कवि दिनेश अधिकारीसहित तीन स्रष्टालाई लालबन्दी नगर वाङ्मय परिषद्‌को सम्मान

श्रावण ५, २०८३ |कान्तिपुर टीभी संवाददाता
कवि दिनेश अधिकारीसहित तीन स्रष्टालाई लालबन्दी नगर वाङ्मय परिषद्‌को सम्मान

काठमाडौँ । लालबन्दी नगर वाङ्मय परिषद्ले विभिन्न तीन विधामा पुरस्कार प्रदान गरेको छ । कविता तथा गीतमार्फत साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत कवि तथा गीतकार दिनेश अधिकारीलाई ‘कृष्णलाल अधिकारी स्मृति पुरस्कार’, कथा संग्रह एउटा मायावी नगरमाका लागि कवि तथा कथाकार रमेश क्षितिजलाई ‘भाषा–साहित्य पुरस्कार’ र स्थानीय तहमा साहित्य तथा पत्रकारिताका क्षेत्रमा योगदान पुर्‍याएबापत कृष्ण समर्पणलाई ‘स्थानीय प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ ।

लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीले पुरस्कृत व्यक्तित्वहरूलाई आइतबार पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख अधिकारी, पुरस्कृत कवि दिनेश अधिकारी तथा लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले साहित्य, भाषा र सिर्जनशीलताको प्रवर्द्धनमा यस्ता पुरस्कारले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कृष्णलाल अधिकारी स्मृति पुरस्कार र भाषा–साहित्य पुरस्कारको राशि जनही रु ५० हजार तथा स्थानीय प्रतिभा पुरस्कारको राशि रु २५ हजार रहेको परिषद्ले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.