विकास खर्च गर्न नसक्दा अधिकांश प्रदेशले बजेटको आकार घटाए

असार १, २०८१ |कान्तिपुर टीभी संवाददाता
विकास खर्च गर्न नसक्दा अधिकांश प्रदेशले बजेटको आकार घटाए

काठमाडौं । विकास खर्च गर्न नसकेपछि अधिकांश प्रदेशले आगामी आर्थिक वर्षको बजेटको आकार घटाएका छन् । विशेषगरी प्रदेशले नै अघि बढाएका आयोजनाको खर्च कम हुने गरेको देखिएपछि विकास बजेटको आकार घटाएका हुन् ।

चालु आर्थिक वर्षमा ३६ अर्ब ७४ करोड बजेट सार्वजनिक गरेको कोशी प्रदेशले १ अर्ब ४७ करोडले घटाउँदै आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक गरेको छ । यो प्रदेशले गत वर्षको तुलनामा झन्डै ४ अर्ब विकास बजेट घटाएको छ । चालुतर्फको बजेट भने कोशी सरकारले चालु आर्थिक वर्षमा भन्दा एक अर्ब ७९ करोडले बढाएको छ ।

त्यस्तै ३२ अर्ब ९७ करोडको बजेट सार्वजनिक गरेको गण्डकी प्रदेशले पनि ४५ करोड बजेट घटाएको छ । बजेट घट्दा यो प्रदेशमा पनि चालु खर्चमा वृद्धि भएको छ भने विकास खर्चमा संकुचन आएको छ । यो प्रदेशले पनि ६८ करोड विकास बजेट घटाएको छ । कर्णाली प्रदेशले चालु आर्थिक वर्षको तुलनामा एक अर्ब ९६ करोडले बजेट घटाएको छ । यो प्रदेशले एक अर्ब ४३ करोड चालु खर्च र ८२ करोडले विकास खर्च घटाएको छ ।

लुम्बिनी प्रदेशले भने कुल बजेट घटाउँदा पनि एक अर्ब ३३ करोडले विकास बजेट बढाएको छ । यो प्रदेशले चालु खर्च भने दुई अर्ब ३९ करोडले आगामी आर्थिक वर्षका लागि घटाएर सार्वजनिक गरेको छ । अन्य प्रदेशले बजेट घटाउँदा सुदूरपश्चिम प्रदेशले दुई अर्ब ३६ करोडले बजेट बढाएको छ । विकास बजेट ३३ करोड वृद्धि हुँदा यसको दुई अर्ब ११ करोडले चालु खर्च बढाएको छ ।

यता, बागमती प्रदेशले कुल बजेट एक अर्ब ८४ करोडले बढाएको छ । यो प्रदेशले चालु खर्च घटाएर पुँजीगत खर्च बढाएको हो । चालु खर्च आगामी आर्थिक वर्षको तुलनामा ६० करोड घटाएर पुँजीगत खर्च एक अर्ब ४३ करोडले बढाएको छ ।

हचुवाको भरमा बनेका बजेटका कारण विकास खर्च नभएपछि प्रदेश सरकारहरुले यो वर्ष खर्च घटाएर केही यथार्थपरक बन्न खोजेका छन् । खर्चका लागि आफ्नै संरचनाको अभाव, खर्चका लागि संघ र स्थानीय तहसँग आश्रित र केन्द्रमा भन्दा पनि बढी प्रदेशमा राजनीतिक अस्थिरता बढी हुँदा यस्तो स्थिति आएको हो ।

हेर्नुहोस् कसको बजेट कस्तो :

कोशीको बजेट ३५ अर्ब २७ करोड, सहरी तथा पूर्वाधार विकासलाई प्राथमिकता

मधेश प्रदेशको बजेट : ४३ अर्ब ८९ करोड, चालुतर्फ १६ अर्ब

बागमती प्रदेशको बजेट : स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता

गण्डकीमा ३२ अर्ब ९७ करोडको बजेट, कृषि र पर्यटन प्राथमिकतामा

लुम्बिनीको बजेट ३८ अर्ब ९७ करोड

कर्णालीको बजेट ३१ अर्ब ४१ करोड, विद्यालयका भौतिक पूर्वाधार विकासमा १ अर्ब १० करोड विनियोजन

सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड, भौतिक पूर्वाधार विकासमा १३ अर्ब


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.