महानगरहरुको बजेट : पूर्वाधार विकास, सम्पदा संरक्षण र स्वरोजगार अभिवृद्धिमा जोड

काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड
असार १०, २०८१ |सुमन पन्थ
महानगरहरुको बजेट : पूर्वाधार विकास, सम्पदा संरक्षण र स्वरोजगार अभिवृद्धिमा जोड

काठमाडौं । पूर्वाधार विकास, शिक्षा, सम्पदा संरक्षण तथा स्वरोजगार अभिवृद्धिलाई जोड दिँदै महानगरहरुले बजेट ल्याएका छन् । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी प्रावधानअनुसार यसअघि नै वीरगन्ज महानगरले बजेट ल्याएकामा आज बाँकी पाँच महानगरले आगामी आर्थिक वर्षको बजेट ल्याएका हुन् ।

सबैभन्दा बढी बजेट संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरले ल्याएको छ । काठमाडौंले चालु आर्थिक वर्षभन्दा एक अर्ब ६२ करोड बजेट वृद्धि गर्दै २५ अर्ब ७० करोडको बजेट ल्याएको छ ।

संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख सुनीता डंगोलले चालु आर्थिक वर्षको भन्दा एक अर्ब ६२ करोड बढीको बजेट पेस गर्नुभएको हो । महानगरले चालु आर्थिक वर्षमा २४ अर्ब ८ करोडको बजेट ल्याएको थियो ।

महानगरपालिकाले बजेटको आन्तरिक स्रोतलाई नै प्रमुख आधार मानेको छ । उसले आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड, नेपाल सरकारबाट प्राप्त हुने ससर्त अनुदानतर्फ एक अर्ब ४५ करोड र प्रदेश सरकारबाट चार करोड ४७ लाख स्रोत अनुमान गरेको छ ।

काठमाडौंले पूर्वाधार विकासका लागि कुल बजेटको ६१ प्रतिशत अर्थात् १४ अर्ब ८१ करोड विनियोजन गरेको छ । महानगरले गौरवका योजनाअन्तर्गत ढलरहित नदी नालालाई थप गरी ११ वटा बनाएको छ । त्यस्तै कपडा बैंक, थेमाटिक स्कुल, पोखरी मर्मत तथा संरक्षण, फोहोरबाट मल, महानगर होमेस्टेजस्ता ३० वटा कार्यक्रम थप गरेको महानगरपालिकाले जनाएको छ ।

नगरसभाको बैठकमा ३१ वटै वडाध्यक्षहरुले पहिला नीति तथा कार्यक्रम पास गर्नुपर्ने अडान राखे पनि महानगर प्रमुख बालेन्द्र शाहले उपप्रमुख सुनीता डंगोललाई बजेट वाचन गर्न लगाउनुभएको थियो ।

स्थानीय तहको बजेट : अधिकांश पालिका अझै संघकै अनुदानमा निर्भर

यस्तै, ललितपुर महानगरपालिकाले सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जुन चालु आर्थिक वर्षको तुलनामा करिब १५ प्रतिशतले बढी हो । ललितपुरले सांस्कृतिक र आर्थिक रुपले समृद्ध सहरका रुपमा विकास गर्ने, दिगो पूर्वाधार हरियाली प्रवर्द्धन गर्ने, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ । बढ्दो बेरोजगारलाई कम गर्न महानगरले युवालाई श्रम सीप उद्यम र रोजगारसँग जोड्दै सामाजिक जिम्मेवारीबोधलाई जोड दिएको छ ।

ललितपुरले स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि, रैथाने सीपको पुस्तान्तरण र आधुनिकीकरण, विपद् व्यवस्थापनका साथै बालबालिका र अपांगमैत्री नगरका साथै प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्याउने कार्यक्रमलाई प्राथमिकता दिएको छ । आगामी वर्षदेखि महानगरपालिकाले वडा कार्यालयबाटै कर संकलन, वडास्तरीय र विषयगत क्षेत्रगत कार्यक्रम सञ्चालनमा जोड दिएको छ ।

विराटनगर महानगरले तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरसभामा उपप्रमुख शिल्पा निरौला कार्कीले चालु वर्षको संशोधित बजेटभन्दा १३ करोड ८१ लाख २१ बढी बजेट सार्वजनिक गर्नुभएको हो । विराटनगरले छोरी बचाउ छोरी पढाऊ कार्यक्रमअन्तर्गत पहिलो र दोस्रो छोरी जन्माउने आमाहरुलाई प्रोत्साहनबापत उपलब्ध गराउँदै आएको रकमलाई निरन्तरता दिएको छ ।

त्यस्तै भरतपुरले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी हो । कुल बजेटमा एक अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान गरिएको छ । भरतपुर महानगरपालिकाले एक घर दुई रुख अनिवार्य गरेको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement