हर्मुज जलमार्गमा अमेरिकी नाकाबन्दीप्रति चीनको कडा आपत्ति

वैशाख १, २०८३ |अन्तर्राष्ट्रिय ब्युरो
हर्मुज जलमार्गमा अमेरिकी नाकाबन्दीप्रति चीनको कडा आपत्ति

काठमाडौं । इरानको हर्मु्ज जलमार्गमा अमेरिकाले गरेको नाकाबन्दीप्रति चीनले कडा आपत्ति जनाएको छ ।

अमेरिकी कदमलाई चीनले गैरजिम्मेवारपूर्ण कदमका रूपमा व्याख्या गरेको छ । यसले क्षेत्रीय तनाव थप चर्काउने र नाजुक युद्धविरामलाई झनै कमजोर पार्ने चेतावनी चीनले दिएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इरानी बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने जहाजहरूलाई लक्षित गर्दै कडा सैन्य कारबाहीको चेतावनी दिएपछि बेइजिङले यस्तो प्रतिक्रिया दिएको हो । 

शान्ति वार्ता निष्कर्षविहीन बनेपछि ट्रम्प प्रशासनले खाडी क्षेत्रमा इरानी बन्दरगाह र तटीय मार्गहरूमा आवतजावत गर्ने जहाज अवरुद्ध गर्ने निर्णय गरेको थियो । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराममा सहमति भए पनि फेरि नाकाबन्दी कार्यान्वयनमा आएको हो । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा अमेरिकाले सैन्य उपस्थिति बढाउँदै लक्षित नाकाबन्दी लागू गर्नुले तनाव कम गर्नुको सट्टा झन् बढाउने धारणा व्यक्त गर्नुभयो । उहाँले यस्तो कदमले पहिले नै संवेदनशील अवस्थामा रहेको युद्धविरामलाई कमजोर बनाउने मात्र नभइ हर्मुजबाट हुने अन्तर्राष्ट्रिय जलयातायातको सुरक्षामा समेत गम्भीर जोखिम उत्पन्न गर्ने बताउनुभयो । 

यस्तो व्यवहारले अन्तर्राष्ट्रिय स्थिरता र शान्ति प्रयासलाई क्षति पुर्‍याउने भएकाले यसलाई जिम्मेवार कदम मान्न नसकिने चीनको तर्क छ । यसैबीच, संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले अमेरिकी कदमलाई आफ्नो देशको सार्वभौमसत्तामाथिको गम्भीर उल्लंघनको संज्ञा दिनुभएको छ ।