आजदेखि हर्मुज समुद्री मार्गमा अमेरिकाको नाकाबन्दी

वैशाख १, २०८३ |अन्तर्राष्ट्रिय ब्युरो
आजदेखि हर्मुज समुद्री मार्गमा अमेरिकाको नाकाबन्दी

काठमाडौं । अमेरिकाले मंगलबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ । 

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले सैन्य नाकाबन्दी लागू भएको बताउनुभएको हो । नाकाबन्दी लागू भए पनि सम्झौताका लागि इरानलाई अवसर भने रहेको ट्रम्पले बताउनुभएको छ । यता अमेरिकाको यो कदमसँगै हर्मुज समुद्री मार्गको नाकाबन्दीको विरोधमा थुप्रै इरानीहरू सरकारलाई साथ दिँदै राजधानी तेहरानको सडकमा उत्रिएका छन् । 

इरानले पनि अमेरिकालाई यो नाकाबन्दी युद्धविरामको उल्लंघन भएको भन्दै कडा कदम चाल्ने चेतावनी दिएको छ । बीबीसीका अनुसार नाकाबन्दीका लागि अमेरिकी सेनाले अमेरिकी युद्धपोत 'यूएसएस अब्राहम लिंकन'लाई ओमानको खाडीको पूर्वी किनारमा तैनाथ गरेको छ । 

यो इरानको तटबाट लगभग २ सय किलोमिटर दक्षिणमा पर्छ । वार्ता र शान्तिको नजिक पुगेका इरान-अमेरिका पुनः आमनेसामने हुँदा यसले प्रत्यक्ष प्रभाव भने तेलको मूल्यमा पारेको छ । कच्चा तेलको मूल्य पुनः १ सय डलर प्रतिब्यारलभन्दा माथि पुगेको छ ।