
पाल्पा । भदौ १० गतेको भोटेकोशी बाढीबाट अति प्रभावित पालिका हो रसुवाको उत्तरगया ।
केही दिनअघिसम्म रसुवा र नुवाकोटबाट बाँच्न सफल भएकाहरू उत्तरगया गाउँपालिकाका विभिन्न सेल्टरमा आश्रय लिइरहेका थिए । अहिले भने नुवाकोटका पीडितहरूमध्ये अधिकांश आफ्नै जिल्ला फर्केका छन् । उत्तरगयाका विस्थापितहरूलाई होल्डिङ सेन्टर सञ्चालन गरी खाना तथा बासको व्यवस्थापन गरिएको छ ।
भदौ १० गतेको बाढीबाट रसुवाको उत्तरगया गाउँपालिकाबाट ६ सय जनाभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् भने ५ सय ६७ भन्दा धेरै घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । सबैभन्दा धेरै क्षति वडा नम्बर १, २, ४ र ५ मा भएको छ ।
गाउँपालिकाका अनुसार यो विवरण पनि अन्तिम होइन । बाढीबाट पूर्ण विस्थापित भएकाहरूलाई गणेश, सिम्ले, शिवालय अधारभूत र नीलकण्ठ माध्यमिक विद्यालयमा सेल्टर स्थापना गरी राखिएको छ । मुलुकभरबाट प्राप्त राहत सामग्रीसहित गाउँपालिकाबाट दिनसक्ने राहत पीडित परिवारलाई दिएको छ ।
आगामी दिनमा अस्थायी सेल्टर बनाउने, दीर्घकालीन पुनर्स्थापना, उत्पादन र रोजगारीमा फर्काउने भन्ने विषयमा तीन तहकै सरकारबीच छलफल अघि बढाइएको छ । बाढीले पुलहरू बगाएपछि प्रभावित सबै क्षेत्रमा जान समस्या छ । राहत नजुटेको होइन तर विस्थापितहरूले आश्रय लिएको स्थानसम्म पुग्ने सडक राम्रो नहुँदा समस्या छ ।
बाढीले कटान गरेको क्षेत्रसम्म तत्काल सडक जोड्न समस्या रहेको प्राविधिकहरू बताउँछन् । अस्थायी सेल्टरमा बसेकाहरू अधिकांशको घर बगेको छ, आफन्त बेपत्ता छन् । केहीले बेपत्ता आफन्तजनको काजकिरिया गरिसकेका छन् भने कतिपय काठमाडौंमा गएका छन् ।
२०७८ सालको जनगणना अनुसार उत्तरगयाको जनसङ्ख्या ८ हजार ५ सय ५५ छ । भाडामा रहेको गाउँ कार्यपालिकाको कार्यालय वडा नं ५ कैदलेटारमा थियो जुन बाढीले बगाइदिएको छ । सबैभन्दा बढी क्षति भएको बेत्रावती, सिम्ले, कैदेलटार, नौविसेलगायत यही वडामा पर्छ ।