गच्छामी : बुद्ध र बुद्धकालीन समयको झल्को दिने नाटक

पुस २६, २०७९ |सुबिन्द्र श्रेष्ठ
गच्छामी : बुद्ध र बुद्धकालीन समयको झल्को दिने नाटक

काठमाडौं । सरकारले विश्वासको मत लिने राजनीतिक रस्साकस्सी र तिनका नेतृत्वबीच शक्तिको लेनदेन चलिरहेका बेला बानेश्वर थापागाउँस्थित आरोहण गुरुकुलको कुञ्ज नाटक घरमा राज्यको सुख विलास छाडेर हिँडेका सिद्धार्थ गौतमबारेको नाटक 'गच्छामी' प्रदर्शन भइरहेको छ । भगवान् शाक्यमुनि गौतम बुद्धको जीवनीको फरक पाटो प्रस्ट्याउनु नै नाटक ‘गच्छामी’ को विशेषता हो, जसमा बुद्धलाई दार्शनिक र महान् गुरुका साथै प्रेमीका रूपमा पनि देखाइएको छ ।

गच्छामी नाटकमा गौतम बुद्धको कठोर तपस्या, अर्ति, उपदेश र ज्ञान प्राप्तिका विषयका साथै बुद्धत्व प्राप्त गर्नका लागि छोरा राहुल, पत्नी यशोधरा र परिवारबाट वियोग हुनुपरेको घटनालाई अत्यन्तै सरल र सुन्दर ढंगले प्रकाश पार्ने कोसिस गरिएको छ ।

तिनै घटनाको माध्यमबाट बुद्धमा कति मानवता थियो भन्ने कुरा पुष्टि गरिएको छ । सिद्धार्थ गौतमलाई बुद्ध बनाउन परिवारले गरेको योगदानसमेत नाटकमा चित्रण गरिएको छ ।

नाटक गच्छामीले राज्यका शासक भएर साधारण जीवन जिउन सके मात्र जनताको सेवा गर्न सकिने, दुःखको मूल कारण मोह र सुख प्राप्तिको आशक्ति हो, तृष्णाको नियन्त्रण नै दुःखको मुक्ति हो भन्ने जस्ता सन्देश दिएको छ ।

नाटकमा प्रयोग गरिएका पहिरन, गहना र सामग्रीले ईसा पूर्व ५६३ तिरका बुद्धकालीन समयलाई देखाएको छ । यसमा प्रयोग भएका प्रकाश र बारम्बार गुन्जेको बुद्धम शरणम गच्छामी जस्ता संगीतले दर्शकलाई मन्त्रमुग्ध बनाउने गरेको छ । सबै उमेर समूहका लागि ज्ञान वर्द्धकसमेत रहेको यो नाटक शुक्रबारसम्म मञ्चन हुनेछ ।

यी सामग्रीहरू पनि पढ्नुहोस् !

कविता- ‘उडान’

पढेर कहाँ सकिन्छ ‘सत्यमोहन’ !

थोरङला पासको उचाइमा

सायरको सहर

कथा : लोग्नेमान्छेका कुरा


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।