साहित्य, भाषा र संस्कृतिका साधक डा. राजेन्द्र विमल रहेनन्

नेपाली-मैथिली साहित्यमा अपूरणीय क्षति
श्रावण २६, २०८३ |अनिल मिश्र
साहित्य, भाषा र संस्कृतिका साधक डा. राजेन्द्र विमल रहेनन्

धनुषा । वरिष्ठ साहित्यकार, भाषाविद् तथा प्राध्यापक डा. राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ। 

मंगलबार बिहान जनकपुरधामस्थित अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो। परिवारका अनुसार सोमबार राति करिब साढे ११ बजे अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहाँको निधनसँगै नेपाली तथा मैथिली साहित्य, भाषा आन्दोलन र मिथिलाको सामाजिक–सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकार तथा संस्कृतिकर्मीहरूले बताएका छन्। मंगलबार नै जनकपुरधामस्थित स्वर्गद्वारीमा उहाँको अन्त्येष्टि गरिएको छ।

डा.राजेन्द्र विमल केवल साहित्यकार मात्र हुनुहुन्थेन; उहाँ मिथिलाको सामाजिक, सांस्कृतिक र राजनीतिक जीवनलाई नेपाली साहित्यको आख्यानमा स्थापित गर्ने सशक्त स्रष्टा हुनुहुन्थ्यो। जनकपुरधाम र मिथिलाको जनजीवन, संस्कृति, पीडा, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई उहाँले आफ्ना सिर्जनामा मौलिक ढंगले प्रस्तुत गर्नुभयो। 

मधेशको जीवनलाई राष्ट्रिय साहित्यको मूलधारसम्म पुर्‍याउन उहाँले खेलेको भूमिका नेपाली आख्यानमा विशेष महत्त्व राख्छ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा कलम चलाउनुभएका विमलका रचनामा राष्ट्रप्रेम, मैथिल अस्मिता, मातृभाषाप्रतिको निष्ठा, लोकजीवनका पीडा, प्रेम, वियोग, आक्रोश र विद्रोहका स्वर सशक्त रूपमा अभिव्यक्त भएका छन्।

मधेश आन्दोलनका क्रममा पनि उहाँले राष्ट्रिय एकता, सामाजिक सद्भाव र समावेशी नेपाली समाजको पक्षमा आफ्नो स्पष्ट धारणा राख्नुभएको थियो। मधेशमा बसेर सम्पूर्ण नेपालीको साझा भावनाको वकालत गर्ने उहाँको भूमिकालाई धेरैले अहिले पनि स्मरण गर्छन्। 

यही कारण उहाँ साहित्यकारका रूपमा मात्र नभइ सामाजिक सद्भावका अभियन्ताका रूपमा पनि परिचित हुनुहुन्थ्यो। सन् १९४७ जुलाई २६ मा धनुषाको देवडिहा गाउँस्थित खिरखिरियामा जन्मिनुभएका विमलले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर गर्नुभएको थियो भने भाषाविज्ञानमा विद्यावारिधि (पीएचडी) गर्नुभएको थियो।

उहाँको साहित्यिक यात्रा निकै प्रारम्भिक उमेरदेखि नै अघि बढेको थियो। उहाँको पहिलो कथा ‘विपतिया’ १५ मार्च १९६३ मा मिथिला मिहिर पत्रिकामा प्रकाशित भएको थियो। त्यसयता उहाँले झन्डै छ दशक नेपाली तथा मैथिली साहित्यको विकासमा सक्रिय भूमिका निर्वाह गर्नुभयो।

‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’ र ‘डा. विमलका कथाहरू’ उहाँका चर्चित कथासंग्रह हुन्। त्यस्तै ‘सरबरिआ गाउँको कथा’, ‘फिस्टी रानी’ र ‘समयका आँखा’ लगायतका कृतिमार्फत उहाँले नेपाली तथा मैथिली साहित्यमा आफ्नो विशिष्ट पहिचान बनाउनुभयो। 

उहाँका कथामा मिथिलाको माटो, त्यहाँको लोकजीवन र पात्रहरूको संघर्ष बोल्छ। स्थानीय जीवनका सामान्य देखिने घटनालाई पनि व्यापक सामाजिक अर्थ दिने उहाँको लेखनशैली उहाँको साहित्यिक विशेषता मानिन्छ। उहाँको कथामा आधारित मैथिली टेलिफिल्म ‘हंसा चलल परदेश’ नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो। 

यसले मैथिली साहित्यलाई दृश्य–श्रव्य माध्यममार्फत व्यापक पाठक तथा दर्शकमाझ पुर्‍याउन उल्लेखनीय योगदान गरेको थियो। उहाँका साहित्यिक कृतिहरू शैक्षिक पाठ्यक्रममा समेत समेटिएका छन्। उहाँका ‘बन्धनबाट मुक्ति’ र ‘लंका दहन’ जस्ता कथा विद्यालय तथा उच्च शिक्षाको नेपाली पाठ्यक्रममा समावेश भएका छन्। 

नवनीत नेपाल परिचय पनि उहाँको महत्वपूर्ण कृतिमध्ये पर्छ। साहित्यसँगै मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उहाँको योगदान उत्तिकै महत्वपूर्ण छ। मैथिली विकास कोष, जनकपुरधामका संस्थापक अध्यक्षका रूपमा उहाँले मैथिली भाषाको संस्थागत विकास र सांस्कृतिक पहिचानको संरक्षणका लागि उल्लेखनीय काम गर्नुभयो।

मिथिलाको भाषा, संस्कृति र परम्परालाई केवल स्थानीय पहिचानका रूपमा सीमित नराखी राष्ट्रिय विमर्शको हिस्सा बनाउन उहाँले निरन्तर आवाज उठाउनुभयो। मातृभाषाप्रतिको उहाँको निष्ठा र मिथिला संस्कृतिप्रतिको गहिरो लगाव उहाँको साहित्य र सार्वजनिक जीवन दुवैमा देखिन्छ।

जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको नेपाली विभागमा उहाँले लामो समय अध्यापन गर्नुभयो। करिब चार दशकको प्राध्यापन यात्रापछि केही वर्षअघि मात्र उहाँ अवकाश लिनुभएको थियो। कक्षाकोठामा विद्यार्थीलाई साहित्य पढाउनेदेखि समाजमा भाषा, साहित्य र संस्कृतिका विषयमा बहस सिर्जना गर्नेसम्म उहाँको सक्रियता रह्यो। 

शिक्षक, साहित्यकार र भाषाविद्का रूपमा उहाँले धेरै पुस्ताका विद्यार्थी तथा स्रष्टालाई प्रभावित पार्नुभयो। साहित्य तथा भाषाका क्षेत्रमा पुर्‍याएको योगदानका लागि डा. विमल विभिन्न राष्ट्रिय सम्मान तथा पुरस्कारबाट विभूषित हुनुभएको थियो। विद्यापति पुरस्कार कोषद्वारा स्थापित ‘नेपाल विद्यापति भाषा, साहित्य पुरस्कार’ उहाँले पहिलोपटक प्राप्त गर्नुभएको थियो। 

त्यसैगरी उहाँले गरिमा सम्मान, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, सिद्धि श्री पुरस्कार, मधुपर्क सम्मान लगायतका सम्मान प्राप्त गर्नुभएको थियो। जीवनको उत्तरार्धमा पनि उहाँ साहित्य, भाषा र समाजका विषयमा निरन्तर सक्रिय रहनुभयो। लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित उहाँको अचानक स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा निधन भएको हो। उहाँका एक छोरी र दुई छोरा छन्।

राजेन्द्र विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यले एउटा लामो, सक्रिय र बहुआयामिक साहित्यिक यात्राको अन्त्य भएको छ। उहाँले छाडेर गएको साहित्यिक कृति, भाषिक चेतना र सामाजिक सद्भावको सन्देश भने नेपाली समाजमा लामो समयसम्म जीवित रहनेछ। 

मिथिलाको माटो, भाषा र समाजलाई साहित्यमा आवाज दिने एउटा सशक्त कलम अब रोकिएको छ। तर, उहाँले सिर्जनामा छोडेको आवाज र विचार नेपाली तथा मैथिली साहित्यमा निरन्तर सुनिइरहनेछ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।