बेलायती राजा चार्ल्स चारदिने भ्रमणका क्रममा अमेरिकामा

वैशाख १६, २०८३ |अन्तर्राष्ट्रिय ब्युरो
बेलायती राजा चार्ल्स चारदिने भ्रमणका क्रममा अमेरिकामा

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयले बदलिँदो विश्व परिवेशमा साझा चुनौतीहरू सामना गर्न अमेरिकासँग मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

अमेरिकाको भ्रमणका क्रममा वाशिङटनमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै राजा चार्ल्सले अन्तर्राष्ट्रिय गठबन्धनहरूको महत्त्व, विशेषगरी नाटोजस्ता संरचनाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । त्यस्तै, युक्रेनमाथि रुसको आक्रमणविरुद्ध निरन्तर खडा हुनु आवश्यक रहेको पनि उहाँले बताउनुभयो । 

उहाँले आफ्नो सम्बोधनमा इरान वा युद्ध तनावको सीधा उल्लेख नगरे पनि लन्डन र वासिङ्टनबीचको ऐतिहासिक सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । रात्रिभोजमा ट्रम्पले इरानलाई सङ्केत गर्दै आफूहरूले ‘विशेष प्रतिद्वन्द्वीलाई सैन्य रूपमा पराजित गरेको’ दाबी गर्नुभयो। 

यसमा राजा चार्ल्स तृतीय पनि आफ्नो विचारसँग सहमत रहेको दाबी गर्दै उहाँले इरानलाई कहिल्यै आणविक हतियार विकास गर्न नदिने अडान दोहोर्‍याउनुभयो । तर, सम्बोधनका क्रममा चार्ल्सले यस विषयमा समर्थन जनाएको कुनै सङ्केत देखिएन ।

यसअघि कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै चार्ल्सले लोकतान्त्रिक मूल्य, कानुनी शासन र शक्ति सन्तुलनको सिद्धान्तप्रति बेलायतको प्रतिबद्धता दोहोर्‍याउनुभएको थियो । उहाँले म्याग्नाकार्टाको सन्दर्भ उल्लेख गर्दै यसले अमेरिकी न्याय प्रणालीमा समेत प्रभाव पारेको बताउनुभयो ।

चार दिने भ्रमणअन्तर्गत शाही दम्पती न्युयोर्क प्रस्थान गर्नुभएको छ । त्यसपछि उहाँ बर्मुडातर्फ प्रस्थान गर्ने तालिका रहेको छ ।