नेपालगन्ज । उमेरले ८५ काटेका अब्दुल लतिफ शौक आफ्ना गजलमा जवानीको आगो ओकल्छन् । उर्दु भाषी सायरहरूमध्येका पुराना र चर्चित अब्दुल ख्यातिप्राप्त गजलकार हुन् । नवाबहरूको सहर लखनउका सायरहरू समेत उनको स्वरमा जादु देख्छन् ।
अब्दुलको जवानी बित्यो । तर जोस उस्तै छ । मुसायरा अर्थात् गजलकारको रात्रिकालीन भेला कहाँ र कहिले हुँदै छ ? चियो–चर्चो गरिरन्छन् । नयाँ–नयाँ गजलका पुलिन्दा पोको पार्छन् । ‘लौरो टेकेरै भए पनि जान्छु,’ इदगाहरोड स्थिति घरबाट निस्कदै गरेका अब्दुल भन्छन्, ‘हरेक महिनाको अन्तिम शनिबार कुनै न कुनै ठाउँमा भेला हुन्छौं । नयाँ गजलका साथ ।’
बाहिरी संसार देख्ने आँखा कमजोर भइसकेका छन् । तर उनी घरभित्रै बसेर पनि गजलमा संसार देख्ने मात्र होइन लेख्छन् पनि । माया, प्रेम, समर्पण र त्यागका माला बुन्छन् । उनका गजलका हरेक थुंगामा देशको सुगन्ध आउँछ । मुसायरामा पस्किन्छन् । ‘त्यतिबेला वाहवाही गर्दै जुरुक्क–जुरुक्क उठेर क्या खुब् भन्नेहरूको कमी हुँदैन,’ गजल भनेपछि हुरुक्कै हुने शिक्षिका सुधा कार्कीले भनिन्, ‘भाषागत हिसाबले पनि उर्दु गजल ओजपूर्ण हुन्छन् ।’
अब्दुललाई पछुतो पनि छ । आफ्नो उमेरका सहरका गजलकारलाई मुसायरा ल्याइपुर्याउन सफल भए पनि युवालाई उर्दु भाषाको सागरमा सयर गराउने प्रयासमा भने विफल भएको उनको बुझाइ छ । त्यसैले उनी चिन्तित छन् । ‘सुरु–सुरुमा त उर्दु भाषामा बोल्न सक्ने २÷३ महिला गजलकार पनि थिए । अहिले सबै हराए,’ अब्दुलले महिला र युवा पुस्तामा उर्दु भाषाप्रतिको मोह कम हुँदै गएकाले उर्दु साहित्यिक जमघटको थलो मुसायरा खल्लो लाग्न थालेको छ ।’
मुसायराका सायरका शब्द–शब्दमा मिठास हुन्छ । जसले मन र मस्तिष्क छुन्छ । मुसायरालाई मौलिक संस्कृति तथा साहित्यको जादुमयी र अद्भूत कलाको प्रस्तुति भन्दा फरक पर्दैन । अर्का सायर मुस्तफा अहमद कुरैसीले भने, ‘अहिले समय घर्किंदै जाँदा उर्दु भाषामा गजल अर्थात् शेर लेखनमा संलग्न सायरहरूको दाह्री कपाल फुल्दै गएको छ । नयाँ र युवा जमातले मन खुम्च्याउँदा अबको भविष्य पहिले जस्तो देखिँदैन ।’
नयाँ पुस्तालाई मुसायराजस्तो मौलिक कलाको बन्धनले न बाँध्न सकेको छ । न जिब्रोमा यसको मिठास घोल्न नै । नेपाली भाषाको महते जख्म, उर्दु भाषाको मताए शौक, उर्दु र नेपाली मिश्रित लफ्जो के मोती, सिसकनेकी सजा र उर्दु भाषाकै अर्को शारिक रब्बानी मेरी निगाह मे जस्ता पाँचवटा पुस्तकका लेखक अब्दुल भन्छन्, ‘मैले उर्दु साहित्यमा जति आकर्षित गर्नसके सबैलाई संगठित गर्न सकिनँ ।’
उर्दु भाषा र साहित्यले संरक्षण नपाएकाले पनि सहरमा मुसायराबाट सायरहरू टाँढिदै गएको हो । संरक्षण, प्रवर्द्धन, प्रोेत्साहित र प्रेरित गर्ने प्रयास पनि भएनन् । अब्दुल भन्छन्, ‘भाषामा उर्दु दमदार मानिन्छ । तर यहाँ कमजोर हुँदै छ ।’
नेपालगन्जका गजकार त्यो पनि उर्दु भाषी । उनको रचनामा नेपालप्रतिको अगाध माया र राष्ट्रियता सँगै प्रेम रस भरिएको पाइन्छ । मोल्वी गुलाम वारिस र मोहम्मद फारुक आरिफले २०३० सालमा नेपालगन्जमा गुल्जार–ए–अदब र बज्मे अदब गठन गरे लगत्तै मुसायराले वामे सर्न थालेको थयो । २०३३ साल तिरबाट उर्दु साहित्यकारहरूले मुसायरालाई अझै उचाइ पुर्याए । तर कतिपयले २०१५ र २०१७ साललाई मुसायराको उदेगम वर्ष भन्दै आएका छन् । खासगरी २०१५ सालतिर फारुक अहमद आरिफ भारतको अलिगढबाट फर्केपछि नेपालगन्जमा मुसायराको स्वार्णीम युग सुरु भएको हो ।
उर्दु भाषामा संस्कृत, फारसी, अरबीलगायत थुप्रै भाषाको मिश्रण हुने भएकाले शब्दहरू निकै गहकिला ओजपूर्ण हुन्छन् । ‘गजलको जननी नै उर्दु हो,’ अब्दुल भन्छन्, ‘यसको वास्तविक स्वाद उर्दु भाषामै पाउन सकिन्छ ।’
नेपालगन्जनजिकका भारतीय सहर लखनउ मुसायराको भण्डार नै हो । त्यहाँबाट छचल्किएको गजलहरू सीमापार गर्दै नेपालगन्ज पुग्छन् । लखनउको नवानहरूको शैली र प्रभावले पनि नेपालगन्जलाई मुसायराको परिचित सहर बनाउन मद्दत पुर्याएको हो ।
मुसायराले नेपाल र भारतीय सायरहरूको सम्बन्ध बढाएको छ । नेपाली सायरहरू बहराइच, नानपारा, मुरादावाद, बालापुर, गोन्डासम्म पुगेर नेपाललाई परिचित गराउने प्रयास गर्दै आएका छन् ।
संस्कृति र सिर्जना एकताकोे सूत्र पनि हो । यसले विविधतायुक्त समाजलाई बाँध्न सहयोग गर्छ । यहाँ उर्दु साहित्यिक तरंगमा रमाउन र सर्जकलाई सुन्न चाहनेहरू धेरै छन् । तर उर्दु सायर अर्थात् सर्जकका कालजयी गजल आमने–सामने भएर सुन्न पाउने मेलो मिलाउने क्रम विस्तार घट्दै गएको छ ।
यी सामग्रीहरू पनि पढ्नुहोस् !