
काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ ।
कवि श्रेष्ठको बुढानीलकण्ठस्थित घरमै निधन भएको हो । दुर्गालाल यस्ता कवि हुनुहुन्छ, जसले गएको साढे सात दशकदेखि निरन्तर लेखिरहनु भयो । दुर्गालालको काव्य प्रवाह नेपालभाषाको आधुनिक काव्य प्रवाहको अविछिन्न इतिहास हो ।
उहाँले नेपालभाषामा लेखेका विशेष महत्त्वका कविताहरूलाई नेपाली भाषामा पनि पढ्न पाइन्छन् । मंगलबार काठमाडौंको विजेश्वरी घाटमा उहाँको अन्त्येष्टि गरिने तयारी छ ।
प्रस्तुत छ जनकवि श्रेष्ठबारेको यो श्रद्धा आलेख ।
विम्बमा खोजे विम्बमै, करुणामा खोजे करुणामै, अनि दर्शनमा खोजे दर्शनमै- कवि दुर्गालाल श्रेष्ठलाई जताततै भेटिन्छ । नभेटिने अब भौतिक देहमा मात्र हो ।
फूलको आँखाबाट हेरे संसार फूलझैँ कोमल मात्र देखिन्छ, श्रेष्ठले पुस्तौँ पुस्ताका लागि छाडेर गएको दिव्योपदेश नै हो । तर, उहाँ ‘फूलको आँखा’मा मात्र सीमित हुनुहुन्न । ‘फूलको आँखामा’ उहाँको काव्य–सागरको एक थोपा मात्रै हो ।
उहाँको व्यक्तित्व र कृतित्व त्योभन्दा निकै व्यापक छ । पछिल्लो साढे सात दशकको समयलाई उहाँका कविता र गीतहरूले सुशोभित गरे । समाजलाई एकीकृत गर्नेदेखि मनलाई एकाग्र बनाए । यिनै योगदानका कारण नेपाल भाषा परिषद्ले दुई दशकअगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मान गर्यो ।
नेपाल भाषामा उहाँका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् । आफ्नो मातृभाषासँगै नेपाली भाषाको उन्नयन गराएका श्रेष्ठलाई प्रतिष्ठित ‘जगदम्बा-श्री २०६७’ पुरस्कारबाट पनि सम्मान गरिएको थियो । दुर्गालाल श्रेष्ठ मूलतः नेपाल भाषाका कवि–लेखक हुनुहुन्छ । तर, उहाँका रचना सर्वत्र लोकप्रिय छन् ।
खासगरी कालजयी गीत ‘फूलको आँखामा फूलै संसार’ले त उहाँको परिचयलाई नेपाल सरहदभन्दा पनि पर परसम्म फैलाएको छ । काठमाडौँको मध्यसहरका रैथाने भए पनि श्रेष्ठको बाल्यकाल गरिबीमै गुज्रियो । तर, त्यही अवस्थामै चुलिँदै गएको प्रतिभाले अन्ततः राष्ट्रिय अन्तर्राष्ट्रिय उचाइ लियो ।
११ वर्षको उमेरमै नाटक लेखेर उहाँको साहित्यिक यात्रा सुरु भएको हो । उहाँको लेखन नाटकबाट काव्यको राजमार्ग हुँदै अन्ततः साहित्यको महासागरसम्म पुगेको छ । प्रेमबाट सुरु भएको उहाँको सिर्जना त्यसपछि क्रमशः क्रान्ति, आन्दोलन, दर्शन हुँदै अध्यात्मसम्म विस्तार हुँदै गएको पाइन्छ ।
पछिल्लो समय उहाँ मृत्युबोधले ओतप्रोत भएका कविताहरू लेखिरहनुभएको थियो । उहाँलाई नेपालभाषा काव्य विधामा पुरानो र नयाँ पुस्तालाई जोड्ने सेतु मानिन्छ । उहाँभन्दा अघिसम्म नेपालभाषा साहित्यमा प्रवाहित काव्य धारा दुर्गालालपछि नै नयाँ मोडमा पुगेको हो ।
लेखक आर मानन्धरको किताब ‘कवि–कविताको छवि : दुर्गालाल श्रेष्ठ’ मा कवि दुर्गालालले भन्नु भएको छ- ‘म अब यो शरीरमा हैन, त्यो किताबमा छु । लेखकले मलाई शतप्रतिशत किताबमा उतार्नुभएको छ ।’
हो, उहाँ अब शरीरमा होइन, आफ्ना सिर्जनाहरूका कारण नेपालीजनको मन मनमा हुनुहुन्छ । अलबिदा जनकवि ।