सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड, भौतिक पूर्वाधार विकासमा १३ अर्ब

असार १, २०८१ |टेकराज जोशी
सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड, भौतिक पूर्वाधार विकासमा १३ अर्ब

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । सबै प्रदेशले बजेटको आकार घटाउँदा सुदूरपश्चिम प्रदेशमा भने बजेट बढेको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटको आकार २९ अर्ब २६ करोड रुपैयाँ छ ।

शनिबार प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले बजेट प्रस्तुत गर्दै अगामी वर्षका लागि चालु खर्चतर्फ ११ अर्ब ७ करोड र पुँजीगततर्फ १७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको जनाउनु भयो । 

यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १० करोड विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजश्व परिचालन १ अर्ब ६० लाख १५ हजार, संघीय सरकारको राजश्व बाँडफाँटतर्फ ९ अर्ब ९९ करोड, संघीय रोयल्टीबाट ४ करोड ४० लाख, वित्तीय समानीकरण अनुदान ८ अर्ब ७२ करोड २७ लाख, चालु वर्षको बजेटबाट बचत हुने ६ अर्ब १५ करोड, संघीय सरकारले दिने सर्शत अनुदानतर्फ ३ अर्ब १३ करोड, समपूरक अनुदान १ अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड हुने अनुमान गरिएको छ ।

सरकारले भौतिक पूर्वाधार विकासतर्फ सबैभन्दा धेरै १३ अर्ब ३५ करोड, भूमि व्यवस्था, कृषि तथा सहकारी क्षेत्रमा ३ अर्ब ९ करोड, उद्योग, पर्यटन वन तथा वातावरण क्षेत्रतर्फ २ अर्ब ४ करोड, शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रतर्फ ६ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement