
विराटनगर । मोरङको धनपालथान गाउँपालिका २ खैरवनास्थित आनन्द आधारभूत विद्यालयका विद्यार्थीहरु भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण आधारभूत शैक्षिक सुविधा पाउनबाटै वञ्चित भएका छन्।
कोशी प्रदेश राजधानी विराटनगरबाट करिब २० किलोमिटर मात्रै दूरीमा रहेको यो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठनका लागि भौतिक पूर्वाधारदेखि खानेपानी र शौचालयसम्मका पूर्वाधारको अभाव छ। यहाँ ईसीडी कक्षादेखि कक्षा पाँचसम्म पढाइ हुने भए पनि पर्याप्त कक्षाकोठा र शिक्षकको अभावमा एउटै साँघुरो कोठामा पनि दुईदेखि तीनवटा कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने अवस्था छ भने खानेपानी तथा सरसफाइका लागि पानी छैन।
जसकारण शौचालयमै फोहोर जमेपछि विद्यार्थीले विद्यालय परिसरमै खुला स्थानमा शौच गर्नुपर्ने वाध्यता छ। जसले गर्दा फैलिएको दुर्घन्धले विद्यार्थीको स्वास्थमा असर गरेको छ भने पठनपाठन समेत प्रभावित भइरहेको छ । विद्यालयमा रहेका चारवटा कोठामध्ये दुईवटामा नियमित रुपमा पठनपाठन हुने गरेको छ ।
तर, शिक्षकको कमी र भौतिक संरचना अभावले सबै कक्षाका विद्यार्थीलाई एउटै कक्षा कोठा राखेर अध्यापन गराउनुपरेको शिक्षकहरु बताउँछन्। त्यसमै पनि सामान्य वर्षा हुनासाथ पानि कक्षा कोठाभित्रै पसेर जम्ने गरेको छ। त्यस्तै, विद्यालयका लागि आवश्यक कार्यालय सहयोगीको समेत अभावले विद्यार्थीहरुले खाजा खाँदा प्रयोग गरेका भाँडावर्तन पनि आफैं माझ्नुपर्ने बाध्यता छ।
विद्यालयको अस्तव्यस्त अवस्थाले विद्यार्थीहरुको दैनिक सिकाइ उपलब्धीदेखि व्यवस्थापनसम्म गम्भीर समस्या परेकोले सम्बन्धित निकायसँग शिक्षक कर्मचारी भौतिक पूर्वाधार, शौचालय तथा खानेपानीको प्रबन्ध गर्न पटकपटक माग गरिए पनि सुनुवाइ नभएको विद्यालयको गुनासो छ।
ईसीडी कक्षादेखि कक्षा पाँचसम्म ७० जना विद्यार्थी भर्ना भएको यस विद्यालयमा दैनिक सरदर ४५-५० जना नियमित उपस्थित हुने गरेका छन् भने पहिले ६ जना शिक्षक शिक्षिका रहे पनि अहिले विद्यालयमा दुईजना राहत र एक जना बालविकास गरी प्रधानाध्यापकसहित तीन जना मात्रै छन्।
दुई जनामात्रै स्थायी दरबन्दी रहेको विद्यालयमा थप दुई जना शिक्षक कर्मचारीको व्यवस्था गर्न सके दैनिक क्रियाकलाप र पठनपाठनमा सहजता मिल्ने विद्यालयको भनाइ छ।