
काठमाडौं । ४४ दिनअघि सुरू भएको युद्ध अन्त्यका लागि इस्लामाबादमा भएको अमेरिका-इरानबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।
शनिबार सुरू भएको वार्ता आइतबार बिहानसम्म २१ घन्टा चल्दा दुवै पक्षबाट विभिन्न दस्तावेज आदानप्रदान हुँदै व्यापक छलफल भयो । तर, सहमति हुन सकेन । शनिबार अमेरिकी टोली पाकिस्तानमा अवतरणपछि वार्ता असफल हुँदासम्म के-के भयो ?
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको चालिसौं दिनमा गत अप्रिल ८ मा भएको दुई साताको अस्थायी युद्धविरामलाई स्थायी शान्तिमा परिणत गर्न भएको अमेरिका-इरान वार्ता सहमतिमा पुग्न सकेन । शनिबार सुरू भएको वार्ता आइतबार बिहानसम्म कुल २१ घन्टा चल्यो ।
दुवै पक्षका प्रस्तावमाथि लामो छलफल भयो । तर, सहमति हुन सकेन । अमेरिकी टोलीको नेतृत्व गर्नुभएका उपराष्ट्रपति जेडी भान्सले वार्ता सहमतिमा पुग्न नसकेको घोषणा गर्नुभयो । इरानमाथि परमाणु कार्यक्रम त्याग्न दबाब दिने उद्देश्यले अमेरिका र इजरायलले गत फेब्रुअरी २८ का दिन संयुक्त आक्रमण गरेका थिए ।
त्यसपछि इरानले पनि पश्चिम एसियास्थित अमेरिकी सैन्य केन्द्र र इजरायलमाथि लगातार प्रत्याक्रमण गर्दै आएको छ । त्यसयताका ४० दिनमा इरान, इजरायल र लेबनानमा ठूलो जनधनको क्षति भइसकेको छ भने इरानले हर्मुज जलमार्गमा अवरोध गर्दा विश्व अर्थतन्त्रको चक्र नै खलबलिन थालेको छ ।
पाकिस्तानको मध्यस्थतामा गत ८ अप्रिलमा भएको दुई साताको अस्थायी युद्धविरामलाई स्थायी शान्तिमा परिणत गर्न इस्लामाबादमा पहिलो पटक सिधा वार्ता भयो । जसमा अमेरिकाले इरानले आणविक हतियारको महत्वाकांक्षा त्याग्नुपर्ने, हर्मुज मार्ग निर्वाध सञ्चालन गर्न दिनुपर्ने लगायतका १५ बुँदे प्रस्ताव अघि सारेको थियो भने इरानले हर्मुजमाथिको नियन्त्रण, युद्धमा भएको विध्वंशको क्षतिपूर्ति लगायतका १० बुँदे प्रस्ताव अघि सारेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले दुई देशबीच धेरै मुद्दाहरूमा समझदारी बने पनि दुईदेखि तीन महत्वपूर्ण विषयमा मतभेद कायमै रहेको बताउनुभएको छ । वार्ता असफल भएसँगै फेरि युद्धकै अवस्था दोहोरिनसक्ने स्थिति बनेको छ भने विश्व अर्थतन्त्रमा यसको प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।
त्यसैगरी अस्थायी युद्धविरामले घट्न सुरु भएको तेलको मूल्य फेरि बढ्ने देखिन्छ ।