निर्वाचनपछि भड्किएको हिंसाका कारण तान्जानियामा ३ दिनमा ७ सय मानिस मारिएको आशंका

अनावश्यक बल प्रयोग नगर्न सुरक्षा बललाई राष्ट्रसंघ र पश्चिमा मुलुकको आग्रह
कार्तिक १५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
निर्वाचनपछि भड्किएको हिंसाका कारण तान्जानियामा ३ दिनमा ७ सय मानिस मारिएको आशंका

काठमाडौं । अफ्रिकी मुलक तान्जानियामा बुधबारको आमनिर्वाचनपछि भड्किएको हिंसामा तीन दिनको अवधिमा सयौं मानिस मारिएको आंशका गरिएको छ । 

तान्जानियाभर इन्टरनेट बन्द भएका कारण यकिन संख्याबारे जानकारी पाउन नसकिएको बीबीसीले जनाएको छ । विपक्षी चाडेमा पार्टीका प्रवक्ताले सुरक्षाफौजसँगको झडपका कारण ७ सय मानिस मारिएको दाबी गरेका छन् । तान्जानियास्थित कूटनीतिक स्रोतहरूले पनि कम्तीमा पनि ५ सय जना मारिएको जनाएको बीबीसीले जनाएको छ ।

निर्वाचन निष्पक्ष नभएको दाबी गर्दै तान्जानियाका विभिन्न सहरमा युवा प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । उनीहरूले सरकारले मुख्य विपक्षी दलका नेतालाई दबाएर लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाएका छन् । सोहीकारण राष्ट्रपति सामिया सुलुह हसनको सत्तारुढ चामा चा मपिनदुजी-सीसीएम पार्टी विजयी हुने निश्चितजस्तै रहेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले तान्जानियाका सुरक्षा बललाई अनावश्यक बल प्रयोग नगर्न आग्रह गरेको छ भने बेलायत, क्यानडा र नर्वेले अधिकतम संयमका साथ काम गर्न र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेका छन् ।