
काठमाडौँ । अमेरिकाले नाकाबन्दी हटाएको र युद्ध समाप्त गरेको खण्डमा हर्मुज समुद्रीमार्गबाट आफ्नो नियन्त्रण छोडिदिने इरानले प्रस्ताव गरेको छ । साथै आणविक कार्यक्रमबारे भने अर्को चरणमा छलफल गर्न सकिने इरानको प्रस्ताव रहेको दुई अमेरिकी क्षेत्रीय अधिकारीलाई उद्धृत गर्दै एपीले उल्लेख गरेको छ ।
तर युद्ध समाप्तिका लागि इरानी आणविक कार्यक्रमको पूर्ण अन्त्य हुनुपर्ने माग गरिरहेका अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भने यो प्रस्ताव स्विकार्ने सम्भावना निकै न्यून छ ।
अहिले अमेरिका-इरानबीच युद्धविराम भए पनि यो निकै कमजोर आधारमा टिकेको छ । हर्मुज मार्गमा दुवैले आआफ्नो नियन्त्रण बनाइराखेका छन् । अमेरिकी नाकाबन्दीले इरानलाई आफ्नो तेल बेच्न अवरोध पुर्याएको छ जसले इरानी अर्थतन्त्रलाई क्षतविक्षत बनाइरहेको छ ।
यता हर्मुज बन्द हुँदा तेलको मूल्य आकाशिएको छ जसले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आसन्न मध्यावधि निर्वाचनअघि ठूलो दबाब दिइरहेको छ ।