‘हामीलाई अक्सर डर देखाइरहने
यही हिउँ
यही पहिरो
र यही मस्याङ्दीमा सौन्दर्य देख्नुहुन्छ, तपाईंहरू
तर कहिल्यै देख्नुहुन्न
चिसोले सुन्निएका हाम्रा मन
र सुकेका हाम्रा आँखाहरू ।’
अन्नपूर्ण फेरोको शिखर थोरङला-पासमा ठिहिरो हावाबीच कवि गोष्ठी । एउटा रमाइलो र अद्भूत क्षण थियो यो । पत्याउनै पनि गाह्रो लाग्ने । ५ हजार ४ सय १६ मिटरको उचाइमा हामीहरू कविता पाठ गरिरहेका थियौं- श्रीओम श्रेष्ठ रोदन, भीष्म उप्रेती, रमेश श्रेष्ठ, साम्ब ढकाल, ठाकुर वेल्वासे, दुर्गाबहादुर शाह, यज्ञश र म । यति अग्लो उचाइमा कवि गोष्ठी भएको सम्भवतः यो पहिलो हुनुपर्छ । कात्तिकको दोस्रो साता भएको यो कवि गोष्ठी जोखिमयुक्त थियो । कान छोपिने बाक्लो टोपी खोलेर मैले कविता भन्न थालेपछि थोरङला पासको स्तम्भनजिकै एक-अर्कालाई चुम्बन गरिरहेका इटालियन जोडी हाम्रोनजिकै आएर हाम्रो फोटो खिच्न थाले । उनीहरूलाई यो अजिव लागेको हुनुपर्छ । एकजना जर्मनी बुढोले त मेरो कविता वाचन सकिनासाथ मलाई च्याप्प समातेर सोधी हाले, ‘के गरेको ? भाषण गरेको हो ?’
‘होइन कविता भनेको ?’
‘तिमीहरू कवि हौ ?’ जर्मनी बुढा उत्साहित बन्यो ।
‘हो, हामी कविहरू हौं । यो यात्राभरि हामीहरूले ठाउँ-ठाउँमा कविता लेख्दै र भन्दै हिड्यौं ।’ बुढाको उत्साहले मलाई पनि रोमाञ्चित बनायो । त्यसपछि उनले हामी सबैसँग फोटो खिचे- कविता यात्राको तुल नै आउने गरी । बुढा पेसाले रेस्टुरेन्ट व्यवसायी रहेछन् । तर कलाकार र कवि भनेपछि उनलाई साह्रै श्रद्धा लाग्छ रे ।
जर्मनी बुढाको श्रद्धाले मलाई अझ रोमाञ्चित बनाउँछ । त्यसो त यहाँ रोमाञ्चित बनाउने कुरा अरु धेरै छन् ।
हिउँको श्वेत साम्राज्य । हिउँ नै हिउँ । त्यही हिउँमा टल्किएको बिहानी घाम । र यही घामलाई पच्छ्याउँदै दौडिएका असंख्य पदयात्री । उचाइमा पुग्नुको मजा बेग्लै हुँदोरहेछ । जति माथि पुग्यो मनमा अर्को उचाइको तृष्णा जाग्ने । यहाँबाट यति राम्रो देखिएको छ, त्यहाँबाट कस्तो देखिएला ? पहिले यही थोरङला पास चढ्न महाभारत भइरहेको थियो, अहिले यहाँ टेकेपछि अझ माथि उक्लिने नशा चढेको छ ।
बिहान साढे पाँच घण्टाको हिँडाइ पछि ९ बजेर ३० मिनेटमा हामी यहाँ आइपुगेका । थोरङला पासमा । दुई हिमाल थोराङ पिक र याकावाको बीचमा रहेको हिमाली भञ्ज्याङ हो यो । पदयात्राको सफलतामा एक-अर्कामा बिदाइ साटिरहेका विदेशीबीच हामी पनि बधाई साटासाट गर्छौं । यो र यस्ता पासमा दर्जनौंचोटि टेकिसकेको यामलाई त बधाईले पुग्ला । तर के मजस्तो पहिलोचोटि उत्साह र जोखिम एकसाथ बोकेर यहाँ आइपुगेकालाई बधाईले मात्र पुग्छ ?
थोरङलामा रहेको एउटै मात्र कफीसपमा कफी पिइसकेपछि म क्यामरा हातमा झुन्ड्याउँदै माथि उक्लें । मेरो आँखामा हिमाली शृंखला अझ फराकिलो भयो । अलि पर अर्को ढिस्को । चौतर्फी हिउँ नै हिउँमा अर्को सेतो ढिस्को- हिउँको । जहाँ एक विदेशी पर्यटक क्यामराको लेन्सबाट हिमाल छुन खोज्दै थिए । म त्यही पुगें- भुँइभरि डम्म ढाकिएको हिउँमाथि गमगम टेक्दै । हिमाली चुचुरोमा भेटिएका ती विदेशी बिहान बाटामा भेटिएका इटालियन साइकल यात्री रहेछन् । उनले मलाई चिनिहालें । र बधाई स्वरुप ग्वाम्लाङग अँगालो हाले ।
‘तिम्री प्रेमिका खोई ?’ मैले सोधें । अघि तल बाटामा मैले भेट्दा यी आफ्ना जोडीसँग साइकलमा थिए र मैले उनको साइकल मागेर फोटो खिचेको थिएँ । उनले आँखाले इशारा गरेतिर मैले हेरें । त्यहाँ उनको प्रेमिका आकाशतिर फर्किएर हिउँमा सुतिरहेकी थिई । अग्ली र मिलेको ज्यान भएकी यो गोरी केटीसँगै म पनि पल्टिएँ- थोरङला पासको उचाइमा ।
औषधिको जोहो
बिहान उठ्दा मुस्किलले ३ बजेको हुनुपर्छ । हामी बिउँझिएको अलि अघि नै हो । त्यसो त हामी निदाएकै कहाँ थियौं र ? थोराङ फेदीको यो सुविधा सम्पन्न होटेलमा चिसो शिवाय हामीले केही पाएनौ । यहाँ सबै थोक थियो । कफी, चिया, तातोपानी, सुपलगायत सबै तातो पेयहरू थिए । ब्ल्याङकेट, स्लिपिङ ब्याग, राम्रा गद्दाहरू थिए । र पनि हामीलाई छाडेन चिसोले । खाना पनि खाएकै हो । तर चिसोले हिजो यहाँ आइपुगेदेखि नै हामीलाई छाडेन । मान्छेसँगै टाँसिएको इच्छाजस्तो । चिसो हामीसँगै थियो ।
रातभरि सुते पनि चिसोले निदाउन दिएन । कोठामा रहेका सबैजनाको अनुहार टीठ लाग्दो छ । कोठामा श्रीओम दाजु, भीष्म दाइ, ठाकुर र म छौं । कोही कसैसँग बोल्न सकिरहेका छैनौं । चिसोले सबै आफैं आफूभित्र जमिरहेका । तल बगरछापमा ट्यांकीबाट चुहिएको पानी जमेजस्तो ।
‘अब उठौं है, जानुपर्छ ।’ सहयोगी याम गुरुङको आदेशले कानलाई मात्र होइन, मनलाई नै चंगा बनाउँछ । यिनी हाम्रा यात्रामा हाम्रा चिकित्सक सहयोगी हुन् । हिजो साँझभरि मैले यिनीसँग उचाइमा लाग्ने रोगहरू र त्यसका निदानबारे कुराकानी गरेको थिए ।
लसुन मिसाएको तातो पानी खाने, बिस्तारी हिँड्ने, एक ठाउँमा पाँच मिनेटभन्दा बढी समय नबिताउने र एउटै रफ्तारमा उकालो उक्लिने । थोरङला पासका लागि उनले सिकाएको मन्त्र यही थियो । त्यसो त बिहान थोरङ फेदीबाट हिड्न सुरु गर्नु अघि सबैजनाले एक-एक चक्की औषधि खाने सहमति भएको थियो ।
‘हाइ अलटिच्युटको प्रब्लम देखियो भने म यो औषधि दिन्छु,’ हिजो साँझ उनले यात्राका बारेमा बताउँदै हामीलाई भनेका थिए ।
‘हाइ अलटिच्युट देखिनुभन्दा अघि नै यो औषधि खायो भने के हुन्छ ?’ मैले स्वास्थ्य सहयोगी यामलाई सोधेको थिएँ । श्रीओम दाजु र भीष्म दाइ हाँस्नुभएको थियो । उहाँहरूको हाँसोले अलि पर अर्को टेबुलमा बसिरहेको एक विदेशी जोडी हामीतिर फर्किएका थिए ।
‘केही फरक पर्दैन । झन सुरक्षा नै दिन्छ,’ यामले भने ।
‘साइड इफेक्ट त गर्दैन ?’ म अझ ढुक्क हुन खोज्छु । यामले साइड इफेक्ट नहुने बताएपछि हामी सबैले बिहान यात्रा गर्नुअघि एक-एक चक्की औषधि खाने सहमति भएको थियो ।
‘खोइ त औषधि ?’ म यामलाई समाउँछु । माइला दाइ सबैलाई एक-एक चक्की औषधि बाँड्दै आउछन् । माइला दाइ पनि सहयोगीकै रुपमा हामीसँग यात्रामा छन् ।
आफूजत्रा हिमाल
४ बजेर ४५ मिनेटमा हामीले थोरङलाको उकालो सुरु गर्यौं । ४ हजार ५ सय ४० मिटरको उचाइभन्दा माथितिरको यात्रा । यो मेरो जीवनकै रोमाञ्चक यात्रा हो । यो माथितिरको यात्रा । अग्लाइतिरको यात्रा । त्यसो त हाम्रो जीवन आफैंमा उचाइतिरको यात्रा हो । हामी कहिलो पो उँधोतिर जान लोभिन्छौं र ? हाम्रो सम्पूर्ण सीप, बुद्धि, क्षमताको प्रयोग गरेर हामी सदैव उँचोंतिरको प्रयासमै त छौं नि । तर यो उचाइ बेग्लै । हाम्रो जीवनको शाश्वत उचाइभन्दा भिन्दै । यो भौगोलिक उचाइको कुरा हो । विश्वभरि नै पदयात्राका लागि कहलिएको थोरङलाको यो यात्रालाई ट्रेकिङको भाषामा बाल्कोनी ट्रेक भनिँदो रहेछ । उचाइ, सौन्दर्य र कडा परिश्रमकका कारण यसलाई बाल्कोनी ट्रेक भनिएको होला भन्ने मलाई लाग्यो ।
११ जनाको हाम्रो टोलीमा मिसिएका छन्, दुई-तीनजना भरिया र केही विदेशी जोडी ।
टर्चको उज्यालोको सहारामा हामीले थोरङला पासको यात्रा तय गर्यौं । अगाडि छ, नाकै ठोक्किने उकालो । धेरै परसम्म हाम्रो टर्चले पनि भ्याउँदैन र हेर्ने सहास पनि आउँदैन । पछाडि साथीहरूको लामो लस्कर र आकाशमा मसिना-मसिना ताराहरू । हैन, जति उचाइमा गयो त्यति साना किन हुन्छन् यी ताराहरू ? मानिस-मानिसबीच देखिने वा अुनभव गरिने सम्बन्धहरू झै यी ताराहरू साना, मसिना र आकर्षक लाग्छन् मलाई । पृथ्वीभन्दा कैंयन् गुना ठूला यी ताराहरू कति साना देखिएका ? विशाल र गहिरा मायाहरू स-साना सम्बन्धहरूमा समेटिए झैं । यी कसरी आकाशमा मिलेर बस्न सकेका होलान् ? सोचेर म हैरान हुन्छु ।
एक घण्टाको उकालो हामीले पार गरिसकेका छौं र साथमा छ- अँध्यारो र बढ्दै गएको चिसो । थोराङ बेसक्याम्पमा पुगेपछि हामी केहीबेर साथीहरूलाई कुर्छौं । भीष्म दाइ, म, ठाकुर र रमेशदाइ ।
थोरङ बेसक्याम्पमा दुई-तीनवटा कफी सप र एउटा होटेल रहेछ । मानिसहरू ब्युझिसकेका । केही त आगो तापेर बसिरहेका । हामीले पनि दुई-तीन मिनेट आगो ताप्यौं । बेसक्याम्पबाटै भेटिए आफ्नै उचाइका हिमालहरू । समवयी साथीहरू जस्ता-आफ्नै वरिपरि गोरा,सेता र उज्याला हिमालहरू । आफू जत्रै-जत्रै । कस्तो रमाइलो । अँध्यारोमा पनि यिनीहरू कति खुलेका । उज्यालोमा त कस्तो होला यी हिमालहरू ?
जम्नु हुँदैन
‘नाङगो आँखाले त हेर्न पनि सकिँदैन, सर ।’ सँगै बगलमा रहेछन् सहयोगी मित्र याम, ‘त्यही भएर त हामीले अँध्यारोमै यो यात्रा गर्नुपरेको । उज्यालो भएपछि त हिउँको चमकले आँखालाई असर गर्छ । फेरि हावा चलेर १२ बजेपछि त यहाँ बस्न नै सकिँदैन ।’
थकाइलाई घटाएको छ साना साना थुम्का हिमालहरूले । सधैं टाढा र विशाल देखिने हिमालहरू त आफू जत्रै पो, बाबै । म खुसीले पुकलित हुन्छु । हिउँहरूको यो देश मेरो सपनाको देश पनि हो । हिउँप्रति म किन किन मोहित छु । यदाकदा फुल्चोकी र दामनमा पर्ने हिउँहरूमा रमाएको म यो हिउँहरूको देशमा त पागल नै हुन्छु । त्यसमा पनि आफू जत्रै हिमालहरूको संसार । यहाँ अग्लो भन्नुअगाडि बढेको एकोहोरो हिमाली पठारजस्तो बाटो मात्रै हो ।
हिमाल खेल्ने काखैकाख हामी हिँडिरहेछौं । ठाकुर, भीष्म दाइ र म एक साथ हिँडिरहेका छौं । हाम्रो हिँडाइमा प्रशस्त विदेशी पदयात्रीहरू भेटिन्छन् र छुट्टिन्छन् । हामी उनीहरूलाई उछिनेर अगाडि बढ्छौं । बाटामा भेटिने असंख्य हिमाली खोंच र हिमनदीहरूलाई उछिनेर अघि बढे झैं । जवानीमै सबथोक गुमाएर बसेकी कुने शालिन विधवाजस्तो ठाउँ-ठाउँमा भेटिने जमेका हिमनदीहरूले लोभ्याउँछन् ।
प्राकृतिक सौन्दर्यको विस्तारसँगै पाइला चाल्न भने गाह्रो हुन थाल्छ । उचाइँ बढ्दै गएको छ र अक्सिजन कम हुँदै गएको छ । हिँड्ने क्रममा प्रशस्त सावधानी अपनाउनुपर्छ भनेर बेला-बेलामा याम झस्काइरहेका पनि छन् ।
‘दुई वर्षअघि मनाङका सीडीओ मरेको ठाउँ यही हो,’ यामले हामीलाई देखाए । याम अन्नपूर्ण संरक्षण कोषका कर्मचारी पनि हुन् । दुई वर्षअघि घोडामा सवार भएर सीडीओसाब थोरङला आउनुभएको रहेछ र घोडा हिँड्दा-हिँड्दै यही ठाँउमा आइपुगेपछि उहाँ घोडामाथि नै जम्नु भएछ । र कहिल्यै पग्लिनु भएनछ । मुटु डरले काप्छ । थोरङला पासको यात्रामा बर्सेनि १८-२० जनाको ज्यान जाने गरेको छ भन्ने सुनेपछि त गोडा पनि काँप्न थाल्छ डरले । म पनि हिँड्दा-हिँड्दै जमें भने ? मलाई डर लाग्छ । म फटाफट पाइला चाल्छु । जम्नु हुँदैन मैले । म सधैं पग्लिरहन चाहन्छु । बगिरहन चाहन्छु ।
पाँच हजार चार सय १६ मिटरमा पाइला
बिहान ८ बजे हामी हिमाली पठारको अग्लाइमा पुग्छौं । घाममा टल्किएको श्वेत हिउँहरूले आँखै खान्छ । गगल्स खोल्न सकिँदैन । ठाकुर र म हिउँमा चल्छौं । जिस्किन्छौं । हिउँमा चिप्लिन्छौं । दौडिन्छौं । श्रीओम दाजु हाम्रो रमाइलोमा सामेल हुन आइपुग्नु हुन्छ । हामी फोटोहरू खिच्छौं ।
‘मणिजी यता हेर्नुस् त,’ भीष्म दाइ मलाई बोलाउनुहुन्छ । हिउँमा उहाँले मेरो नाम लेख्नुभएको रहेछ । म हिउँमा लेखिएको आफ्नो नामको फोटो खिच्छु र सम्झिन्छु , यसैगरी कपीमा, हातमा, छातीमा मेरो नाम लेखेर हिँड्ने ती किशोरकालीन साथीहरूलाई । ती अहिले कहाँ पुगे होलान् ? के गर्दै होलान् ? त्यतिबेला मेरो सामीप्यता रुचाउने उनीहरू क्याम्पसका प्रथम दुई वर्षपछि नै छुट्टिएका थिए । मेरो नाम लेखेको उनीहरूको कपी कहाँ पुग्यो होला ? मेरो नाम लेखिएका ती हातहरूले कति संघर्ष गर्नुपर्यो होला जीवनमा ? र छातीमा थपिँदै गएका पीडा र अप्ठ्याराहरूले वर्षौंपहिले मेटे्थ्यो होला मेरो नामलाई ।
थोरङला पुग्ने बेला हिँड्दा-हिँड्दै म एक्लै पर्छु । ठाकुर र भीष्म दाइ अलि अगाडि छन् भने श्रीओम दाजु र साम्बजी निकै पछाडि । म हिउँको चउरमा मसिना पातला पाइलाका डोबहरू पच्छ्याउँदै हिँडिरहन्छु । अलि माथि फराकिलो खुला ठाँउ देखियो । केही ध्वजा पताकाहरू । मानिसका सानो झुन्ड । एउटा सानो छाप्रोजस्तो घर र एउटा सिँगारिएको स्तम्भ । क्यामराको लेन्सले नजिक ल्याएर म त्यो दृश्य र त्यहाँ देखिएको स्तम्भलाई हेर्छु । स्तम्भमा लेखिएको छ- ‘मनाङ भ्रमण गर्नुभएकामा धन्यवाद । थोरङला पास ५,४१६ मिटर । सफलताको बधाई छ । तपाईंको मनाङ पदयात्रा सुखद् रह्यो भन्ने हामी आशा गर्छौं । फेरि भेटौंला ।’
उचाइमा बसिरहन सकिँदैन
‘यहाँ धेरै बस्न हुँदैन है ।’ फेरि आइपुग्छन् याम । भीष्म दाइ हिँडिसक्नु भएछ । मसँगै पल्टिएकी इटालियन यौवना र उसको प्रेमी अलि तल साइकल बोक्दै हिँडिरहेको देखें । उनीहरू हाँस्दै मलाई हात हल्लाइरहेका थिए । श्रीओम दाजु , साम्ब ढकाल, ठाकुर, रमेश दाइ र म पनि अब यहाँबाट ओर्लिन्छौं ।
‘हिमालको उचाइमा धेरै बस्न सकिँदैन रहेछ,’ श्रीओम दाजुले भन्नुभयो ।
‘हिमालको मात्र होइन, जीवनको कुनै पनि उचाइमा धेरै बस्न सकिँदैन,’ मैले भनें । कवि साम्ब ढकालले मेरो भनाइमा सहमति जनाउनुभयो, ‘उचाइमा टिकिरहने प्रयास नै जीवन हो ।’
करिब-करिब २५ मिनेटको बसाइँले हामी सबै थाकिसकेका छौं । आधा घण्टा बढी बस्न हुँदैन भन्ने उर्दी थियो । हिमाली पठारको ठाडो ओरालोमा म विजयी खुसीमा ओर्लिन्छु । थोरङला पासको यो सफल यात्रा चानचुने थिएन ।
‘अब यहाँबाट जीउ थाम्नै नसक्ने ओरालो छ । पूरै ओरालो, ५ हजार ४ सय १६ मिटरबाट एकैचोटि ३ हजार ८ सय १६ मिटरको मुक्तिनाथसम्म ।’ याम हामीलाई होसियार बनाउँदै थिए । यिनी हाम्रो यात्राको पथप्रदर्शक मात्र होइन, थोरङला पासका लागि सचेत अभिभावक पनि हुन् ।
म यामलाई स्यालुट गर्छु ।
तीन घण्टाको हिमाली पठार पच्छ्याउँदै हामी मुक्तिनाथ आइपुग्छौं । अरुले आँट गर्दैनन्, ठाकुर र म मुक्तिनाथको १ सय ८ वटै धारामा नुहाउँछौं । पूजा गर्छौं ।
साढे एक घण्टाको जिपको यात्रापछि हामी जोमसोममा साँझ सँगसँगै पुग्छौं । पिँडुला कट्कटाउन थाल्छ । हिजोको चिसो हामीसँग छैन यतिबेला । कलेज सकिएपछि साथीहरू छुटेजस्तो, छुटेको छ चिसो ।
फ्रेस भएर होटेलको लबीमा निस्कँदा टेबुलभरि सजिएका थिए- मार्फा, आलुको अचार, च्याङ्ग्राको सुकुटी र साँधेको भट्मास । अलिपर मलाई कुरिरहेको थियो एउटा काँचको गिलास ।
ट्विटर : @LohaniMani
यी सामग्रीहरू पनि पढ्नुहोस् !