नेपालमा भित्रिएको मनसुन अझै पुगेन बर्दिया, किसानले ब्याड राख्न पाएनन्

असार १०, २०८१ |कमल पन्थी
नेपालमा भित्रिएको मनसुन अझै पुगेन बर्दिया, किसानले ब्याड राख्न पाएनन्

बर्दिया । देशमा मनसुन भित्रिएको एक साता बितिसकेको छ । पूर्वतिर बाढीले बिपत्ति निम्त्याइसकेको छ । तर, बर्दियामा भने न पानी परेको छ, न तापक्रम घटेको छ । अन्नको भण्डार मानिने बर्दियामा ९० प्रतिशत खेतका लागि किसानले धानको बिउ छर्न पाएका छैनन् । बबई मूल नहरमै पर्याप्त पानी नहुँदा पूर्वी बर्दियाका किसानले बाँझो खेत जोत्न पनि आकाशे पानी पर्खनुपरेको छ ।

बर्दियामा करिब ५३ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । तर, असारको एक साता बितिसक्दा पनि पूरै खेत बाँझो छ । खेत नजिक नहर छ, तर सिँचाइका लागि पर्याप्त पानी छैन ।

मनसुनको पर्खाइमा बसेका किसान बिउ छर्न पम्पको सहारामा भए पनि धारामा समेत पानी आउादैन । बारबर्दिया नगरपालिका, बढैयाताल गाउँपालिकामा त हातेकल पनि सुकिसकेको छ । ‘अत्यधिक गर्मी छ । पम्पबाट पानी तानेर सिँचाइ गरे पनि तत्कालै सुक्ने गरेको छ । लगाइएको खेतीबाली पनि सुक्ने गरेको छ,’ गुलरिया नगरपालिका ८, बर्दियाकी ललिता चौधरीले भन्नुभयो ।

बर्दियामा भने वर्षा नहुँदा किसानले ब्याड राख्नसमेत पाएका छैनन् । बबई डाइभर्सनको काम ढिलाइ हुँदा बबई सिँचाइ आयोजनाले बिउ छर्न पनि पानी दिन नसकेको बबई सिँचाइ आयोजना उपभोक्ता समिति, पूर्वीनहर बर्दियाका उपाध्यक्ष देवेन्द्र विष्ट बताउनुहुन्छ ।

बबई सिँचाइ आयोजनाका लागि अहिले २५ क्यूमेक्स पानी चाहिन्छ । यस वर्ष अत्यधिक गर्मी भएका कारण खोला, नदीमा समेत पानी सुकेको छ । भेरीको पानी बबईमा नखसालेसम्म यहाँका किसानले पर्याप्त पानी पाउँदैनन् ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement