कोशीको बजेट ३५ अर्ब २७ करोड, सहरी तथा पूर्वाधार विकासलाई प्राथमिकता

असार १, २०८१ |महाप्रसाद खतिवडा
कोशीको बजेट ३५ अर्ब २७ करोड, सहरी तथा पूर्वाधार विकासलाई प्राथमिकता

मोरङ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड रूपैयाँको बजेट ल्याएको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा पेश गर्नुभएको बजेटमा पुँजीगत तर्फ १६ अर्ब २० करोड र चालु तर्फ १४ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा ३६ अर्ब ७४ करोड रूपैयाँको बजेट ल्याएको कोशी सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार केही घटाएको हो । 

कृषि, भौतिक पूर्वाधार विकास र गरिबीको रेखामुनि रहेको जनसङ्ख्याको उत्थान गर्नेगरी बजेट ल्याएको कोशी सरकारले बैंक र सहकारीमार्फत कर्जा उपलब्धता, जैविक विषादी विकासजस्ता कुरालाई प्राथमिकतामा राख्दै बजेट छुट्याएको छ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३ दशमलव ५१ प्रतिशत रहने अनुमान गर्दै सहकारी र सरकारी लगानीमार्फत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ ।

कृषि क्षेत्रको व्यावसायीकरण गर्न कोशी प्रदेशलाई धानको बीउको स्रोतका रूपमा विकास गर्ने, ७ वटा बजार केन्द्र विकास गर्ने गरी सहरी तथा पूर्वाधार विकासमा १० अर्ब बजेट छुट्याइएको छ । दुई वर्षभित्र सबै घरमा बिजुली पुर्‍याउने लक्ष्यअनुरूप बजेटको व्यवस्था गरिएको छ । 

त्यस्तै, पर्यटन विकासका लागि २ अर्ब ८२ करोड छुट्याइएको छ भने सञ्चार क्षेत्र विकासका लागि २ करोड रूपैयाँ विनियोजन भएको छ । स्टार्टअपलाई कर्जा अनुदान, क्षेत्र विशेष उद्यम विकासजस्ता विषयले पनि बजेटमा स्थान पाएका छन् ।

यसैगरी, अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने सन्दर्भ पनि बजेट वक्तव्यमा परेको छ ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement