प्रदेश बजेट : कृषि, पर्यटन, रोजगारी र पूर्वाधार विकास मुख्य प्राथमिकता

पुरानै कार्यक्रममा नयाँ नारा
असार १, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश बजेट : कृषि, पर्यटन, रोजगारी र पूर्वाधार विकास मुख्य प्राथमिकता

काठमाडौं । पूर्वाधार विकास, कृषि, पर्यटन, रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिँदै प्रदेश सरकारहरुले आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । स्थानीय उत्पादनलाई प्रवर्धनको नीति पनि प्रदेशहरुले अघि सारेका छन् ।

सुदूरपश्चिम सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई लक्षित गरी उद्यमशीलता प्रवर्धनका लागि स्टार्टअप कार्यक्रममा १० करोड बजेट विनियोजन गरेको छ । एक जिल्ला एक उत्पादन कार्यक्रम, एक जिल्ला एक नमुना विद्यालय कार्यक्रम, बीउ उत्पादनमा आत्मनिर्भर बनाउने, दूध उत्पादन वृद्धि, भूमिगत सिँचाइलगायत कार्यक्रमलाई बजेटमा अघि सारिएको छ ।

त्यस्तै कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगारलाई रोजगारीको अवसर उपलब्ध गराउन एक अर्ब १६ करोड विनियोजन गरेको छ । यो कार्यक्रमबाट प्रदेशका १६ हजार नागरिकले आंशिक रोजगारी पाउने सरकारको विश्वास छ । कर्णालीले विद्यालयको भौतिक पूर्वाधार सुधार, प्रदेश अस्पतालको पूर्वाधार विकास, पर्यटकीय स्थलहरुको विकासका लागि गुरुयोजना कार्यान्वयन लगायतलाई मुख्य प्राथिमकतामा राखेको छ ।

लुम्बिनी सरकारले प्रदेशको गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच, भौतिक पूर्वाधारको गुणस्तर वृद्धि, समृद्धिका लागि सम्भाव्य क्षेत्रको पहिचान र पर्यटन प्रवर्धन गरी रोजगारीका अवसर सिर्जना गर्न जोड दिएको छ । लुम्बिनी सरकारले मानव वन्यजन्तु-द्वन्द्व व्यवस्थापन र पहाडी क्षेत्रको बसाइँसराइ रोक्न पहाडमै नमुना बस्ती विकासका लागि समेत बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेशले पर्यटन प्रवर्धन र कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ । मोबाइल माटो अस्पताल सञ्चालन, पदमार्ग संरक्षण-पर्यटन प्रवर्धन, राउन्ड फेवा भ्यु फेवा कार्यक्रम, होमस्टे (घरबास) तथा स्थानीय कला संस्कृतिको प्रवर्धन लगायत कार्यक्रमलाई गण्डकीले विशेष जोड दिएको छ । यस्तै एक निर्वाचन क्षेत्र एक सडक तथा सडक पुल निर्माणलाई पनि प्राथमिकता दिइएको छ ।

बागमती प्रदेशले पनि कृषिमा आधुनिकीकरणसँगै उत्पादनमा वृद्धि गर्दै रोजगारीका अवसर सिर्जना गर्ने नीति लिएको छ । दूधमा अनुदानका लागि बीस करोड र पर्यटन तथा सहकारी क्षेत्रका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै कोशी प्रदेश सरकारले पनि कृषि, उद्योग, भौतिक पूर्वाधार तथा पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेर नयाँ बजेट ल्याएको छ । कोशी प्रदेशलाई धानको बीउको स्रोतका रूपमा विकास गर्ने, सहरी पूर्वाधार निर्माण, दुई वर्षभित्र सबै घरमा बिजुली पुर्‍याउने र आगामी वर्ष अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने घोषणा पनि बजेटमा गरिएको छ ।

मधेस प्रदेश सरकारको बजेट भने अहिले सार्वजनिक भइरहेको छ ।

यो पनि...

विकास खर्च गर्न नसक्दा अधिकांश प्रदेशले बजेटको आकार घटाए

कोशीको बजेट ३५ अर्ब २७ करोड, सहरी तथा पूर्वाधार विकासलाई प्राथमिकता

मधेश प्रदेशको बजेट : ४३ अर्ब ८९ करोड, चालुतर्फ १६ अर्ब

बागमती प्रदेशको बजेट : स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता

गण्डकीमा ३२ अर्ब ९७ करोडको बजेट, कृषि र पर्यटन प्राथमिकतामा

लुम्बिनीको बजेट ३८ अर्ब ९७ करोड

कर्णालीको बजेट ३१ अर्ब ४१ करोड, विद्यालयका भौतिक पूर्वाधार विकासमा १ अर्ब १० करोड विनियोजन

सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड, भौतिक पूर्वाधार विकासमा १३ अर्ब


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.