ, पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुनचाँदी व्यवसायी महासंघ र सुरक्षा निकायका प्रतिनिधिहरुसम्मिलित टोलीले जलहरीको सुनको तौल लिएको हो ।

जलहरी निकाल्नुअघि मन्दिरमा आरती गरिएको थियो । परीक्षणका बेला सेना र प्रहरीले पहरा दिएका थिए । जलहरीको तौल तथा गुणस्तर परीक्षण भएको र विवरण आएपछि थपकुरा जानकारी हुने अख्तियारले जनाएको छ । पशुपतिनाथ मन्दिरमा हिजो दिउँसो दर्शनार्थीको प्रवेशमा रोक लगाएर जलहरी निकालिएको थियो ।

दुई वर्षअघि पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको थियो । भ्रष्टाचारको आशंकामा डेढ वर्षदेखि अनुसन्धान गरिरहेको अख्तियारको टोली सोमबार दिउँसो पशुपतिनाथको मन्दिरमै पुगेको थियो । जलहरीका लागि खरिद गरिएको ११ किलो सुन गायब पारिएको विषयलाई अख्तियारले केन्द्रमा राखेको छ ।

२०७७ साल माघ १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा संकल्प पूजा गरेर एक अर्बको जलहरी राख्ने घोषणापछि १ सय ८ किलोको जलहरी राखिएको थियो । त्यसमा सरकारले ३० करोड रुपैयाँ दिने निर्णय गरेको थियो भने पशुपति क्षेत्र विकास कोषले ५० करोड रुपैयाँ थपेर सुनको जलहरी राख्ने निर्णय भएको थियो । यो निर्णयसँगै २०७७ फागुन ११ गते जलहरी राखिएको थियो ।

जलहरी राख्न तत्कालीन कोषाध्यक्ष मिलन थापाको नेतृत्वमा समिति बनेको थियो । तर राखिएको तीन दिनमै चुँडिएपछि गुणस्तरमा प्रश्न उठेको थियो भने एक सय ८ किलो सुन राखिएको भनिएपनि ११ किलो कम राखिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । महालेखा परीक्षकको प्रतिवेदनमासमेत जलहरीमा ११ किलो सुनको हिसाब नदेखिएको उल्लेख छ ।

पशुपतिको जलहरीका लागि ८० करोडभन्दा बढीको लगानीमा राष्ट्र बैंकबाट एक सय ३ किलो ७ सय ९३ ग्राम सुन किनिएको थियो।  

यो पनि...

पशुपतिमा रातभर तलासी, अख्तियारले निकाल्यो सुनको जलहरी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.