आमा,
तिम्रा अनिकाल र अप्ठ्याराहरूकाबीच
मैले आँखाका ढकनी खोलेँ ।
आङमा अवनिको चिसो
रगतमा तिम्रै न्यानोपन
तिम्रा आँखाको अपेक्षाको भकारी
र मेरो अनिमिष नियालाइ
कस्तो अविस्मरणीय थियो– त्यो पल !
तिम्रो तीव्र अभिलाषा–
अनवरत आनन्दीको,
सदाबहार सुदृष्टिको,
र सुखस्वप्नको
मेरै लागि थियो ।
हुर्कायौ, बढायौ, दौडन सिकायौ
आत्माको बल र आङमा पखेटा
तिम्ले नै उमारिदियौ ।
अब भन्छ्यौ–
छोराकै हातको तातोपानी पिएर
छोराकै भागको तातो गाँस लिएर
उसैको न्यानोपनमा
परान फाल्न पाए;
मलाई शान्ति मिल्थ्यो
मलाई हर्ष मिल्थ्यो ।
मलाई पनि–
पाखुरा गलेकी बुढी आमालाई
रुखो आँगनमा एक्लै छाडी
स्वप्न उडानमा रमाउने मन थिएन
बादलको भुँवरीमा हराउने मन थिएन
तर–
तिम्रा आकाङ्क्षाका चाङ
र अपूरा सपनाका लहरहरू
मेरा रहर बनिदिए
त्यसैले मलाई उड्न देऊ
तिमीले हालेका पखेटाले
ज्योति समात्न देऊ ।
आमा नरोऊ !
तिम्रो आँसु; मेरो आँसु हो,
मेरो उडान; तिम्रै उडान हो,
मेरो रहर; हामी दुवैको रहर हो
आमा, मलाई उड्न देऊ,
तिमीले दिएका आँखाले संसार देख्न देऊ !