कथा : लोग्नेमान्छेका कुरा

फाल्गुन २४, २०७९ |सञ्जु बजगाईं
कथा : लोग्नेमान्छेका कुरा

क्यालिफोर्नियाको ‘सान्टा रोसा’ सहरको आफ्नै अपार्टमेन्टमा सरेपछि मैले आयोजना गरेको यो पहिलो डिनर पार्टी थियो । परदेशमा विधिवत् घरपैंचो गर्ने अनुकूल नमिलेपछि म यही पार्टीमै चित्त बुझाउँदै थिएँ ।

संयोगले पार्टीमा सामेल भएका धेरैजसो पाहुना मेरो लोग्ने कलेज पढ्दाका साथीहरू थिए । सुख खोज्ने क्रममा समयले घरदेशबाट धकेलेपछि उनीहरू कोही न्युयोर्क, कोही बोस्टन त कोही मेरिल्यान्डमा बस्दै आएका थिए । उनीहरू आएपछि हाम्रो बासस्थानमा अलिकति भए पनि घरदेश भित्रिएको थियो । एक–अर्कासँग छुट्टिएको धेरै वर्षपछि साथीहरू भेट्न पाएर सबैजना दंग थिए । म पनि लोग्नेको खुसीमा खुसी थिएँ ।

‘आईमाई र भान्सा’को परम्परागत चलनलाई निरन्तरता दिँदै हामी स्वास्नीहरू खानाको तयारीमा जुटेका थियौं । किचेनमा हाम्रा भाँडाहरू बज्दै थिए । बैठकमा बसेका लोग्नेहरूका गफका प्रसंगहरू हाम्रा कानमा ठोक्किँदै मनलाई तरंगित पार्दै थिए ।

दिउँसोदेखि बाहिरको मौसम अत्यन्तै घमाइलो थियो । घाममा चहकिला किरण खुला झ्यालबाट बिनानिम्तो बैठकदेखि डाइनिङ हलसम्मै पसेका थिए । घाम छिर्नुभन्दा पहिलेबाटै हाम्रा लोग्नेहरू आ–आफ्ना ग्लासको चियर्ससँगै डाइनिङ हलमा जमेर बसिसकेका थिए । उनीहरूको अनुहारमा खुसीयालीको म्याराथन चलिरहेको थियो । त्यसैको रफ्तारसँगै तिनका गफको ‘ग्राफ’ पनि उकाली चढ्दै थिए ।

‘आईमाई र भान्सा’को परम्परागत चलनलाई निरन्तरता दिँदै हामी स्वास्नीहरू भने खानाको तयारीमा जुटेका थियौं । किचेनमा हाम्रा भाँडाहरू बज्दै थिए । सिङ्कमा पानीको धारो बग्दै थियो । चपिङ बोर्डमा छुरी चल्दै थिए । काटेको प्याजको पिरो रागले कसैको आँखाबाट आँशुको वर्षा भइरहेको थियो । कसैको औंलाको टुप्पोमा छुरीले तछारेर रगत आउँदै थियो । दुई सय बीस डिग्रीमा तात्दै गरेको ओभनले डामेर कसैको नाडी भत्भत् पोलिरहेको थियो ।

यस्तो स्थितिबीच पनि बैठकमा बसेका लोग्नेहरूका गफका प्रसंगहरू हाम्रा कानमा ठोक्किँदै मनलाई तरंगित पार्दै थिए ।

‘यो चनाखोपन आइमाईहरूको विकासको क्रमागत उन्नति होला हगि ?’ हामी स्वास्नीहरूले एक–अर्कालाई हेरेर मौन संवाद गर्दै कामलाई निरन्तरता दिइरह्यौं ।

‘चनाखोपन ? होइन, ओपन प्लान किचेन !’

मेरो मनमा भने दोषारोपणको घण्टी बजिसकेको थियो ।

आज लोग्नेहरूका नानाथरीका गफलाई छेक्न नसक्नुको कारक यही ओपन प्लान किचेन थियो । बैठक र भान्साकोठा नजोडिएको भए हामी स्वास्नीहरूले नानाथरीका कुरा सुन्नुपर्ने थिएन । यही सोच्दै मैले उहिल्यै हाम्रा आमा–हजुरआमाका भान्साकोठा अलग्गै हुनुको फाइदा मनमनै विश्लेषण गरेँ अनि आफूले रोजेको घरको बनोटसँग पछुताएँ ।

‘अरे त्यो थिई नि, के’ रे त्यसको नाम ? त्यो लामो कपाल भएकी क्या !’ म पछुताउँदै गर्दा ह्विस्कीको चुस्की लिँदै मेरो लोग्नेको एक साथी बोलेको सुनियो– ‘त्यसले त मलाई निकै लाइन मार्थी । मोरीको याद अहिले पनि आउँछ ।’

चपिङबोर्डमा खुर्सानी काट्दै गरेकी उनकी स्वास्नी आफ्नो लोग्नेको खुलासा सुनेपछि हातमा छुरी लिएर टोलाउन पुगिन् । मैले चलाउँदै गरेको तरकारी छोडेर तिनको हातको छुरी तान्न नपाउँदै ‘ए...ए ! मैले सम्झिएँ– त्यसको त डिभोर्स भइसक्यो !’ मेरै लोग्नेले त्यो लामो कपालवालीको वृतान्त बताइदियो ।

‘अहो ! अब त डर मान्नुपर्ने उसकोे लोग्ने नै नभएपछि एकपटक भेट्ने प्रयास गर्नैपर्छ यार ।’

अर्कोले योजना बताएको सुनेर बाँकी सबै गललल हाँसे । रन्केर तातेको ओभनबाट चिकेन रोस्ट निकाल्न लागेकी उसकी स्वास्नीचाहिँको अनुहार लोग्नेको मुखबाट निस्किएको कुराले आगोझैं रातो भयो ।

हाम्रा लोग्नेहरू एकपछि अर्को गर्दै तातो हाँडीभित्रका मकै पड्किएझैं पड्किरहेका थिए । उनीहरूका कुरा सुन्दा तिनमा अहिलेको सभ्य र शिक्षित समाजको छनक भेट्न मुस्किल थियो । आफ्ना स्वास्नीहरूको आत्मसम्मानको हेक्कासम्म राख्न बिर्सिएर उनीहरू यतिबेला जंगली पशुजस्ता विवेकहीन भएका थिए । हामी स्वास्नीहरू लोग्नेका मुखबाट अझैं के–के निस्कने हो भन्ने डरले रित्तिँदै गएका उनीहरूका प्लेटमा खाना थपिदिन जान पनि धक मानिरहेका थियौं ।

‘सलाद रिफिल गरिदिनुप¥यो ।’ अहिलेसम्म केही नबोली बसेकाकी स्वास्नीले अन्ततः आँट गरेर बैठकतिर लागिन् ।

उनी डाइनिङ टेबलसम्म के पुगेकी थिइन्, अलि कुनापट्टिको कुर्सीमा बसेको उनको लोग्ने बोलेको सुनियो– ‘साँच्ची ! त्यो थिई नि, अनुहारमा गहिरो कालो खत भएकी, तर बाउको सम्पत्ति टन्नै भा’की ! अहिले यो अर्काको देशमा रातदिनको हैरान भोग्नु पर्दा त यार, त्यो धनी बाउकी छोरीलाई आफैंले ल्याएको भए नि टन्टै साफ हुने रहेछ भन्ने लागिराछ ।’

कालो खत भएकी केटीको कुरा चल्दा आफूहरूलाई सौन्दर्यका पारखी ठान्ने हाम्रा लोग्नेहरूले मुख बिगार्दै थिए । यता हामी स्वास्नीहरू भने कालो खतको कुराले तर्सिएर खाना सर्भ गर्न टलक्क पारेर राखेका प्लेटहरूमा आफ्ना प्रतिबिम्ब हेर्दै थियौं । लोग्नेको खुलासा सुनेर सलाद थपिदिन गएकी विचरी हरिलो मुख लगाउँदै किचेनमा आइपुगिन् ।

‘अनि त्यो थाईकट कपालवाली थिई नि ! यार, तेरो निकै समयसम्म चल्यो नि...त्यसको के छ खबर ?’ अर्कोले सलादको टुक्रा मुखमा हाल्दै मेरो लोग्नेलाई सोध्न हिच्किचाएन ।

‘अरे यार ! तँ पनि ।’ थाईकटवाली भनेको सुन्नासाथ मेरो लोग्ने लल्याकलुलुक हुँदै बोल्यो– ‘त्यसले त अस्ट्रेलिया बस्ने केटासँग मेरोभन्दा एक वर्ष पहिल्यै बिहा गरेकी नि ! केही महिनाअगाडि फेसबुकमा देखेर फ्रेन्ड रिक्वेस्ट र मेसेन्जरमा मेसेज पनि पठाएँ तर दुवैको रेस्पोन्स आएको छैन । सम्झना त बेलाबेला आइरहन्छ । एकपटक बोल्ने धोको छ यार ।’

मेरो लोग्नेको कुरोको चुरो प्वाट्ट फुटेरै छोड्यो ।

दिनभरि नै ड्रिङ्क्सको सितनजस्तो बनाएर कलेज पढ्दाका केटीसाथीहरूलाई गफको प्रसंगमा प्रयोग गरेको सुनेरै मलाई दिक्क लागिसकेको थियो । त्यसमाथि मेरो लोग्नेको मुखबाट भूतपूर्व प्रेमिकासँग एकपटक बोल्न मन छ भनेको सुनेपछि मेरो आफ्नै आत्मसम्मानकोे धरहरा गर्लम्मै ढल्यो ।

जेहोस्, आजको पार्टीले मलाई एक निष्ठावान् श्रीमतीबाट प्रतिद्वन्द्वीमा परिणत गर्दै रातको बाह्र बजे बिट मा¥यो ।

०००

सबै पाहुना आ–आफूले बुक गरेका होटेलतिर लागे । रात छिप्पिएकाले छोराछोरी आ–आफ्ना कोठामा सुतिसकेका थिए । पाहुना बिदा भएपछि लोग्ने पनि सुत्न कोठातिर लाग्यो । मेरा भने काम सकिएकै थिएनन् । किचेनदेखि बैठक र केटाकेटीहरू खेल्ने हलसम्मको सबै भाग, हटारुहरू फर्किएपछिको हाटझैं भएका थिए । मैले आफू सुत्नुभन्दा पहिले सबै स्थानलाई यथास्थितिमा फर्काउनु थियो ।

मनमा आफ्नै लोग्नेको भूतपूर्व प्रेमिकाको कुराले अन्र्तद्वन्द्व चलिरहेको थियो । मेरो आत्मसम्मानको वस्त्रहरण गरेर ऊ भने कलियुगको दुष्शासन भएर मस्त निदाइसकेको थियो । मैले द्रौपदीले झैं बदला लिने किरिया हालिसकेकी थिइनँ । किनकि यतिबेला मेरो समर्थनमा उभिइदिने पाँच पाण्डवहरू थिएनन् । भीष्मपितामह पनि थिएनन् ।

मैले लामो श्वास तानेँ अनि मेरो लोग्नेले बोलेको कुरालाई मेरो मन र मष्तिस्कबाट हटाउने प्रयत्न गरेँ । त्यसपछि थकित शरीर पहलमानलेझैं तन्काउँदै पहिले डाइनिङ टेबलको थान्कोमुन्को सकेँ । त्यसपछि बाँकी भएका खानेकुरा फ्रिजभित्र ठेलठाल गरेर अटाएँ । ओभन सफा गरेँ । डाइनिङ हल र किचेनमा हुभर लगाएँ । सोफामा लेदर स्प्रे गरेर टलक्क पारेँ अनि अन्त्यमा भाँडा माझ्ने मेसिनमा अँटाएसम्मका जुठा भाँडा हालेर मेसिन अन गरिदिएँ ।

मैले भूतपूर्व प्रेमिकाको रेस्पोन्स पर्खिरहेको मेरो लोग्नेको छारस्ट स्याहारेर सक्दा रातको झन्डै दुई बजिसकेको थियो । के पो भनुँ खै ? उहिले मेरी हजुरआमाको पारामा भनुँ भने भूतले खाजा खाने समयभरि म घरघन्दा गरिरहेकी थिएँ । मेरै पारामा भनुँ त हजुरआमाको भन्दा कैयौं गुणा परिष्कृत समयकी आधुनिक आइमाई म, सायद अब भूतका कुरामा विश्वास नगर्ने भइसकेकी थिएँ ।

उसो त जसो मान्यो, त्यसै ठीक ! आजभन्दा बीस वर्षअगाडि भूतको भयले बेलुकीको आठ नबज्दै घरभित्रकै ट्वाइलेटमा पिसाब फेर्न जान पनि डराउने एउटी डरपोक केटीले यतिबेला मध्यरातभर घरधन्दामै बिताउन पनि तम्तयार थिएँ । यो त मननयोग्य रुपान्तरण थियो । प्रशंसायोग्य बहादुरी थियो ।

आफ्नै बहादुरीलाई धाप मार्दै भित्तामा टिक्टिक् गरिरहेको घडी हेरेँ । छिप्पिएको कालो रातलाई पछाडि धकेलेर घडीको सुई कलिलो बिहानतिर ढल्किँदै थियो । यो निःतान्त शान्त समयमा अब मलाई बिथोल्ने कोही थिएन । दिउँसोदेखि मध्यरातसम्मको पार्टीको साङ्लोले बाँधिएकी म, यतिबेला बल्ल स्वतन्त्र भएकी थिएँ । त्यही स्वतन्त्रताको भावले उद्वेलित मनसँग आँखाले पनि थपक्क मितेरी जोड्यो । अझ भोलिपल्ट आइतबारको छुट्टी सम्झिएपछि मलाई निद्रा लाग्ने कुरै भएन ।

‘जीवन हिजोलाई सम्झिँदै र भोलिलाई कल्पिँदै होइन, जीवन त निःतान्त वर्तमानमा बाँच्ने हो !’ चकमन्न रातमा आध्यात्मिक अभिव्यक्तिको पुनरावृत्ति आफ्नै अन्तरहृदयमा भएपछि लोग्नेकी भूतपूर्व प्रेमिकाको प्रसंग अहिलेलाई थाती राख्दै मैले बाँकी समयलाई साथ दिने ग्रिन टी बनाएँ ।

किचेनबाट ग्रिन टीले भरिएको रातो कप बोकेर म डाइनिङ हलमा पस्दा हिजो टेबलमा बालेको मैनबत्ती इमानदार भएर बलिरहेको थियो । आफू जलेर अरूलाई उज्यालो दिने त्यस मैनबत्तीलाई जिम्मेवारी निभाउनमा मैंजस्तो इमानदार देखेँ । दिनभर बलेर निकै तातेको मैनबत्तीलाई अर्को हातले उठाएर बैठक हलतिर मोडिएँ र त्यसलाई सोफा छेउको साइड टेबलमा राखेँ अनि आफू छेवैको रकिङ चेयरमा बसेँ ।

चकमन्न रातमा मधुरो उज्यालोभित्र आँखा चिम्लिएर निःतान्त शून्यतामा हराउँदा आफैंले फेर्ने श्वासले पनि अत्याउने रहेछ । मलाई यसबेला मेरो श्वासबाहेक चलायमान अर्को केही अस्तित्वमा छैन भन्ने लाग्यो । क्षणभरको मेरो भ्रमलाई लोप्पा ख्वाउँदै भित्तै छेडेर कसैले प्रश्न गरेको सुनें– ‘भूतपूर्व प्रेमिकाको रेस्पोन्स पर्खिरहेको लोग्नेको बिस्तराको साथदेखि घरको सफाइ, किनमेल, पाहुना–पाछा, अभाव, अफ्ठ्यारा सबै धानेर के पाउने विचार छ तेरो ?”

जवाफ दिनुपर्ला भन्ने डरले मेरा हातखुट्टा चिसा भएँ । तर्सिएका दुई आँखा वरिपरि घुमाएँ । सामुन्ने अस्तित्वमा कोही देखिएन । सायद आफैंभित्रको असन्तुष्टि बोलिरहेको थियो, जसलाई मैले सुन्न मात्र सकेँ तर देख्न सकिनँ । म ढुक्क परेर निदाउने कोसिसमा लागेँ ।

‘केही मिठो बात गर...!’ रकिङ चेयरमा म हल्लिँदै गर्दा एकाएक उहिल्यै जमानामा बज्ने गीत झट्ट सम्झना भयो ।

यही गीत सुनेर तरुनी भएकी म । यो गीत रेडियोमा नबजेको दिनै हुन्नथ्यो । स्मरणले नोस्टाल्जिक बनायो । मन चसक्क दुःखेजस्तै भयो ।

‘मीठा बातहरू त गीतमा मीठो सुनिने साहित्यिक बिम्ब पो रहेछन् त नारायण गोपालज्यू ! त्यो निर्दोष समयलाई तपाईंले एउटा कालजयी गीत छाडेर जानुभयो तर त्यस्तो सुन्दर समयको पुनरावृत्ति अब कहिल्यै हुने छैन । आजकल त बात गर्ने मान्छे र बातहरूले प्रवृत्ति परिवर्तन गरिरहन्छन् ।’

मेरो मनोवादको विषयान्तर रातसँगै निरन्तर थियो । मन अशान्त भएपछि यस्तै हुँदोरहेछ । सहन नसकिने कुरालाई सहन गरेको जस्तो गर्न असाध्यै गाह्रो ! त्यसैले होला मेरो दिमाग मधुरो उज्यालोमा आँखाहरूलाई कोठाका अनेकौं वस्तुहरूमा डुलाएर भए पनि दिउँसो लोग्नेको मुखबाट निस्किएका कुराहरूलाई बिर्सने प्रयत्न गरिरहेको थियो ।

मैले आफ्नो मनस्थितिलाई स्थिर बनाउन आइफोनमा युट्युब खोलेँ । ‘सुन साइँली...चालीस कटेसी रमाउँला...’ पहिल्यै यही गीत डिस्प्ले भएकाले त्यसैलाई ट्युन गरेँ । गीत सुन्दासुन्दै मेरो मन फेरि लोग्नेले बोल्न पर्खिरहेकी उसकी भूतपूर्व प्रेमिकामा हामफाल्यो । म चिढ्चिढिँएँ । पछुताएँ । यत्तिका वर्ष लोग्नेको दुःख–सुखमा इमानदार भएर साथ दिएकामा आफैंलाई धिक्कारेँ ।

मलाई आत्मग्लानि भयो । ग्लानिको आगोले हृदयभित्र बनेको लोग्नेप्रतिको सम्मानको मन्दिरमा आगो लाग्योे । आँखाका नानीबाट ओरालो झरेका आँशुका थोपाले त्यो आगो निभाउन सकेन र मन्दिर डढेर खरानी भयो ।

खरानीको हलुकोपनसँगै आँखा भने पढ्दै गरेको नेल्सन मन्डेलाको ‘लङ वाक टु फ्रिडम’ भन्ने किताबमाथि पुगेर अडिए । मनले आदेश गरेपछि कुर्सीबाट उठी बुककेसबाट किताब हातमा लिँदै बुक मार्क पल्टाएँ । शीर्षक पल्टियो– ‘रोबन आइल्यान्ड ः द डार्क इयर्स’ !

मैले मेरो ‘डार्क नाइट’ मै ‘डार्क इयर्स’का कुरा पल्टाउनु एक संयोग मात्र थियो । कानमा चालीस कटेसी गीत बजिरहेकै थियो । यद्यपि किताबको शीर्षक र गीतको मुखडासँग तालमेल पटक्कै भइराखेको थिएन । यता चालीस कटेपछि मन्डेला जीवनकै लामो र कठोर जेल जीवनको सुरुवातमा थिए भने उता चालीस नपुगेको तन्नेरी चालीस कटेसी रमाउनेमा आशावादी भएर गीत गाइरहेको थियो ।

‘के चालीस कटे’सी रमाउन पाइएला त ?’ म किताबका अक्षर र कानमा बजेको गीतबीचको बेमेलभित्र नराम्ररी अल्झिरहेकी थिएँ ।

‘के आत्मसम्मान र न्यायिक समानता चाहनेले कठोर बाटो हिँड्नैपर्छ ?’ अल्झनलाई नकार्दै मेरो मनमा उम्रिएको विरोधाभाष मलाई नै प्रश्न गर्दै थियो ।

प्रश्नसँग म अत्यन्तै झस्किएँ ।

वास्तवमा एउटै सामाजिक उद्देश्य बोकेको सम्बन्धभित्र बाँधिएका दुई मान्छेले बाँच्ने आधारहरू कति फरक ? म समाजले निर्माण गरेको सदियौं पुराना एकात्मक नियमहरूका काँडेतारको पर्खालभित्र कैदी भएर बाँचिरहेकी थिएँ । मेरो लोग्ने भने त्यही पर्खालबाहिर बसेर जीवनलाई उत्सवमय बनाइरहेको थियो । म उसको उत्सवलाई काँडेतारका छिद्रहरूबाट चिहाउन बाध्य थिएँ । वास्तवमा सामाजिक स्वतन्त्रतामा समानता खोज्दै लामो यात्रामा निस्किएका ‘मन्डेला भर्जन’ थिएँ म । मेरो रिहाइ र मलाई दिइने भावी स्वतन्त्रताको कुनै निश्चितता थिएन ।

‘एउटा पार्टी मेरा लागि पनि...!’

निकै लामो मनोवादपछि मभित्रको आधुनिक द्रौपदीले उपाय सुझाइदिइन् । त्यसपछि एउटा वाचा आफैंसँग गर्दै बलिरहेको मैनबत्ती हेर्दाहेर्दै निदाएँ ।

०००

क्यालिफोर्नियाको ‘सान्टा रोसा’ सहरको आफ्नै अपार्टमेन्ट अनि यहाँको यो दोस्रो डिनर पार्टी ! मिति र मौसमबाहेक पहिलो पार्टीभन्दा फरक अरू केही थिएन । उही पाहुना । उही किचेन, उही बैठक र डाइनिङ हल । फरक केबल आजको पार्टीको सुरुवात र अन्त्यको उद्देश्य थियो ।

बाहिरबाट आएको खानाले डाइनिङ टेबल भरिएको थियो । चुल्होसम्म नबलेको किचेन सौता पस्न बाहिरबाट आएको खानाको बासनाले मगमगाइरहेको थियो । क्याटरिङको बिल मैले तिरिसकेकी थिएँ ।

क्याटरिङलाई बुझाएको एकमुष्ट रकम थाहा पाएर मेरो लोग्नेको अनुहारमा दिउँसैदेखि कालो बादल छाएको थियो । आफैं पकाउँदा हुनेमा त्यत्रो पैसा क्याटरिङलाई तिर्नुको औचित्य बुझ्न सकिरहेको थिएन ऊ । हुन पनि यत्तिका वर्ष म आफैं घोटिएर अनेकौं परिकार तयार गरी डाइनिङमा सजाउने गरिरहेकै थिएँ । मेरो शारीरिक श्रमको मूल्य उसले क्याल्कुलेसन कहिल्यै गरेकै थिएन ।

‘मेरो श्रमको मूल्य एकपटक सोधेर त हेर !’

मेरा हत्केलाका रित्ता बंैक खाताहरूले चर्को स्वर गर्दै गर्दा मेरो लोग्ने र उसका साथीहरू चियर्स गर्दै थिए । उनीहरूकै बराबरीमा उभिएर हामी स्वास्नीहरूले पनि ‘पिंक जिन’ को कक्टेलले भरिएका ग्लासहरू उचाल्यौं ।

हाम्रो चियर्सको आवाजले हाम्रा लोग्नेहरूका हृदयमा खुसीको तार बजाएन भन्ने कुरा तिनका आँखामा तैरिरहेको ‘अधीनस्त’ शब्दले नबोलिकनै बताइरहेको थियो ।

‘अहो, त्यो पहिलो पार्टीको हाम्रो फोटोहरू त कलेज पढ्दाका धेरै साथीले फेसबुक पोस्टमा हेरेछन् ।’ मैले आफ्नो लोग्नेतिर आँखा फर्काउँदै स्क्रिप्टअनुसार बोल्न सुरु गरेँ– ‘सुन न केटी हो, एउटा मान्छे थियो क्या ! उहिल्यै मलाई बिहा गर्ने प्रस्ताव लिएर आउने, हो त्यसले फ्रेन्ड रिक्वेस्ट पठाएर मिल्छ भने एकपटक बोल्ने कि ? भनेर मेसेन्जरमा मेसेजसम्म गरेको छ ।’

म बोलेको सुनेर सबै लोग्नेहरूका तिखा आँखाहरू हामी स्वास्नीहरूतिर फर्किए । त्यसको बेवास्ता गर्दै अर्कीले थपिन्– एकपटक बोल्दिए भैगो नि त ! विचराको यो जुनी सफल भैजाला कि ।’

हामी सबै उनका कुरामा गलल हाँस्यौं ।

उनीहरूकै बराबरीमा उभिएर हामी स्वास्नीहरूले पनि ‘पिंक जिन’ को कक्टेलले भरिएका ग्लासहरू उचाल्यौं । म बोलेको सुनेर सबै लोग्नेहरूका तिखा आँखाहरू हामी स्वास्नीहरूतिर फर्किए । किचेनको सिङ्कतिरबाट झर्लम्म ग्लास फुटेको आवाज आयो । त्यसपछि केही भन्नै बाँकी रहेन...।

‘के गर्नु ? जीवन आफूले कोरेको पेन्सिल चित्रजस्तो आफूलाई चित्त नबुझेसम्म कोरेकोलाई मेट्दै फेरि कोर्दै गर्न नमिल्ने रहेछ ।’ बोल्दाबोल्दै स्वर बढाउँदै अर्कीले भनिन्– ‘यो परदेशमा अर्काको काम गरेर बल्लतल्ल जम्मा गरेको रकमले सानो गहना किन्न पनि दशपटक सोच्नुपर्छ । बरु त्यहीँ शर्मा बाजेको छोरासँग बिहा गरेको भए आज करोडौंको सम्पत्तिमा ढलिमली गर्न पाइने रहेछ ।’

उनको कुरामा पूर्णविराम मात्र के लागेको थियो, किचेनको सिङ्कतिरबाट झर्लम्म ग्लास फुटेको आवाज आयो । त्यसपछि केही भन्नै बाँकी रहेन...।

‘दुनियाँ पाहुनाका अगाडि एउटा अपरिचित लोग्ने मान्छेले एकपटक बोल्न पाए हुन्थ्यो भनेर मेसेन्जरमा मेसेज गरेको छ भनेर भन्न लाज शरम नै छैन यार !’ मेरो लोग्ने बोल्यो ।

‘के बोल्ने, के नबोल्ने, थाहा नभएका आइमाईहरू !’ अर्को बोल्यो ।

‘यिनीहरूले त हामीलाई दुनियाँको सामु नांगै बनाइदिने रहेछन् यार !’ अर्कोले थप्यो ।

‘लोग्ने मान्छेले बोल्नु र आइमाईले बोल्नुमा फरक हुन्छ ?’ अर्कोले भन्यो

‘आइमाईहरूलाई अलिकति स्पेस दियो कि मात्तेर टाउकैमा पुग्छन् र बोल्ने नबोल्ने सबथोक बक्न थालिहाल्छन् ।’ अर्कोले बतायो ।

हामीले आज बोलेका कुराहरू त आखिर अघिल्लो पार्टीमा उनीहरूले बोलेका कुराकै प्रतिलिपि मात्र थिए । दुर्भाग्य ! विश्व देखेका, पढेलेखेका अनि अहिलेको जवान पुस्ताको प्रतिनिधित्व गर्ने हाम्रा लोग्नेहरूको मानसिकताभित्र त्यो कुरा घुस्दै घुसेन । विषयवस्तु मनन गरी हाम्रो आत्मसम्मानको विश्लेषण गर्नलाई तिनको मस्तिष्कको आयतन फराकिलो हुन सकेन ।

‘स्त्री र पुरुषको समागमले सृष्टि भएको यो ब्रह्माण्डले नारी र पुरुष दुवैलाई मर्यादाको सीमाभित्र बस्न बराबरी निर्देश गरेको छ । तिमीहरू नदेख्ने, नसुन्ने, बोल्न नसक्ने र व्यभिचारी हुनुमा पुरुषार्थ ठान्छौ भने हाम्रा आवाजहरू तिम्रो समर्थनमा कदापि उठ्ने छैनन् ।’

यही आवाजको अनुकम्पनले बैठक हल गुञ्जाउँदै दोस्रो पार्टीले बिट मार्यो ।

हाल : लन्डन

यी सामग्रीहरू पनि पढ्नुहोस् !

कविता- ‘उडान’

पढेर कहाँ सकिन्छ ‘सत्यमोहन’ !

थोरङला पासको उचाइमा

सायरको सहर

कथा : लोग्नेमान्छेका कुरा