अस्ट्रेलियालाई हराउँदै भारत आईसीसी टी-ट्वेन्टी विश्वकपको सेमिफाइनलमा

अफगानिस्तान र बंगलादेशबीचको खेलले अस्ट्रेलियाको अन्तिम चारको यात्रा तय गर्ने
असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
अस्ट्रेलियालाई हराउँदै भारत आईसीसी टी-ट्वेन्टी विश्वकपको सेमिफाइनलमा

काठमाडौं । अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत आईसीसी टी-ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको जितमा रोहित शर्माले कप्तानी इनिङ्स खेले । अब भारतले फाइनल प्रवेशका लागि साबिक विजेता इंग्ल्यान्डसँग बिहीबार प्रतिस्पर्धा गर्ने छ । अस्ट्रेलियाले भने सेमिफाइनलमा पुग्नका लागि अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ ।

सेन्ट लुसियामा अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो । ओनर विराट काहेलीले खाता खोल्न नसके पनि रोहित शर्माले आक्रामक इनिङ्स खेले । उनले ४१ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै ९२ रन बनाए । इनिङ्सको तेस्रो ओभरमा मिचेल स्टार्कविरुद्ध २९ रन प्रहार गरेका रोहितले १९ बलमा ५० रन बनाउँदै  यस विश्वकपमा सबैभन्दा छिटो अर्धशतक पूरा गरे । सूर्यकुमार यादवले ३१, शिभम् दुबेले २८, हार्दिक पान्ड्याले २७ तथा ऋषभ पन्तले १५ रन बनाए ।

अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कस स्टोइनिसले २-२ तथा जोश हेजलवुडले १ विकेट लिएका थिए । रोहितविरुद्ध स्टार्कले आफ्नो टी-ट्वेन्टी आई करियरकै महँगो ओभर बलिङ गरे । 

जवाफमा अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्कासहित ७६ रन बनाए पनि टोलीलाई पार लगाउन सकेनन् । मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २० तथा टिम डेविडले १५ रन बनाए । भारतका अर्शदीप सिंहले ३, कुलदीप यादवले २ तथा जस्प्रित बुम्राह र अक्षर पटेलले १-१ विकेट लिए ।

अस्ट्रेलियालाई हराएसँगै भारत समूह १ को विजेताका रूपमा अन्तिम चारमा पुगेको हो । अपराजित भारतले सुपर एटका ३ खेलमा ६ अंक जोड्यो । 

अस्ट्रेलियाको ३ खेलमा २ अंक छ । अफगानिस्तानको पनि २ खेलमा २ अंक छ भने बंगलादेश अंकविहीन छ । अहिले जारी खेलमा अफगानिस्तानले बंगलादेशलाई पराजित गरे अफगानिस्तान समूह उप विजेताका रूपमा सेमिफाइनलमा पुग्नेछ । 

अफगानिस्तान पराजित भएमा अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तानमध्ये राम्रो नेट रनरेट हुने टोली अघिल्लो चरणमा पुग्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement