ससुरा-ज्वाइँको फन्दामा परेर कम्बोडिया पुगेका ६ नेपाली उद्धारको पर्खाइमा

अनलाइन जुवा र साइबर ठगीको काममा प्रयोग गरिँदै
मानव तस्करीको नयाँ गन्तव्य बन्दै दक्षिण पूर्वी एसिया
असार ११, २०८१ |भुवन पाण्डे
ससुरा-ज्वाइँको फन्दामा परेर कम्बोडिया पुगेका ६ नेपाली उद्धारको पर्खाइमा

काठमाडौं । मानव बेचबिखनका गिरोहले नेपालीहरुलाई साइबर अपराधमा संलग्न गराउन दक्षिणपूर्वी एसियाली मुलुकहरुमा पुर्‍याउने गरेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानले नेपालीलाई दुबई अथवा भारत हुँदै थाइल्यान्डबाट म्यानमार, लाओस र कम्बोडियासम्म पुर्‍याउने गरिएको खुलेको हो । त्यसरी लगिएका नेपालीलाई अनलाइन जुवा, तेस्रो देशका नागरिकलाई धम्क्याउन र साइबर ठगी गर्ने काममा प्रयोग गरिँदै आएको छ ।

त्यसका लागि बन्धक नै बनाउने गरेको प्रहरीको भनाइ छ । पाँच वर्ष अवधिमा म्यानमार पठाउने ९, कम्बोडिया पठाउने ४ र लाओस पठाउनेविरुद्ध तीनवटा मुद्दा दायर भएका छन् । जसमा २५ नेपाली र तीन चिनियाँ पक्राउ परेको ब्युरोको तथ्यांक छ ।

नेपालीलाई लैजाने अधिकांश चिनियाँहरु नै हुन् । म्यानमार, लाओस र कम्बोडियामा साइबर अपराधका लागि चिनियाँहरुको संगठित समूह नै रहेको र तिनैले नेपाली किशोरकिशोरी लैजाने गरेको मानवबेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्र बताउनुहुन्छ ।

त्यसरी लगिएका २४ पुरुष र ४ महिलासहित २८ जनाको उद्धार भइसकेको छ । तर नेपालीलाई त्यहाँ पनि तेस्रो समूहलाई बिक्री गर्ने गरिएको र म्यानमारका द्वन्द्वग्रस्त क्षेत्रमा राखेर काम लगाउने गरिएकाले उद्धार हुन कठिन हुने गरेको छ । ब्युरोमा अहिले पनि म्यानमारबाट एकजना र लाओसबाट पाँचजनाले उद्धारका लागि अपिल गरिरहेका छन् । ती देशमा कति नेपालीहरु बन्धक बनाइएका छन् भन्ने एकिन तथ्यांक भने आउन सकेको छैन 


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement